• १९ फागुन २०८२, मङ्गलबार

‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव

blog

काठमाडौँ, फागुन १९ गते । आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममा भन्दा यस पटक काम गर्दाको अनुभव फरक रहेको बताउनुभएको छ ।

‘लालिमा’मा रोश्नी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । उहाँको पात्रको नामबाटै फिल्मको शीर्षक राखिएकाले यो उहाँको करियरकै विशेष अनुभव बनेको छ ।

शीर्ष भूमिकाको प्रस्तावलाई आफूले अवसर र चुनौती दुवै रूपमा ग्रहण गरेको रोश्नीले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा फिल्म नै आफ्नो काँधमा लिएर हिँड्न सक्छु कि सक्दिनँ भन्ने डर लागेको थियो ।” यस फिल्ममा उहाँले यौनकर्मीको भूमिका निर्वाह गर्नुभएको छ । पात्र निर्माणका लागि आफूले यौनकर्मीसँग भेटेर उनीहरूको जनजीवन बुझेको उहाँले बताउनुभयो।

अर्की नायिका उषा रजक फिल्ममा ‘आमा’को भूमिकामा देखिनुभएको छ । यो पात्रको शारीरिक विशेषता फरक क्षमताको छ । झन्डै दुई दशक लामो अभिनय यात्रामा उषाले पहिलो पटक आमाको भूमिका निर्वाह गर्ने निर्णय लिनुभएको हो । प्रायः ‘बोल्ड’ भूमिकामा देखिने उषा भन्नुहुन्छ, “सामाजिक सञ्जालमा दर्शकले उमेरअनुसारको भूमिका गर्न सुझाव दिनुभएको थियो, त्यसैलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।”

फिल्ममा यी दुई नायिकासँगै नायक जीवन भट्टराई मुख्य भूमिकामा हुनुहुन्छ । साथै सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको पनि अभिनय रहेको छ । रोशन मिराजको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर  युट्युबको ट्रेन्डिङमा रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले यो फिल्मको वितरण गर्दै छ ।