• २९ कात्तिक २०८२, शनिबार

‘दुई चार जनाले पार्टी छोड्दैमा आत्तिनु पर्दैन’

blog

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल ।

बोमलाल गिरी 

नवलपुर, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले दुई चार जनाले पार्टी छोड्दैमा आत्तिन नपर्ने बताउनु भएको छ । 

रास्वपाको नगर पार्टी कार्यालयको नवलपुरको कावासोतीमा उद्‌घाटन गर्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताउनु भएको हो ।

रास्वपाका निवर्तमान प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेको भोलिपल्ट अर्यालको यस्तो प्रतिक्रिया आएको हो ।

केही समयअघि रास्वपाकै निवर्तमान सांसद सुमना श्रेष्ठले पनि पार्टी परित्याग गर्नु भएको थियो । ‘‘दुई चार जना राम्रा मान्छे पार्टीमा आए भन्दैमा नयाँ ग्रहबाट आए जसरी हौसिन पनि पर्दैन, दुई चार जना जाँदैमा पनि आत्तिहाल्नु पर्दैन, हामी विचलित हुनु पर्ने पनि छैन’’ अर्यालले भन्नुभयो, ‘‘अर्को पार्टीमा गएर राम्रो काम गरेर हामीले गर्नै नपर्ने गरी देश बनाउँछन् भने पनि राम्रै हुन्छ, उहाँहरूलाई शुभकामना ।’’

अर्को प्रसङ्गमा उहाँले अहिलेको सरकारलाई रास्वपाले काँध थापेको नभई टेको दिएको मात्र बताउनुभयो ।

 ‘‘अहिलेको सरकारको विरोध नगर्नुको कारण समर्थन गर्नु मात्र होइन, यो देशमा चुनाव भएर नयाँ र राम्रा मान्छे आउलान् भनेर चुनाव गराउनका लागि टेको दिएको मात्र हो,’’ कार्यवाहक सभापति अर्यालले भन्नुभयो, ‘‘त्यो टेको पनि कहिलेसम्म दिने भन्नेमा केन्द्रमा छलफल भइरहेको छ ।’’

उहाँले पार्टी सभापति रवि लामिछाने छिटै निर्दोष सावित भएर छुट्ने पनि दाबी गर्नुभयो । न्यायिक लडाइ भइएकाले सजिलो नभए पनि चुनाव अघि नै लामिछाने रिहा भएर चुनावी अभियानमा खटिने उहाँको दाबी छ । 

उक्त चुनावबाट सके दुई तिहाइ र नभए बहुमत ल्याएर रास्वपाले पाँच वर्ष सरकार चलाउने पनि अर्यालले दाबी गर्नुभयो ।