‘विद्युतीय’ र ‘साहित्य’ दुई पद मिलेर बनेको तथा विद्युतीय माध्यमबाट प्रसारमा आउने साहित्यलाई सम्बोधन गर्ने पारिभाषिक नेपाली पदावली हो विद्युतीय साहित्य । यस पदावलीले साइबर साहित्य र संस्कृतिको सम्बोधन प्रस्तुत हुने सन्दर्भ पनि प्रस्तुत हुन्छ । यस शब्दले आधुनिक साहित्यको प्रसारको काम गर्ने विद्युतीय माध्यम बनेर आउने ध्वनि तथा दृश्याभिनयका आधारमा प्रक्षेपण गरिने काम हुन्छ भन्ने कुरा बुझिन्छ ।
रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा साइबर विधिद्वारा प्रस्तुत भएको सन्दर्भित साहित्यलाई बुझाउने प्राविधिक शब्दावली हो यो । यसले साहित्यका ध्वन्यात्मक तथा दृश्यात्मक सञ्चार माध्यमले प्रसारण गर्ने भएकाले यहाँ विद्युतीय साहित्यको तहमा प्रस्तुत गरिएको हो ।
साहित्य मानवीय संवेदना र भाव प्रकाशनको कलात्मक माध्यम हो । मान्छेको भावजगत् जुन किसिमको व्यापक र फराकिलो रहन्छ यसको विषय क्षेत्र पनि त्यत्तिकै व्यापक रहन्छ । साहित्यका विविध विधा र प्रविधाले साहित्यको जुनसुकै स्वरूप र शिल्पको अपेक्षा गरेको हुन्छ । यदि यस अनुशासनबाट बाहिर पर्ने हो भने त्यो साहित्यको परिधिमा नै पर्दैन । मानव सभ्यताको इतिहास जति लामो छ साहित्यको इतिहास पनि त्यत्तिकै लामो छ । लिपिबद्ध हुनुभन्दा पहिलेको अवस्थादेखि चल्दै आएको लोकसाहित्य र लिपि निर्माण भएपछि लिपिबद्ध बनेर सृजना भएको साहित्यको परम्परा अत्यन्त सुदीर्घ छ र यसले मानवीय संवेदनाको प्रतिनिधित्व गर्दै आएको छ ।
प्रारम्भमा ईश्वरीय अर्ती र उपदेश, ईश्वर स्तुति र प्रार्थनाबाट आरम्भ भएको लिखित वा सृजित साहित्य वेद हो । उपनिषद्, गीता, पुराण, रामायण तथा महाभारत केन्द्रित ग्रन्थहरू, त्रिपिटक सूत्र, बाइबल, कुरान, हदीशजस्ता कालजयी कृतिको सृजनाले मान्छेलाई पाठ्यसाहित्यतर्फ अभिप्रेरित बन्न निकै सहयोग गरेको अवस्था हो । यस्ता कृतिमा विषयवस्तु, शिल्प र शैलीहरूको संयोजनका कारण लोकप्रियता प्राप्त गर्दै विस्तारित बन्दै गएको स्थिति प्रकाशमा आएको छ ।
साहित्यमा क्रमशः हुँदै आएका यस प्रकारका विकासका कारण साहित्य प्रसारणका माध्यम, रूप तथा शैलीमा पनि परिवर्तनका अनेक रूप देखिन थाले । पाठ्यमाध्यमका रूपमा व्यवस्थित र प्रतिष्ठित बनेको साहित्य सञ्चार तथा सम्प्रसारणका तहमा पनि अनेक माध्यमसँग जोडिएर प्रकाशमा आउन थालेका क्रान्तिकारी सन्दर्भ आएका छन् । यस्ता स्थितिलाई आजको साहित्यले विद्युतीय माध्यमको तहलाई निरूपित गर्ने प्रयास गरेको छ । ध्वनि तरङ्गबाट प्रसारित हुने रेडियो साहित्य, दृश्य तथा ध्वनि तरङ्गका साथ प्रसारित हुने टेलिसाहित्य तथा चलचित्रका माध्यमबाट प्रक्षेपित हुने दृश्यसाहित्य आजका सन्दर्भमा विद्युतीय साहित्यमा पर्ने विषय हुन् ।
