• ३ साउन २०८२, शनिबार

दुम्जा–भँगेरी बन्दै छ इतिहासको प्रतिविम्ब

blog

दुम्जामा निर्माणाधीन बिपी स्मृति पार्क । तस्बिर : सागर बस्नेत

त्यस समय वीरशमशेर राणा श्री ३ प्रधानमन्त्री थिए । वीरशमशेरसमक्ष एकदिन दरबारकी ‘केटी’ ले आफ्नो दाइ दण्डित भएको उजुर गरिन् । त्यति मात्र होइन, ती ‘केटी’ ले डिट्ठा कालिदासविरुद्ध कुरासमेत लगाइदिइन् । भोलिपल्टै डिट्ठा कालिदासलाई दरबारमा हाजिर गराइयो । 

बलियो मान्छेको पिठिउँको काठीमा चढेर बाहिर आएका वीरशमशेरले क्रोधपूर्ण शैलीमा सोधे, “त्यो फैसला कसरी दिइयो ?” निर्भीक शैलीमा कालिदासले जवाफ फर्काए, “सरकारले मलाई ऐनबमोजिम फैसला दिनका लागि जागिर बक्सेको हो ।”

वीरशमशेर बुई चढेको चढेकै थिए । उनले घोडा बनेको मानिसको दाहिने कान परक्क निमोठे । त्यो बलियो मान्छे फरक्क फर्कियो दाहिनेतिर । एकछिनपछि ऐनको ठेली बोकेर वीरशमशेर बुई चढेरै फर्किए । कालिदासको आँखैअघिल्तिर लगेर वीरशमशेरले देखाए, “खै तेरो दफा ?” कालिदासले जुन दफाका आधारमा दण्डित गरेका थिए, त्यसमा हरिताल हालिएको थियो । त्यसपछि उनले हत्तपत्त आफूलाई सच्याए, “सरकार ! अब ऐन बदलियो ।”

वीरशमशेरले उत्तेजित हुँदै भने, “यो डिट्ठा बडो ऐन जान्ने भन्दो रहेछ, आफूलाई । जाली हो, जाली– यो डिट्ठा । यसलाई चारै अड्डा घुमाएर चार भन्ज्याङ कटाइदिनू ।”

‘आदेशको जवाफ छैन, कालको ओखती छैन’ भने जस्तै एक हुकुमले कालिदासको तानामाना हरियो । घरमा रुवाबासी चल्यो । त्यो घटनाले कृष्णप्रसादले निश्चय लिए, “म कहिल्यै जागिर खान्नँ, यो अनिश्चित रहेछ ।” कृष्णप्रसादका जेठा दाजु थिए– कालिदास । यो काण्डले काठमाडौँबाट परिवारै विस्थापित हुनु परेको थियो । तथापि, कृष्णप्रसाद कोइरालाले १८ वर्षको उमेरमा छ महिना सरकारी नोकरी गर्न पुगे । विक्रम संवत् १९३६ मा दुम्जाको बाँझाबारीमा जन्मिएका कृष्णप्रसाद १९५४ तिर जागिरमा भर्ती भएका रहेछन् । त्यो पनि बडाहाकिम कर्णेल जितबहादुरको आग्रहमा छमहिने खरदार बनेका कृष्णप्रसाद कोइरालालाई जीवनभर खरदारबाजे भनेर सम्बोधन गरियो । 

केही वर्षपछि वीरशमशेरले एकदिन हजुरिया कर्णेललाई भनेछन्, “कालिदास  ऐनकानुन त खुब जान्ने हो । त्यसलाई झिकाएर भर्ना गर्नु पर्‍यो ।”त्यसपछि कालिदासले बहाली पुर्जी पाए । किशोर अवस्थाका कृष्णप्रसादलाई कालिदासले आफूसँग राखेर कामकाज सिकाउँदै थिए । वीरशमशेरले कोशीपूर्वका मोरङ क्षेत्रमा बन्दोबस्तको काम गर्ने गरी कालिदासलाई खटाए । त्यस समय वनजङ्गलले ढाकिएको अविकसित, औलले अँठ्याउने र डरलाग्दो ठाउँ थियो– मोरङ । ‘नुनको सोझो’ भन्दै कालिदास लागे मोरङ । उनले आफूसँगै लिएर गए– कृष्णप्रसाद ।

