समग्र रूपमा नियाल्दा सुरेल भाषा भोट चिनियाँ भाषा अन्तर्गत राईकिराँती भाषामा पर्ने भाषाका रूपमा देखिन्छ भने भाषिक सन्निकटताका कारण यो भाषाको स्वर/ध्वनि तामाङसँग मिल्दो तथा नेपालीकरण भएको पाइन्छ ।
दोलखा जिल्लाको चरीकोटबाट उत्तरतिर ३५ किलोमिटर दूरी तय गरेपछि तामाकोशी किनार पुगिन्छ– सिङ्गटी । त्यहाँबाट करिब १० किलोमिटर पूर्व अघि बढेर सुरीखोला पछ्याउँदै जाँदा पुगिन्छ सुरी । जहाँ सुरेल जातिको बसोबास रहेको छ । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ मा सुरेल जातिको मुख्य बसोबास छ । गौरीशङ्कर गाउँपालिका–८, खारेखोलामा समेत चार घर सुरेल छन् । सुनुवार र सुरेलको भाषामा धेरै मतक्य छ । लोपोन्मुख जातिलाई राज्यले २०६५ सालबाट सामाजिक सुरक्षा भत्ता दिन थालेपछि नागरिकतामा सुनुवार थर लेख्दै आएका सुरेलले आफ्नै थर लेख्न थालेको पाइन्छ ।
सुरेललाई बेग्लै समुदायका रूपमा परिभाषित गर्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको महत्वपूर्ण पहल रहेको छ ।
‘नेपाली र सुरेल भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन’ शीर्षक साधुराम पोखरेलको सोध (२०७२) मा “सुनुवारसँग मेल खाने सुरेलहरूले सुनुवार भनेर आफ्नो थर बदल्दा विभिन्न जनगणना (२०३८,४८, ५८) मा र अन्य तथ्याङ्कमा पनि सुनुवारभित्रै गाभिन पुगेका छन् । यसको परिणामस्वरूप सुरेलहरू आफ्नो भाषा, संस्कृति, चालचलन छोडेर स्थानीय वा नेपाली ब्राह्मण क्षेत्रीका संस्कार ग्रहण गर्ने क्रममा छन्,” भनिएको छ ।
साधुरामले आफ्नो सोधमा “विविध भाषाको परिचय दिने क्रममा नेपाली साहित्यको इतिहास नामक पुस्तकमा सम्पादक प्राडा चूडामणि बन्धुले सुनुवार भाषालाई अलग्गै राखेर दोलखा जिल्लाको सुरीखोलाका किनारामा बसोबास गर्ने दुई सय जति सुरेलको पनि आफ्नै सुरेल भाषा छ । यस भाषाका विषयमा धेरै कुरा थाहा छैन । त्यस्तै नगेन्द्र शर्माले नेपाली जनजीवन नामक पुस्तकमा विविध जातिको परिचय दिने क्रममा सुरले शीर्षक दिएर सुरेल जातिको परिचय खुलाएका छन् । उनले सुरेल भाषालाई तिब्बती भाषा समुदायको सदस्य भनेर उल्लेख गरेका छन्,” भनी उल्लेख गरेको पाइन्छ ।
आफ्नो सोधको निष्कर्षमा साधुरामले लेखेका छन्, “समग्र रूपमा नियाल्दा सुरेल भाषा भोट चिनियाँ भाषा अन्तर्गत राईकिराँती भाषामा पर्ने भाषाका रूपमा देखिन्छ भने भाषिक सन्निकटताका कारण यो भाषाको स्वर/ध्वनि तामाङसँग मिल्दो तथा नेपालीकरण भएको पाइन्छ ।”
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत ६० (२०७७ मा रानाथारू थप गरिएको) जातिमध्ये लोपोन्मुख समूहमा सुरेल पर्दछन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार सुरेलको जनसङ्ख्या ३१८ छ । न्यून जनसङ्ख्या त्यसमा पनि अन्तरजातीय विवाहका कारण सुरेल भाषा सङ्कटमा पर्दै गएको छ । तथापि भाषा संरक्षणकै लागि गौरीशङ्कर गाउँपालिका–५ को विष्णुश्वरी प्राथमिक विद्यालयमा सुरेल भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउन थालिएको छ ।