साहित्य विषय, क्षेत्र, परिभाषा तथा प्रस्तुति आदि कुनै पनि माध्यमका आधारमा आमसञ्चारको परिधिमा पर्ने विषय होइन परन्तु आमसञ्चारको व्यापक परिधिभित्र साहित्यको अत्यन्त महत्वपूर्ण स्थान भने अवश्य छ । साहित्य समाचार र पत्रकारिता होइन तर समाचार वा पत्रकारिता कुनै न कुनै रूपमा साहित्य नै भइदिन्छ ।
पाठ्यसञ्चारका माध्यममा पाठ्यसाहित्यको अनिवार्य रहेजस्तै श्रव्यदृश्य सञ्चार माध्यममा श्रव्यदृश्य साहित्य अनिवार्य बन्दै आएको छ । यसको कारण के हो भने सञ्चार माध्यमहरू शुद्ध पत्रकारिता र सूचनाका सम्प्रेषक मात्र बनेर जीवित रहन सम्भव हुन्न । यिनले आफ्नो उद्देश्य प्राप्तिका निम्ति साहित्यको गहन भूमिकामा जोडिनु अनिवार्य बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन तथा ज्ञानको प्राप्ति जस्ता विषयको अभावमा विद्युतीय साहित्यको आदर्श पूर्ण हुन सक्दैन ।
विश्वमा १९ औँ शताब्दीको उत्तराद्र्धमा विकसित बनेको चलचित्र प्रविधिले साहित्यका विविध विधामा केही आयाम थप गरेको छ । चलचित्रको आरम्भसँगै महाआख्यान, उपन्यास, नाटक, कथा, कविता, काव्य, खण्डकाव्य, महाकाव्य, जीवनी, गीत तथा प्रगीत, गजल, मुक्तक, रुवाई तथा निबन्ध जस्ता साहित्यका विधा र प्रविधाका आधारमा पर्दा नाटकमा रूपान्तरण गर्न मिल्ने पटकथा लेखनको परम्परा पनि आरम्भ भयो । यसको कारण के हो भने चलचित्र जगत्का निम्ति साहित्यको उपयुक्त पाठ्यविधा वा पाठ्यमाध्यमहरू मात्र आवश्यकता अनुसार सृजना हुने परम्परा त्यति सबल थिएन । त्यसकारण पनि पटकथा लेखनको संंस्कृति विकसित बन्यो ।
चलचित्र माध्यमले विशेष गरी नाट्यसाहित्य र त्यसपछि आख्यान साहित्यलाई निकै हदसम्म अनुकूल ठानेको देखिन्छ । यस प्रकारको विद्युतीय साहित्यमा संवादलेखन पनि चलचित्र अन्तर्गत पर्ने विषय हो र यसले आज अलग विधाको हैसियत लिन लागेको देखिन्छ । चलचित्रको आविष्कारभन्दा पहिले विद्युतीय श्रव्य माध्यम रेडियो आविष्कार भएपछि आरम्भदेखि नै साहित्यका गीत, सङ्गीत, ध्वनि र विज्ञापनका आकर्षक संवेदनालाई सूचना, शिक्षा र ज्ञानको माध्यम बनाएको देखिन्छ । यसो हुँदाहुँदै पनि साहित्यले यस विद्युतीय सञ्चार प्रवाहलाई सञ्चार माध्यमका आधारमा महत्वपूर्ण भूमिका खेल्दै गएको देखिन्छ ।