विसं १९५८ साल साउन १३ गते देवशमशेरलाई धनकुटा धपाएर चन्द्रशमशेरले सत्ता हत्याउँदा कृष्णप्रसाद काठमाडौँमै थिए । देवशमशेरको सुधारवादी कार्यबाट कृष्णप्रसाद केही आशावादी बने । त्यसो त चन्द्रशमशेरसँग पनि पिताजी कृष्णप्रसादको नराम्रो थिएन । सप्तरीको ‘चन्द्रगन्ज’ नाम पिताजी कृष्णप्रसादले चन्द्रशमशेरकै नामबाट राखेका थिए । भन्सार सुविधाका लागि पिताजी कृष्णप्रसादले स्थापना गरेको त्यो एउटा अड्डा थियो; जुन ठाउँलाई उनी ‘कचहरी’ भन्थे । उनले चन्द्रशमशेरलाई बेलाबखत हुलाकमार्फत देश सुधारका नयाँ योजना र सुझाव पठाउँथे । कमाराकमारी अमलेख गर्नुपर्ने जस्ता सुझाव पनि उनले पठाएका थिए । १९२४ सालमा चन्द्रशमशेरले दास मोचन गर्नुअघि पिताजीलाई सूचना दिइएको बिपीले ‘आफ्नै कथा’ मा स्मरण गरेका छन् ।

पार्सलले प्रवास

बिपी कोइरालाले आत्मवृत्तान्त (२०५५) मा पिताजी कृष्णप्रसादले देश छाडेर प्रवास गएको घटनाका विषयमा चर्चा गरेका छन् । जडीबुटी बेचबिखन र अन्नपात खरिदका लागि सिराहानजिकको चन्द्रगन्ज बजारमा पहाडबाट हिँउदमा ढाक्रे झर्थे । त्यहीँ थियो कृष्णप्रसादको व्यापार । बजारमा भेटिएका पहाडतिरका तिनै ढाक्रेलाई नयाँ कपडा दिएर तिनका थोत्रा कपडा फुकाली जनताको अवस्था देखाउन कृष्णप्रसादले पार्सल बनाई १९७६ सालतिर चन्द्रशमशेरलाई पठाएका थिए । बेलाबखत सुझावसहितका बिन्तीपत्र पठाउने गरेका पिताजी कृष्णप्रसादसँग यो घटनाबाट चन्द्रशमशेर रिसाए । पक्राउ पुर्जी जारी भयो । दसैँको बेला थियो । विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर केसी थिए । कृष्णप्रसाद र उनीबिच राम्रो सम्बन्ध थियो । उनैको सङ्केत पाएर छिनभरमै कृष्णप्रसाद जोगबनी नाका हुँदै भारत निर्वासनमा पुगे । ठेक्का, व्यापार व्यवसाय, समाजसेवाले निर्माण गरेको त्यो वैभवलाई ‘पार्सल’ काण्डले स्वाहा बनायो । नेपालका सबै श्रीसम्पत्ति सर्वस्वहरणमा पर्‍यो । केही दिनमै कृष्णप्रसादका सबै परिवार भागाभाग गरी निर्वासनमा पुगे । बनारसको ठठेरीबजारमा ठुलो घर भाडा लिएर बस्दा ४५ जनाको डफ्फालाई बिहानबेलुका मेस चलाउनु परेको घटना बिपीको आत्मवृत्तान्तमा पढ्न पाइन्छ । कृष्णप्रसादको प्रवासकालमै १९७१ सालमा वाराणसीमा बिपी कोइरालाको जन्म भएको थियो । पिताजी कृष्णप्रसादका तीन पत्नी थिए । पहिली पत्नी रुक्मिणीको प्रसव अवस्थामै मृत्यु भएको थियो । त्यसपछि उनले मोहनकुमारीसँग विवाह गरे । उनीबाट मातृकाप्रसाद कोइरालाको जन्म विराटनगरमा भयो । कान्छी श्रीमती दिव्या कोइरालाबाट बिपी, तारिणी, केशव र गिरिजाप्रसादको जन्म भएको थियो । 