डा. तारामणि राई, दिवस राई र सुवास सुरेलले ‘सुरेल जातिको चिनारी (२०७९)’ मा “सुरेल भाषा चिनियाँ–तिब्बती महाभाषा परिवार अन्तर्गत तिब्बती–बर्मेली भाषा परिवार अन्तर्गत पर्ने हिमाली समूहमा पर्ने भाषा हो । एथ्नोलग (सन् २०१२) ले सुरेल भाषालाई सुनुवारको भाषिका भनेको छ तर यसअघि ब्राडले (सन् १९९७) ले चाहिँ सुरेल भाषा स्वतन्त्र भाषा नै हो भनेर उल्लेख गर्दै यो भाषा दक्षिण पश्चिमी किराँती भाषाहरू हायु, बायुङ, सुनुवार र सुरेल हुन सक्ने भनी, उल्लेख गरेका छन् ।”
उनीहरूले “यो भाषा किराँती भाषासँग नजिकको सम्बन्ध राख्ने भाषा हो । सुरेल शब्दले जाति र भाषा दुवैलाई बुझाउँछ,” भनेका छन् । नेपाल प्राध्यापक सङ्घको जर्नलका लागि लोकनाथ दुलाल र सुरज भट्टराईले लेखेको, ‘सुरेल जातिका लोक देवीदेवता एवं पूजा–उपासना विधि’ मा सुरेल जातिलाई “मूलतः हिन्दु धर्म मान्ने यो जातिका सांस्कृतिक परम्परा धार्मिक मूल्यमान्यता र विश्वासबाटै निर्देशित छन्,” भनिएको छ ।
उनीहरूमा लोक देवीदेवता एवं पूजा–उपासना विधि पनि आफ्नै प्रकारको रहेको उल्लेख छ । शोध लेखमा, “भूमे, इवी, बम्बु, श्रीढोल, श्रीचन्द, जसिढोल, इतितढोल, आइतबारे, रेल, गङ्गा, किर्गिस्तानी, सेलीभूमे, सेतीदेवी, सेतीनाग, कोमलामाई, बासी जस्ता देवीदेवतालाई यिनीहरू कुलदेवता, पितृदेवता तथा स्थानीय देउदेउताका रूपमा भक्तिभावका साथ पूजा–उपासना गर्ने गर्छन्,” भनिएको छ । सुरेल जातिमा विशेषतः वर्षको दुई पटक उँभौली र उँधौलीमा ती देउदेउताको पूजा–उपासना धुमधामसाथ गर्ने परम्परा रहेको छ । उनीहरू जस्तोसुकै प्रतिकूल अवस्थामा पनि कुलदेवता, पितृदेवता तथा स्थानीय देउदेउताप्रति श्रद्धाभक्तिसहित पूजा–उपासना गर्दछन् ।
सूचना विभागले प्रकाशन (२०३१) गरेको ‘मेचीदेखि महाकाली’ भाग २ मा “सुरेलहरू आफूलाई किराँती वा सुनुवार हौँ भन्छन् र सुनुवारहरूले बोल्ने पुरानो स्थानीय भाषा बोल्दछन्,” भनिएको छ । सो पुस्तकमा “सुरेलहरू मङ्गोल समुदायका पूर्र्वी नेपालका बासिन्दा हुन् । यिनीहरू पूर्वी नेपाल, दोलखा जिल्ला, सुरी–तिनेखु हलेश्वर अन्तर्गत सुरीखोलाको बायाँ किनारमा अवस्थित ससाना सुरी दोभान र खहरे गाउँमा बसोबास गर्दछन् । यिनीहरूको जम्मा ३२ घरपरिवार र १४६ जनसङ्ख्या छ,” उल्लेख छ ।
श्रीमतीले छाड्दा एक घैँटो रक्सी
सुरेल जातिको मुख्य पेसा खेती नै हो । शिक्षामा कमी, गरिबी र खेतीयोग्य जग्गाजमिनको कमीले सुरेल जाति गरिबीको मारमा छ । सुरेल जातिको चिनारीमा उल्लेख भए अनुसार सुरेलहरू आफूलाई बासे र वीरबलका सन्तान ठान्छन् ।
उनीहरू आफ्ना पुर्खा सिमङ्गढीबाट आएको विश्वास गर्दछन् । यो जातिमा मागी विवाह र चोरी विवाह दुवै उत्तिकै चलनचल्तीमा रहेको छ । खर्चका हिसाबले समेत मागीभन्दा चोरी विवाह कम खर्चिलो हुन्छ । चोरी विवाह गरे पनि सामाजिक मान्यता प्राप्तिका लागि पुनः मागी जस्तै विवाहको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यो जातिमा बहुविवाहको चलन चाहिँ पाइन्न । आफ्नो श्रीमान्सँग असन्तुष्ट श्रीमतीले आफूखुसी श्रीमान् छाड्न सक्ने सामाजिक अधिकार रहेको छ । यस्तो अवस्थामा छाडेर जाने श्रीमतीलाई केही रकम र उनको बाबुआमालाई एक घैँटो रक्सीसमेत केटा पक्षले दिनुपर्ने हुन्छ तर श्रीमती अर्कै केटा खोजेर पोइल गएमा जारी लिने चलनसमेत सुरेल जातिमा छ ।
