बागलुङ समाचारदाता
बागलुङ, फागुन २७ गते । सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले पश्चिम बागलुङको बडीगाड गाउँपालिकामा निर्माण गरिएको बडीगाड आधारभूत अस्पताल उपकरण र दरबन्दीविहीन हुँदा सञ्चालनमा कठिनाइ भएको छ ।
बडीगाड गाउँपालिका–५ स्थित ग्वालीचौरको १५ रोपनी क्षेत्रफलमा १८ करोड रुपियाँको लागतमा निर्माण गरिएको हो । १५ शय्याको आधारभूत अस्पताल उपकरण र दरबन्दीविहीन हुँदा सेवा प्रवाह गर्न नसकेपछि भवनको सदुपयोग गर्न ग्वालीचौर स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको छ । सरकारले ल्याएको ‘एक पालिका एक आधारभूत अस्पताल’ नीति अन्तर्गत निर्माण गरिएको बडीगाड आधारभूत अस्पतालको भवनमा अहिले स्वास्थ्य चौकीका लागि केही कोठा मात्र प्रयोग गरिएको छ । चार वर्षमा निर्माण सकिएको भवनमा सडकको पहुँच पुगेको छ भने विद्युत्, खानेपानीसमेत जडान गरिएको छ ।
अस्पतालमा अहिले दैनिक २० देखि ३० जना बिरामीको उपचार र १७ देखि २० जनासम्मको ल्याब परीक्षण हुने गरेको छ । अस्पतालका हेल्थ असिस्टेन्ट सुशीला रेश्मीले भन्नुभयो, “ल्याब स्थापना भएपछि सामान्य सेवाका लागि बुर्तिबाङ जिल्ला अस्पताल वा पाल्पा पुग्नुपर्ने बिरामीको बाध्यता भने हटेको छ ।”
अस्पतालमा मिर्गौलाको रोगीका लागि पाँच वटा डायलासिस गराउने मेसिन भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । डायलासिस मेसिन सञ्चालनमा आउन सकेको खण्डमा पश्चिम बागलुङवासीले सेवा लिन सक्ने थिए । बडीगाडमै डायलासिस सेवा दिन सके धवलागिरि प्रादेशिक अस्पतालमा बिरामीको चाप घट्ने र सहज तरिकाले सेवा लिन सक्ने अपेक्षा गरिएको छ । धवलागिरि प्रादेशिक अस्पतालमा अहिले दैनिक ६० देखि ८० जनाले डायलासिस सेवा लिँदै आएका छन् ।
अस्पताल सञ्चालनका लागि पटक पटक सङ्घ र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय धाए पनि ठोस जवाफ नआएको बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले गुनासो गर्नुभयो । स्थानीयवासीले धानखेत मासेर अस्पतालका जग्गा दिएका थिए । करोडौँ खर्चेर भवन बनेपछि घरआँगनमै उपचार सेवा पाउने आशा साँचेका नागरिक अस्पताल सञ्चालन नआउँदा निराश बनेको स्थानीय राजीव घिमिरे बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि राज्यका निकायले बेवास्ता गर्दा स्थानीयले उपचार सेवा लिन सास्ती खेप्नुपर्ने बाध्यता रहेको घिमिरेले बताउनुभयो ।