पिताजी कृष्णप्रसाद कोइराला स्मृतिग्रन्थ (सुवेदी, दधिराज, २०५१) मा सङ्गृहीत ‘पिताजीको कथा र व्यथा’ लेखमा बिपी कोइरालाले लेखेका छन्, “चन्द्रशमशेरले २९ वर्षसम्म राज्य गरे । यस अवधिमा उनले हाम्रो परिवारको सबभन्दा ठुलो क्षति गरे । हामीले १२ वर्षसम्म वनवासको दुःख झेल्नु पर्‍यो र पिताजी उनको सबभन्दा ठुलो विरोधी हुनुभयो ।”  पिताजी कृष्णप्रसाद भारत प्रवासमा रहँदा राजनीतिक सम्पर्क बढ्दै गयो । प्रेस स्थापना र गोर्खाली पत्रिकाको प्रकाशन त्यस समय भएको थियो । गान्धीले चलाएको असहयोग आन्दोलनमा उनको संलग्नता बढ्न थाल्यो । तिनताक धरणीधर कोइराला पढ्नका लागि उतै बसेका थिए । उनको ‘नैवेद्य’ कवितासङ्ग्रह प्रकाशन गरी नेपालमा वितरण व्यवस्था पिताजीले गरेको बिपीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।  ‘देशभक्तका प्रेरणापुरुष पिताजी’ लेखमा मुक्तिप्रसाद चापागाईंले चन्द्रशमशेरले मर्ने बेलामा भीमशमशेरलाई ‘कृष्णप्रसादलाई बोलाएर देशभित्रै राख्नू, नत्र तिमीलाई उनीबाट ठुलो खतरा हुने छ’ भनेको उल्लेख गरेका छन् । 

जेलमै सडाइयो

भीमशमशेर सत्तामा आएपछि पिताजी स्वदेश फर्किए । स्वतन्त्रताप्रति उनमा जागेको भोकले पिताजी चुप लागेर बस्न सक्ने अवस्था थिएन । त्यो बेला काठमाडौँमा सार्वजनिक पुस्तकालय थिएन । चित्तधर हृदय, कृष्णप्रसाद कोइराला, जोगवीर सिंह कंसाकारलगायतले मच्छिन्द्रवहालमा सार्वजनिक पुस्तकालय खोल्ने निर्णय गरे । स्वीकृतिका लागि श्री ३ भीमशमशेरसँग अनुमति माग्न आवेदन तयार पारियो । त्यो पत्रमा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठलगायत ४५ जनाको हस्ताक्षर भइसकेको थियो । त्यस बेलै एक जना पोलाहाले उजुर लगाइदियो । आवेदनमा हस्ताक्षर गर्ने सबैलाई १९८७ वैशाख १६ र १७ गते पक्राउ गरी सबैलाई जनही सय रुपियाँ जरिबाना गरियो । 

त्यसपछि १९८९ तिर पिताजी कृष्णप्रसाद काठमाडौँबाट विराटनगर पुगे । त्यता पुगेर विद्यालय, पुस्तकालय, अस्पताल, उद्योग खुलाउन थाले । भारतमा स्वतन्त्रता आन्दोलन चर्किएकै थियो । भारतबाट लुक्न आएका आन्दोलनकारीको बास उनकै कारखानामा हुने गथ्र्यो । कृष्णप्रसादको राइस मिल त शरणार्थी शिविर जस्तो बन्न थालेको थियो । ब्रिटिस सरकारका दास जस्ता राणा शासकले त्यही निहुँमा १९९९ फागुनको अन्तिमतिर पिताजीलाई विराटनगरमा पक्राउ गर्‍यो । बिपी भारतमै रहेर स्वतन्त्रता आन्दोलनमा थिए । त्यही क्रममा १९९९ मङ्सिरमा उनी पनि पटनाबाट पक्राउ परे । 

