जेनेभा, फागुन २० गते । बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।
गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको सामुहिक अन्त्येष्टि सम्पन्न गरेको छ । संयुक्त राष्ट्रसंघीय समितिका स्वतन्त्र विज्ञलाई पक्ष राष्ट्रले बाल अधिकार सम्बन्धी महासन्धि कसरी कार्यान्वयन गर्छन् भन्ने निगरानी गर्ने जिम्मेवारी दिइएकोसमेत जनाइएको छ ।
समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिका अब उप्रान्त अपांग, विस्थापन, मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस भन्ने आसय व्यक्त गर्दै युद्वरत पक्षलाई बालबालिकाको सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । रासस/एएफपी