आख्यान साहित्य सबैजसो विधा र प्रविधालाई विद्युतीय माध्यमद्वारा सफलताका साथ चलचित्राङ्कन गरी लोकप्रिय बनाएर प्रसारण गर्ने परम्पराको सूत्रपात हुनुभन्दा पहिले नै रेडियोमार्फत ध्वनि प्रसारणको परम्पराबाट विधान्तरणको काम आरम्भ भइसकेको हो । पाठ्यसाहित्यमा वर्णन, विम्ब वा प्रतीकद्वारा गरिने विशिष्ट प्रकारका सम्प्रेषण कलालाई यस श्रव्य माध्यममा वाचनका अनेक भावभङ्गीमा आदि पक्ष विभिन्न स्वर विशेषका प्रभावमार्फत प्रभावकारी ढङ्गले रूपान्तरित गर्न सकिन्छ ।
सारमा के भन्न सकिन्छ भने चलचित्र वा टेलिभिजन आदिभन्दा रेडियो साहित्य प्रसारणका कुरालाई काव्य सामग्रीमा रूपान्तरण गर्ने सामग्री हो र अरू विशेष पृथक् यहाँ पाइन्न । अधिकांश पाठ्यसाहित्य गोष्ठीहरूमा सहजै सुनाउन सकिन्छ । यस कारण पनि पाठ्य र श्रव्य प्रयोगमा विशेष तहको भिन्नता भने रहन्न । यस्तै प्रकारको अर्को विद्युतीय माध्यम चलचित्रका तहमा रूपान्तरित तथा दूरदर्शनका सन्दर्भमा पनि समेट्ने शक्ति र सीमाका स्थिति पनि यहाँ छन् । श्रव्य र दृश्य चलचित्रजस्तै अर्को तहको यो दोस्रो रूप टेलिभिजनको प्रसारण चलचित्रकै विकसित तह हो । प्रत्यक्ष प्रसारणको विषयलाई छोडिदिने हो भने चलचित्र र टेलिभिजनको स्वभाव एउटै हो ।
श्रव्य र दृश्य माध्यम तथा घरमै बसेर हेर्न मिल्ने माध्यम भएको हुँदा यो एक सशक्त, प्रभावकारी र लोकप्रिय विधाका रूपमा रहेको देखिन्छ । अझ अरू पनि श्रव्यदृश्य माध्यमका तुलनामा समेत निरन्तर विकसित बन्दै गएको देखिन्छ । यस माध्यममा रङ्गमञ्च आवश्यक नपर्ने र रङ्गमञ्च तथा चलचित्र भवनमा भेला पनि नभइकन पनि अवलोकन गर्न सकिन्छ । यस माध्यममा रङ्गमञ्चको आवश्यकता पर्ने नाटक जस्तो विधाको अत्यन्त सफल प्रयोग भएको देखिन्छ ।
यो रेडियो जस्तो श्रव्यमा रूपान्तरण गरिने विधामा भन्दा अधिकतर प्रभावकारी हुन्छ तर यस प्रकारको माध्यममा उत्कृष्ट दृश्य योजना र परिस्थितिको संयोजनबिना महाकाव्यको दृश्याङ्कन हुन सम्भव नै देखिन्न । महाकाव्यको दृश्यात्मक प्रस्तुति निकै जटिल कार्य हो । श्रव्यदृश्य माध्यम भएका कारण दृश्यपक्षको सशक्त प्रस्तुतिका निम्ति पाठ्यविधामा रचना गरिएको भए मूल रचनाभन्दा केही परिवर्तित र परिमार्जित तहको प्रस्तुति पनि सम्भव छ । विद्युतीय माध्यमबाट सम्प्रेषण गर्दा त्यसको स्वरूप र स्तर पटकथा तथा समग्र निर्देशनको स्वरूप एवं स्तरमा निर्भर रहन्छ । टेलिभिजन
२०औँ शताब्दीको नवीनतम आविष्कार हो र यो माध्यम विद्युतीय माध्यममध्ये पनि सर्वाधिक शक्तिशाली र लोकप्रिय माध्यम हो । यसको वैशिष्ट्य आज विश्वव्यापी बन्दै गएको छ ।