पक्राउ परेका पिताजीलाई तराईका अड्डासार गर्दै २२ दिन लगाएर काठमाडौँ ल्याइयो । उनीसँगै छोरा तारिणी पनि आएका थिए । उनका जेठा छोरा मातृकाप्रसाद कोइराला त्यस समय काठमाडौँमै नोकरीमा थिए । पिताजी पक्राउ परेपछि मातृकाको जागिर सङ्कटमा पर्‍यो । २००० साल वैशाखको पजनीमा मातृकालाई बर्खास्त गरिएको थियो । त्यति मात्र होइन, मातृका र तारिणीलाई काठमाडौँ छाड्न आदेश दिइयो । 

पिताजीलाई बाथ रोगले च्याप्दै लगेको थियो । राणाको कडा निगरानी र बाथले हिँडडुल गर्न नसक्ने अवस्थाका पिताजी कृष्णप्रसादको स्वास्थ्य झन् बिग्रँदै गयो । त्यस्तो बेला उनलाई कडा निगरानीसहित जेलमा राखियो । मातृकाप्रसाद कोइरालाले आफ्नो संस्मरणमा लेखेका छन्, “पिताजीले जेलबाटै आफूमाथिको आरोप जान्न खोजे र मुद्दा चलाउनुपर्ने कि छाड्नुपर्ने माग गरे । हजुरिया जनरल बहादुरशमशेरले कृष्णप्रसाद र तिनकालाई ‘विषालु सर्प’ को संज्ञा दिँदै सर्पको विष झार्न आफूलाई थाहा भएको उत्तर दिए ।” कृष्णप्रसादले फेरि पत्र लेखे, “भयको सीमा मृत्यु हो । म मृत्युदेखि डराउँदिनँ । मेरा छोराहरूले यो अन्यायको प्रतिकार अवश्य नै गर्लान् ।” उनी सिकिस्त बनेपछि त्रिपुरेश्वरस्थित धर्मशालामा सारियो । काठमाडौँमा विछट्ट जाडो बढिरहेको थियो । २००१ साल पुसको अन्तिम हप्ता काठमाडौँमा हिमपात भएको थियो । जीर्ण शरीरलाई निमोनियाले गाँज्यो र २००१ साल माघ ३ गते साँझ धर्मशालामा उनले अन्तिम श्वास लिए । त्यस क्षण उनका दुई पत्नी मोहनकुमारी र दिव्या, छोरा केशव, छोरी विजयालक्ष्मी, बुहारीहरू सुशीला र नोना थिए भनी पिताजीको संस्मरण लेखमा ढुण्डीराज कोइरालाले लेखेका छन् । राणाका त्रासले पिताजीको शव उठाउने कोही ब्राह्मण नपाएपछि सिपाहीले नै उठाई शङ्खमूल घाटमा अन्त्येष्टि गरिएको ढुण्डीराजले लेखेका छन् । त्यस समय बिपी कोइराला भारतको हजारीबाग जेलमै थिए । 

