बिकास अधिकारी
पश्चिम नवलपरासी, साउन १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पानी नपर्दा किसानहरू मारमा परेको बताउँदै सिँचाइ सुविधा विस्तारका लागि सङ्घीय सरकारसँग विशेष कार्यक्रम ल्याउन माग गर्ने बताउनुभएको छ ।
आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालको नवनिर्मित ५० शैया भवनको उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवा विस्तारसँगै किसानको समस्या समाधानमा अहिले बढी केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले पानी नपर्दा अझै लुम्बिनी प्रदेशमा धान रोपाइ पूरा नभएको र रोपेको धान समेत सुक्दै गएकाले प्रदेश सरकारको आवश्यकताको आधारमा निर्णय गरेर सङ्घीय सरकारमा पठाउने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “पानी नपर्दा जटिल समस्या उत्पन्न भएको छ, एकातर्फ रोपाइ पूरा भएको छैन, अर्कोतर्फ रोपेको धान पनि सुक्दै गएको छ, यस विषयमा प्रदेश सरकारले छुट्टै निर्णय गरेर सङ्घीय सरकारमा पठाउँछ ।” आचार्यले किसानहरू रासायनिक मलको जटिल समस्याबाट गुज्रिरहेकाले मलको कोटा वृद्धिका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको १३ करोड ६६ लाख रुपियाँको लागतमा दुई तले सुविधा सम्पन्न भवन निर्माण भएको छ । आजबाट अस्पतालमा आँखाको विशेषज्ञ र मिर्गौला पीडित बिरामीका लागि हेमोडाइलासिस सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।