सुरेल जातिमा विवाहपूर्व नै कुनै युवती गर्भवती भएमा त्यसको जानकारी कुलकी बूढीपाकी महिलालाई दिनुपर्ने हुन्छ । उनैले त्यो हल्ला गाउँमा फिजाउँछिन् । त्यसपछि जसको गर्भ हो उसैसँग युवतीको विवाह गराइहाल्ने चलन सुरेल समुदायमा रहेको पाइन्छ ।
शवलाई नुहाइधुवाई
सुरेल जातिमा मृत्यु पर्नासाथ घरको बाहिर पिँढीको दाहिनेपट्टि गुन्द्रीमा शव राखिन्छ । मृत्यु परेको घरभित्र तुरन्तै लिपपोत गरिएपछि मृतकलाई नुहाई धुवाई गरी नयाँ लुगा लगाएर मुखमा पैसा राखिदिने चलन छ । यो जातिमा शव जलाउने परम्परा छ ।
मृतकको उमेर अनुसार त्यति नै दाउराको चिता बनाउने गरिन्छ । तथापि एक महिनादेखि १० वर्षसम्मका बालबालिकालाई गाड्ने गरिन्छ । मृतकको आँखीभौँ र जुङ्गा जलाउनु हुन्न भन्ने मान्यता यो जातिमा छ । गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएमा शिशुसँगै जलाइन्छ ।
सुरेल जातिमा १२ दिनसम्म जुठो बारिन्छ । जुठो बार्दा किरियापुत्रीले खाना पकाउने गर्दैनन् । आफ्नो भातभान्सा भित्रका मानिसले पकाएको खाना नै किरियापुत्रीले खानु पर्दछ । जुठो बार्दा उसिनेको वा घिउ, नुन परेको चिजबिज खान हुँदैन । श्रीमान्को मृत्यु भएमा श्रीमतीले दुई छाक र श्रीमतीको मृत्यु भएमा श्रीमान्ले दिनको एक छाक मात्र खाएर जुठो बार्ने चलन छ । बाबुको मृत्यु भएमा सबैभन्दा कान्छा छोराले मृतकको भागको श्रीसम्पत्ति पाउँछ । उसले आमा एवं अविवाहिता दिदीबहिनीको पालनपोषण गर्नु पर्दछ ।
तारामणि राई, दिवस राई र सुवास सुरेलको पुस्तक ‘सुरेल जातिको चिनारी (२०७९)’ मा उल्लेख गरिए अनुसार “धेरै पहिले लास पोल्ने दुई जना हुन्थे भने किरिया नाक्सोले गरिदिन्थे । मृतकको घरमा गच्छे अनुसार चामल वा कोदोको जाँड पकाई बाख्रो काटी घेवा गर्नुपथ्र्यो भने लास पोल्ने दुई जनालाई चाहिँ आँगनमा पूर्व फर्काई बाख्रोको टाउको सिँगै बाँडेर खाने गरी दिइन्थ्यो । त्यसबेला उनीहरूलाई भरपुर खानेकुरा दिनु पर्दथ्यो ।”
उनीहरूको सामाजिक संस्कार हिन्दुकृत हुँदै गएको पाइन्छ । यसो हुनुमा सुरेल जातिमा धामीझाँक्रीको कमी हुनु नै हो भन्ने ठम्याइ उनीहरूको छ ।
“सुरेलमा वर्षदिनसम्म नै बरखी बार्ने चलन रहेको पाइन्छ । त्यसो त वार्षिक श्राद्ध गर्नका लागि पनि ब्राह्मणलाई बोलाई गर्ने चलन छ । यस्तो श्राद्ध सोह्र श्राद्धको तिथिमा पर्ने गर्दछ तर हिन्दु संस्कारले नगाँजुन्जेल त बरखी पुगेपछि मान पास्यो (घेवा) नै गर्ने चलन रहेको थियो । यो बेला त गोरु नै काट्ने चलन थियो । तीर्थबहादुर सुरेलले दिएको सूचना अनुसार २०१९ सालदेखि पूर्ण रूपले बाहुन प्रयोग गर्न थालियो ।” ‘सुरेल जातिको चिनारी’ पुस्तकमा उल्लेख गरिएको छ ।