दुम्जामा जन्मिएका कृष्णप्रसाद

नन्दिकेशर कोइरालाको जन्म १८७४ सालमा दुम्जामा भएको थियो । खार्पाकी राज्यलक्ष्मी पोखरेलसँग विवाहपछि कान्छो छोराका रूपमा कृष्णप्रसादको जन्म दुम्जाको बाँझाबारीमा १९३६ सालमा भएको थियो । उनी जन्मेको चार वर्षमा नन्दिकेशरको मृत्यु १९४० सालमा भएको हो । नन्दिकेशरको मृत्युपछि उनका परिवारले दुम्जा छाडी जनकपुरको सिजोरा पिँडारीमा बसोबास गर्न थालेको पाइन्छ । बिपी कोइरालाले आफ्नो कथा (२०४०) मा लेखेका छन्, “पिताजीको लालनपालन दुम्जामा भयो र उहाँको तालिम आफ्नो ज्येष्ठ भ्राता कालिदास र माता राज्यलक्ष्मीको सतर्क दृष्टिमा काठमाण्डू र जनकपुरमा ।” ‘आफ्नो कथा’ मा बिपीले लेखेका छन्, “जेठा बा कालिदास वीरशमशेर महाराजको पालामा काठमाण्डूमा रही निजामती सेवामा विस्तार–विस्तार उन्नति गरेर सुब्बा हुनुभयो । हाम्रो परिवार जनकपुरमा केही जर जमीन ली मदेशवासी हुन लागेको थियो । दुम्जाबाट जनकपुर झर्न सजिलो पर्ने भएकोले सायद मदेशवासका लागि जनकपुर रोजिएको होला ।”  कृष्णप्रसादकी छोरी इन्दिरा आचार्यले ‘बितेका केही कुराहरू’ शीर्षक लेखमा दुम्जा छाड्नुपर्नाका केही कारणको चर्चा गरेका छन् । उनले लेखेका छन्, “कृष्णप्रसाद कोइरालाकी आमा (राज्यलक्ष्मी) को कोइराल्नी धाईसित खटपट भएछ । कोइराल्नी दरबारमा धाई भएकाले धेरै रवाफ थियो रे । मेरो हजुरआमा पनि कोइराल्नी धाईको रवाफमा दबेर बस्ने स्वभाव थिएन । त्यस कारण दुवैको खटपट परिरहेको रहेछ ।”

इन्दिराले लेखेकी छन्, “धाई भएकाले आफ्नो राजासित जमिन बिर्ता माग्दा दुम्जाकै जमिन बिर्ता पाऊँ भन्नुभएछ, अनि दुम्जा सबै उहाँको बिर्ता भयो । कोइराल्नी धाईले बिर्ता पाएको जमिनमा म पानी पनि खान्नँ भनी मेरो बडा आमाले प्रतिज्ञा गर्नुभएछ । अनि दुम्जाबाट आफ्ना त्यहाँ भएका छोराछोरीलाई लिई हिँड्नुभएछ । टाढी भन्ने ठाउँमा पुगेपछि मात्र उहाँले पानी खानुभयो अरे ।” दुम्जाकै रङ्गनाथ कोइरालाकी कान्छी पत्नी थिइन्, जनककुमारी कोइराला । श्री ५ पृथ्वीवीरविक्रम शाहको बुबु धाई थिइन् उनी । उनको दरबार दुम्जाको सिमलचौरमा अहिले पनि यथावस्थामा रहेको छ । तिनै धाई बज्यैकी पनाति हुन्– साहित्यकार शङ्कर कोइराला । उनको आञ्चलिक उपन्यास ‘खैरेनीघाट’ निकै चर्चित छ । आफ्नो जीवनी पुस्तिकामा शङ्कर कोइरालाले लेखेका छन्, “मेरा बाल्यकालमा परेका प्रभावहरू त्यही ‘खैरेनीघाट’ उपन्यासमा देखा परेका छन् । म जे जति गाउँले जीवनमा आधारित उपन्यास र कथा लेख्ने गर्छु– यही दुम्जाको प्रभाव हुन् भन्न अत्युक्ति नहोला ।”


पर्यटन केन्द्र बन्दै छ दुम्जा

कृष्णप्रसाद कोइरालाले दुम्जा छाडेको करिब १४२ वर्षपछि सोही थातथलोमा उनको घर ठड्याइएको छ । उनले छाडेर गएको गाउँ फेरिए पनि त्यहाँका बरपिपल, चौतारी र पोखरी उस्तै छन् । तिनलाई समेत समेटेर सरकारले ‘बिपी स्मृति पार्क’ को गुरुयोजना बनाई कार्यान्वयनमा ल्याएको छ । 

