• १२ साउन २०८१, शनिबार

मेरो युवावस्था

blog

साना ठूला घटनाले जीवनलाई नयाँ, गहकिला, सार्थक मोड दिँदा रहेछन् भन्ने तथ्य आफ्नो बहुरङ्गी युवावस्थालाई फर्केर हेर्दा म अहिले अनुभव गर्दछु । तीमध्ये युवा सुलभ रमाइला कुराहरू, कार्यहरू, कामनाहरू र आकाङ्क्षाहरूलाई रोचक तरिकाले उतार्ने अहिले मेरो मनसाय छैन, यद्यपि यस किसिमका विषयहरू पनि स्वभावतः मेरो अनुभवभित्र परेका थिए । म अहिले केवल दुई घटनामा सीमित रहन चाहन्छु, जसको संयोगले मेरो जीवनलाई अप्रत्याशित नयाँ मोड दियो ।

पहिलो एक नपत्याउँदो खाल घटना हो म १५/१६ वर्ष छँदाको । म दाजु हरिनाथ खनालकहाँ बस्दथेँ । व्याकरण मध्यमाको अध्ययन सफलताका साथ समाप्त गरेपछि उहाँकै खटनमा वृत्तिको लागि निजामती सेवातर्फ लाग्ने उद्देश्यले म त्यसबेला प्रचलित लेख, गणित, औँठा तथा ऐन स्रेस्ता गरी चारपासे परीक्षाको तयारीमा संलग्न थिएँ । मेरो भने दाजुसरह अङ्ग्रेजी पढ्ने ठूलो अभिलाषा थियो । एक दिन दाजुका निकै मिलेका साथी जो पाटन हाइस्कुलका शिक्षक थिए दाजुलाई भेट्न आए । उनले अकस्मात् दाजुलाई सोधे “भाइलाई के पढाउन लाग्नुभयो ?” 

अङ्ग्रेजी शिक्षा सुरु गर्न उमेर हुर्किसकेकाले सोझै निजामती नोकरीतिर लगाउने विचार गरेको कुरा दाजुले भन्नुभयो । दाजुका मित्रले भने, “होइन, यो जमानामा भाइलाई अङ्ग्रेजी नै पढाउनुहोस् । उमेर त्यति हच्किसकेको म देख्दिनँ ।” मैले यो वार्तालापलाई आफ्नै भाग्य टाँसिए जस्तो गरी उत्कट उत्कण्ठाका साथ सुनेँ । भोलिपल्टदेखि मेरो अङ्ग्रेजी अध्ययन सुरु भयो र निर्णायक नयाँ मोड आयो ।

फेरि आठ/नौ वर्षपछिको कुरा हो । म सरकारी छात्रवृत्तिमा कोलकातामा बीएस्सीले अन्तिम वर्षमा पढ्दै थिएँ । पिताजी बनारसमा काशीवास गर्नु हुन्थ्यो । कडा बिरामीको खबर पाएर कोलकाताबाट म बनारस गएँ । पुस माघको कुरा हो । झन्डै तीन चार हप्ताको निरन्तर उपचारपछि पौष्टिक आहारको सेवन र वार्धक्योचित विश्रामपछि पिताजी त्यसपल्ट बिरामीबाट उत्रनु भयो । म कोलकाता फर्कें । फेरि आफ्नो नियमित अध्ययनमा लागेँ तर मेरो निजी बनारसगमन अधिकारीवर्गलाई मन परेन छ । यसरी मन नपर्नुमा सायद यो मात्र कारण थिएन । त्यसबेला कोलकातामा दार्जिलिङतिरबाट आएका नेपाली विद्यार्थीको एक सक्रिय सङ्गठन थियो जसको माध्यमद्वारा उनीहरूमा जमघट, विचारको आदानप्रदान, वनभोज आदि लाभदायक कार्यक्रमको समय समयमा प्रबन्ध हुन्थ्यो तर नेपालबाट आएका विद्यार्थीको भने यस्तो कुनै संस्था थिएन । उनीहरू तितरबितर थिए । आमोदप्रमोद, विचारको आदानप्रदान जस्ता विद्यार्थीको बौद्धिक र मानसिक हितप्रति उन्मुख कार्यक्रमको व्यवस्था गर्ने माध्यमका रूपमा कुनै सङ्गठनको अभाव खट्कने कुरा भएको थियो । दार्जिलिङबाट आएका विद्यार्थीको अपेक्षा यिनीहरूको सामाजिक परिवेशभित्रै भएकाले भिन्नै सङ्गठनको आवश्यकता महसुस गरिएको थियो । त्यसबेलाको शासन कुनै किसिमको सङ्गठनदेखि संत्रस्त थियो । त्रिचन्द्र कलेजका एक विशिष्ट अधिकृत कोलकाता आएका बेला सङ्गठनका लागि दलिल पेस गर्ने प्रतिनिधिमध्ये म पनि थिएँ । यो कुरा पनि अधिकारीवर्गलाई मन परेन होला ।

तीन चार महिनापछि बनारसमा पिताजीको रोग फर्केर आयो । अधिकारीवर्गको स्वीकृति लिई जाँदासम्म पिताजी परलोक भइसक्नु भएछ । अन्त्येष्टि क्रियाले रोक्दा बीएस्सी परीक्षा दिन सकिनँ । सेन्ट जेभियर्स कलेजका प्रिन्सिपलको राम्रो सिफारिसमा एक अर्को वर्षलाई छात्रवृत्ति पाएको हुनाले बीएस्सी पूरा गरेँ तर अरू अध्ययन गर्ने छात्रवृत्ति उपलब्ध भएन । अधिकारीवर्गसँगको यस्तो बढ्दो अनिश्चित सम्बन्धको परिप्रेक्ष्यमा मेरो भविष्यका निम्ति एमएस्सीभन्दा एमए को अध्ययन बढी हितकर सम्झी सो अनुशीलन गर्न कोलकाता गएँ । शिक्षकको सीमित आयभित्र पनि दाजुले ठूलो सहायता गर्नु भयो तर सो सहायता क्षमताबाहिरको जस्तो लागेकाले कमाउने साथसाथै पढ्ने उपायको खोजमा मैले एक राणा परिवारको कोलकातामा पढिरहेका दुई युवकसँग सम्पर्क स्थापित गरेँ । ट्युसन गर्न थालेँ । फलस्वरूप एमएस्सीबाट नयाँ मोड लिएर मेरो एमए को अध्ययन पनि पूरा भयो । अहिलेसम्मको मेरो जीवनको गतिविधिलाई यो नयाँ मोडने अत्यन्त प्रभावित पारेको छ । 


   

Author

यदुनाथ खनाल