• ११ साउन २०८२, आइतबार

प्रदेशको पुनरसंरचना आवश्यक छ : मुख्यमन्त्री कंडेल

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल ।

मुना हमाल

सुर्खेत, साउन १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुनरसंरचना आवश्यक रहेको बताउनुभएको छ । 

प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिप्पणी हुन थालेको बताउँदै मुख्यमन्त्री कंडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तर्गतका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुनरसंरचना आवश्यता रहेको धारणा राख्नुभयो । 

कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुनरसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफना सरोकारका विषयहरु राख्दा  मुख्यमन्त्री कंडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दे लैजानुपर्ने बताउनुभयो । 

आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कंडेलले प्रशासनिक पुनरसंरचना हुँदा हाल कार्यरत कर्मचारीको बृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिनुभयो । प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरु भयवित नहुन पनि मुख्यमन्त्री कडेलले सुझाव दिनुभयो ।  

मुख्यमन्त्री कंडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउने जानकारी दिनुभयो । उहाँले समयको माग र आवश्कतालाई दृष्टिगत गरी ढिलो चाँडो संरचनाहरु पुनरसंरचना गर्नुपर्ने भएकाले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी रहेको बताउनुभयो  ।