सुरुका दिनमा कृष्णप्रसाद कोइरालाको जन्मस्थलको विकासमा कुशेश्वर विद्यापीठ पूर्वविद्यार्थी समाजले अगुवाइ गरेको थियो । इतिहासको संरक्षण र पर्यटनको विकासका लागि पूर्वविद्यार्थी समाजले रुद्रप्रसाद कोइरालाको स्वामित्वमा रहेको चार रोपनी जग्गा र पुरानो घरसमेत खरिद गरेको थियो । 

विसं २०७६ मा सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई ऐतिहासिक पार्कका रूपमा विकास गर्ने सरकारी योजनाबमोजिम बजेट विनियोजन भएपछि जग्गा प्राप्तिको कार्य अघि बढेको थियो ।  तिनै कृष्णप्रसादका तीन छोरा नेपालको प्रधानमन्त्री हुन पुगे । त्यसो त दुम्जामै जन्मिएका बोधप्रसाद कोइरालाका छोरा सुशील कोइराला पनि प्रधानमन्त्री बने । सुशील कोइरालाले ‘पिताजीको संघर्ष’ लेखमा “मेरा बा बोधप्रसाद कोइराला सानै उमेरमा आफ्नो पुख्र्यौली थलो दुम्जा त्यागी मदेश लाग्नुभएको हो” भनी लेखेका छन् । दुम्जाबाट विराटनगर झरेका बोधप्रसाद पनि कृष्णप्रसादकै सम्पर्कमा पुगे । पिताजी कृष्णप्रसादले आफ्नै साली कुमुदिनी आयार्चसँग भतिजा बोधप्रसादको विवाह गराइदिएका थिए । 

नेपाली राजनीति, परिवर्तन र सामाजिक चेतनाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने पुस्ताको जन्मस्थल र पुख्र्यौली थलो दुम्जामा इतिहासको सम्मान र त्यसकै आधारमा पर्यटनको विकास गर्ने उद्देश्यले काम अघि बढेका छन् । काठमाडौँबाट दुम्जाको नेपालथोक ८० किलोमिटर दुरीमा पर्छ । बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दीबास १५८ किलोमिटर) को नेपालथोकबाट छ किलोमिटर कच्ची सडक हुँदै दुम्जाको धरिनडाँडामा रहेको बिपीपार्क पुग्न सकिन्छ ।  

सघन सहरी तथा भवन निर्माण आयोजना, मन्थलीका प्रमुख सुमन सालिकेका अनुसार नेपाली लोकतान्त्रिक तथा वामपन्थी राजनीतिका धरोहरद्वय बिपीको पुख्र्यौली थलो र पुष्पलाल श्रेष्ठको जन्मस्थलमा ऐतिहासिक पार्कका रूपमा विकास गर्ने सरकारी योजनाबमोजिम जग्गा प्राप्त गरी गुरुयोजना बनाई निर्माण कार्य भइरहेको छ । यस अनुसार बिपी स्मृति पार्कमा प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, पुस्तकालय, सङ्ग्रहालय, वनभोज स्थल, हेलिप्याड, आकर्षक प्रवेशद्वार र पार्किङस्थल रहने छन् ।

१४२ रोपनी क्षेत्रफलमा फैलिएको बिपी स्मृति पार्कमा आकर्षक बगैँचा, बालबालिकाका लागि खेलमैदानसमेत बनाइने छन् । बालबालिकाको खेलमैदान, कृष्णप्रसादकालीन बरपिपलका वृक्ष, पोखरीको समेत गुरुयोजनाभित्रै संरक्षण गरिने भएको छ । 

गजुलीदह र नेपालथोकबाट पदमार्गसमेत विकास गर्ने योजना छ; जहाँ पुरानो पैदलमार्गसमेत छ । पार्कवरपर हिँड्ने क्षेत्रसमेत छुट्याइने छ । पार्क क्षेत्रमै खुला थिएटरसमेत परिकल्पना गरिएको छ । सो स्थानमा मन्दिरसमेत निर्माण गरिने छ । 