दर्शकमाथि आज टेलिभिजनले गहिरो मोहनी लगाएकाले यसलाई जादुपयोगी बाकस पनि भन्ने गरिन्छ । जुन बाकसको अघिल्तिर बसेपछि मान्छे विमोहित बन्छ र हतपती हलचल पनि गर्दैन । यस प्रकारका विद्युतीय सञ्चारका माध्यमको व्यापकता, लोकप्रियता तथा आक्रामक विस्तारका कारण आज पुस्तक वा पाठ्यसाहित्य पढ्ने प्रवृत्ति कम हुँदै गएको देखिन्छ । यो विषय आफैँमा सत्य वा मिथ्या जे हो अथवा ठिक बेठिक जे हो त्यो भिन्नै बहसको विषय हो ।
कुरा के चाहिँ साँचो हो भने समयको प्रवाहमा चल्न नसक्ने हो भने आजको मान्छे आफैँ पछि पर्ने सम्भावना पनि निश्चित छ । आजको व्यस्त समयमा मान्छेका सामु समय अति महँगो बन्दै गएको छ । यस्तो स्थितिमा छोटो समयमा रोचक र सशक्त ढङ्गले पाठ्य वा दृश्य सामग्रीको प्रभाव पाठकसम्म पुगेरै छाड्छ । यस प्रकारको सापेक्षित सत्यलाई पाठकले आत्मसात् गर्नबाट वञ्चित भने हुनै हुन्न । पाठक, दर्शक वा भावक अब कसैमा पनि भिन्नता देखिन्न । साहित्यकार वा स्रष्टा पाठकसम्म पुग्न हिजोसम्म प्रकाशक मात्रै प्रमुख आधार मानिन्थ्यो त्यो समस्या आज समाधान भएको छ तर रचनालाई विद्युतीय साहित्यमा सम्प्रसारण गर्दा कृति ऊँट भइदिने हो कि भन्ने खतरा पनि बढेको छ ।
विद्युतीय प्रसारण पत्रपत्रिका जस्तो सर्वसुलभ नभएर महँगो पनि छ । यस दृष्टिले पाठक र दर्शकका निम्ति विद्युतीय साहित्य विशेषतः टेलिभिजनका माध्यमबाट प्रसारण गरिने साहित्य अधिकतर रोचक, प्रेरणाप्रद र आकर्षक पनि हुने भएकाले यो रोचक, सशक्त र ज्ञानवर्धक तथा अपठित र असाक्षर भावकका निम्ति पनि मनोरञ्जक हुन्छ भन्ने कुरा पनि सिद्ध भएको छ । यो माध्यम एकातर्फ अवसर र अर्कातर्फ चुनौतीको विषय पनि बनेको छ ।
नेपाली साहित्यका उपन्यास, कथा तथा नाट्यकृति पनि विद्युतीय माध्यमबाट प्रसारण योग्य चलचित्र, टेलिशृङ्खला तथा विभिन्न सामाजिक सञ्जालका रूपमा पनि भावकसमक्ष श्रव्य र दृश्य सामग्रीका रूपमा प्रस्तुत भइसकेका छन् । तिनलाई नेपाली भावकहरूले आत्मसात् गर्ने अवसर लाभ गरिसकेका छन् । बालकृष्ण समको प्रेमपिण्ड नाटक, डाइमन्ड शमशेरको वसन्ती र सेतो बाघ, पारिजातको शिरीषको फूल तथा लिलबहादुर क्षेत्रीको बसाइँ उपन्यास, देवकोटाको मुनामदन काव्य आदि चलचित्रको पर्दामा भावकले देखिसकेका छन् । यसलाई नेपाली सन्दर्भमा विद्युतीय साहित्यको विराट् उपलब्धि मान्न सकिन्छ ।
(स्व. राजेन्द्र सुवेदीको अप्रकाशित रचना । साउन उहाँको जन्म महिना पनि हो ।)
–युवामञ्च