संस्कृतिमा झाँक्री प्रभाव
सुरेल जातिमा हिन्दु र बौद्ध धर्मको सांस्कृतिक प्रभाव पाइन्छ । तथापि जन्मदेखि मृत्यु संस्कारमा उनीहरूको आफ्नै ढङ्गका रीतिथिति र संस्कार छन् । उनीहरूमा झाँक्री वा झाँक्रिनी (पोयम्बो वा गियामिनी), नाक्सो (पुजारी), पोके नाक्सो, दुमा नाक्सो इत्यादि नामका देवारी, पुजारी, पुरोहितमार्फत जातीय संस्कार गर्ने गराउने चलन छ । झाँक्रीले सेतो जामा र पगरी लगाई ढ्घाङ्ग्रो बजाउँदै सुरेलहरूको देवीदेवता, भूतप्रेत, कुलपितृलाई मनाउने, विभिन्न चाडपर्वमा पूजा एवं जातीय संस्कारसमेत सम्पन्न गराउने गर्दछन् । बिरामी पर्दा पनि यिनै झाँक्रीले व्यथा छुट्याउने, दशाग्रह हेर्ने र दरदबाई गर्ने काम पनि गर्दछन् ।
मेचीदेखि महाकाली पुस्तकमा उल्लेख गरिए अनुसार सुरेलहरूले श्री बाम्बुलाई संसारको सृष्टिकर्ताका रूपमा सबैभन्दा ठूलो देवता मान्दछन् र आफ्नो रक्षा होस् भन्नाका लागि यिनलाई बलि चढाउने पनि गर्दछन् । यिनीहरू श्रीढोल, श्रीचन्द, जसिढोल इतितढोल (दुमाढोल) इत्यादिलाई पनि मान्ने गर्दछन् । उनीहरूको घरको रखवारी गर्ने किकि–तानी देवता हो र यसलाई उनीहरूले ठूलो आदरका साथ मान्दछन् ।
यसबारे पनि एउटा घतलाग्दो कथन यस प्रकार छ, उहिले सुरी गाउँको एक जना सुरेलको घरमा एक जना दनुवार हली रहन्थ्यो । सुरेलको घरमा गोरु जोतिरहन इच्छा नभएकाले गोरु जोत्दाजोत्दै फालीको फलाम भाँच्दै झिक्ने गर्दो रहेछ र ढुङ्गामा ठक्कर खाएकाले फाली भाँचियो भनी मालिकलाई भन्दो रहेछ । हलीको कुरामा पत्यार नगरी सुरेलले चेवा गर्दा पुनः फालीको फलाम भाँच्दै गरेको फेला परेपछि किन त्यसो गरेको भन्दा केही उत्तर नदिई त्यो हली दनुवार रोई मात्र बसेछ ।
त्यसपछि आफ्ना सरसामान रुखको टोड्काभित्र राखी सुरीखोलामा हामफालेर हलीले आत्महत्या गरेछ । मेरो गल्तीका लागि मलाई माफ गरिदिनु, सुरेलहरूको रक्षा गर्नेछु भनी दुई/तीन वर्षपछि सो हली वायु भएर झाँक्रीको जिउमा चढेकाले प्रत्येक सुरेलको घरमा ढुकुटीको दाहिने कुनामा सो हली दनुवारको सम्झनामा किकि–तानीको स्थापना गरी पूजा गर्न थालेको भनाइ छ । त्यसैले सुरेलहरूमा जुनसुकै नयाँ चिजबिज खान परेमा र नयाँ कार्य भएमा किकि–तानीलाई चढाउने वा पुज्ने चलन छ ।
सुरेलहरूले मान्ने धन्य देवीदेवतामा सेती भूमे (वन भूमे), सेती देवी (वनदेवी), सेती नाग (वन नाग), आइतबारे (गोठको रक्षक), गङ्गा, नोकन्दे, कोमेला माई (स्वास्थ्य रक्षक), इबी, रेल र बासी (इन्द्र धनु) इत्यादि हुन् । सुरेलहरू मसाने, वन, झाँक्री र कालो भूत इत्यादिमा विश्वास राख्दछन् ।
सुरेलहरू मङ्सिर पूर्णिमा र जेठ पूर्णिमामा देवीथान, भूमेथान, श्री बाम्बुथान, चन्दथान र द्वादली शिकारी थान इत्यादिमा सिन्दूर, धूप, कपुर, फूल, अक्षता, तोर्मा आदिले पूजा गरी पशुपन्छीको बलि चढाउँछन् । बिउबिजन छर्नुअघि र नयाँ बाली भित्र्याएपछि पनि सुरेलहरूले विभिन्न देवीदेवता पुज्छन् र नयाँ चिजबिज खानुअघि न्वागी खाने परम्परा रहिआएको छ ।
–युवामञ्च