कृष्णप्रसाद कोइरालाको जन्मस्थलमा उनकै पुरानो शैलीको दलाने घर निर्माण गरिएको छ; जहाँ काजी दामोदर कोइराला, कृष्णप्रसाद कोइराला, कालिदास कोइरालासहित मातृकाप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, धरणीधर कोइरालालगायत ११ जना व्यक्तित्वको सालिक स्थापना गरिने छ । बिपी कोइराला, कृष्णप्रसाद कोइराला, काजी दामोदर कोइरालाको सालिक स्थापना भइसकेको छ । 

विश्व राजनीति र साहित्यमा उत्तिकै चर्चित मानिन्छन्– बिपी । कांग्रेस पार्टीको स्थपना, २००७ सालको सशस्त्र सङ्घर्ष, प्रधानमन्त्री हुँदा अपदस्थ भई लामो समय जेल जीवन, प्रवासको सङ्घर्ष, मेलमिलाप नीति लिएर प्रवासबाट नेपाल फिर्ती जस्ता परिवर्तनकारी इतिहासको नेतृत्व गरेका बिपीको निधन २०३९ साल साउन ६ गते भएको थियो । 

सँगै तीन लाल 

इन्द्रचोकको त्यो गल्ली भिडभाड थियो । बजार आउने र भाषण सुन्नेको । नागरिक अधिकार समितिले १९९५ मङ्सिर १३ गते इन्द्रचोकमा कोणसभा गरेको थियो । समितिका अध्यक्ष शुक्रराज शास्त्रीले भाषण गरे । समितिका सचिव तथा कार्यक्रमका उद्घोषक केदारमान व्यथितले भने, “नेपाल आमाका सपुत कोही हुनुहुन्छ भने मेरो हातको पान खाई सभामा बोल्नुस् ।” भिडमा कतै बसेर भाषण सुनिरहेका २० वर्षका गङ्गालाल बुरुक्क उफ्रेर मञ्चमा पुगी पान चपाउँदै निकै आक्राेशित र सनसनीपूर्ण भाषण दिए । त्यसपछि भूमिगत भएका उनलाई राणाका प्रहरीले पक्राउ गर्‍यो । फिका सेतो स्वेटर लगाएका गङ्गालालसँगै साढे सात बोरा कागजपत्र र किताब प्रहरीले लरीमै लगे । 

गङ्गालाललाई मृत्युदण्डको फैसला भयो । मृत्युदण्ड दिनुअघि केन्द्रीय कारागारसँगैको गजन्नाथ देवल (मन्दिर) अघिल्तिर गङ्गालाललाई परिवारसँग भेट गराइएको थियो । पुष्पलालले जुत्ता फुकालेर गई दाजु गङ्गालाललाई अङ्कमाल गरे । केहीबेर सन्नाटा छायो । त्यसपछि गङ्गालालले मुख खोले, “मलाई मृत्युदण्ड दिइए पनि मुक्ति अभियान निरन्तर जारी राख्नु ।”

विसं १९९७ माघ १५ गतेको त्यो दिन गङ्गालाललाई मृत्युदण्ड दिन प्याफल टोल हुँदै लरीमा शोभाभगवतीतर्फ कुदाइँदै थियो । त्यसैबेला अन्तिम पटक देखे गङ्गालालले आफ्नो घर । अनि प्रिय पत्नीलाई अन्तिम पटक बोलाए, 

“हसिना ! ए हसिना !!”

गङ्गालालका कान्छा भाइ विजयलाल श्रेष्ठले ‘भक्तलाल श्रेष्ठका सन्तान–गङ्गालाल, पुष्पलाल र हामी’ मा लेखेका छन्, “त्योबेला म मौन दर्शक बनेको थिएँ । त्यतिबेला मेरा बुबा निःशब्द भएर उभिइरहनुभएको सम्झँदा अहिले पनि मेरो शरीर काँप्दछ । दिदी हिरण्यकुमारी र मावलाकी हजुरआमा जमिनमा लडिबुडी गरेर रोइरहेको दृश्य म अहिले पनि सम्झन्छु । गङ्गालाल भने गीताका श्लोकहरू सुनाउँदै बुबा र हामीलाई सान्त्वना दिइरहनुभएको थियो । त्यो क्षण ज्यादै मर्मस्पर्शी, वियोगान्त, दुःखद र दयनीय तर देशभक्तिपूर्ण थियो ।”

शोभाभगवतीमा उत्सर्ग भएको क्रान्तिको फिलिङ्गोलाई पुष्पलालले उचाले । सहरी आन्दोलनको नेतृत्व, गिरफ्तारी, रिहा हुँदै भारत प्रवासमा पुगेर २००६ वैशाख १० मा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । तिनै क्रान्तिकारी व्यक्तित्व पुष्पलाल र गङ्गालालको जन्म रामेछाप जिल्लाको भँगेरीमा भएको थियो । 

पुख्र्यौली थलो कीर्तिपुर भएका भक्तलाल जागिरको सिलसिलामा रामेछाप पुगेका थिए । सोही क्रममा भक्तलाल र तुलसीकुमारीबाट १९७५ चैत ३ गते गङ्गालाल र १९८१ असार १५ गते पुष्पलालको जन्म भँगेरीमै भएको हो । गङ्गालाल र पुष्पलालले भँगेरीमा पाँच वर्षसम्मको बाल्यकाल बिताएका थिए । भक्तलालका दुई परिवारका १६ सन्तान चार जिल्लामा जन्मिएका थिए । 

संयुक्त जनआन्दोलनबाट मात्र निरङ्कुश शासन फाल्न सकिन्छ भन्ने विचारका प्रवर्तक पुष्पलालको भारत प्रवासकै क्रममा २०३५ साउन ७ गते निधन भयो तथापि उनले नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक उठान, विस्तार र नेतृत्वका लागि दिएको महत्वपूर्ण योगदानको कदर गर्दै राज्यले पृष्पलाल जन्मस्थलको विकासमा गुरुयोजना बनाई कार्यान्वयनमा समेत लगेको छ । नागरिकस्तरमै यस क्षेत्रको विकासका लागि पुष्पलाल स्मृति प्रतिष्ठानले अगुवाइ गरेको थियो । 

पूर्वसांसद तथा पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष देवशङ्कर पौडेलका अनुसार प्रतिष्ठानले सुरुमा पाँच रोपनी जग्गा खरिद गरी ऐतिहासिक स्थलको संरक्षण र पार्कको योजना अघि बढाएको थियो । 

तथापि दुम्जा र भँगेरीमा ऐतिहासिक पार्क बनाउने योजना सरकारले २०७६ सालमा अघि बढायो । काठमाडौँबाट १३७ किलोमिटर दुरीमा रहेको रामेछापको भँगेरीमा पार्कका लागि ४७ रोपनी जग्गा अधिग्रहण गरिएको छ । मन्थलीबाट १३ किलोमिटर र सेलेघाटबाट करिब ११ किलोमिटर दुरीमा पुग्न सकिने भँगेरीमा पुष्पलालले बाल्यकाल बिताएको घरको निर्माणसमेत गरिने छ; जहाँ पुष्पलालको राजनीतिक यात्रालाई प्रतिस्थापन कलामार्फत प्रस्तुत गरिने छ । प्रशासनिक, अध्ययन अनुसन्धानका लागि आवासीय भवन, पुस्तकालय, सङ्ग्रहालय, बहुउद्देश्यीय भवन, हेलिप्याड, क्याफ्टेरिया, अडिटरियम हल निर्माण गरिने छ । तीमध्ये केही संरचना निर्माण भइसकेका छन् । त्यहाँ राख्न साहित्यिक सहिद कृष्णलाल अधिकारी, गङ्गालाल, नेपाली कम्युनिस्ट पार्टीका संस्थापन पाँच जनाको पूर्ण कदको सालिक निर्माण भइसकेको छ । केही निर्माणका क्रममा छन् । अब केही समयमै घुम्न सकिन्छ– दुम्जा र भँगेरी ।