• ११ साउन २०८२, आइतबार

बाँकेमा मलको चरम अभाव

blog

सहकारीमार्फत मल उपलब्ध गराउँदै कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्ज । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, साउन ११ गते ।
खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।

बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताउनुभयो ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय ८०० मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताउनुभयो ।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो ।

मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

आवश्यकता अनुसारको वर्षा नभए पनि जिल्लामा हालसम्म ९०.९ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार सिँचाइ पुगेको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिँचाइ गरी रोपाइँ गर्ने क्रम जारी छ ।

किसानहरुका अनुसार अहिले बाँकेमा धानखेतीको समय हो । त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल युरिया हो । माग अनुसार अनुदानको रासायनिक मल प्राप्त नभएपछि सीमावर्ती क्षेत्रका किसानहरू भारतीय बजारबाट अवैध रूपमा रासायनिक मल ल्याउन बाध्य भएको डुडुवा कम्दीका किसान सुरज मौर्यले गुनासो गर्नुभयो । उहाँले मलको चरम अभावका कारण मल लिन सीमापारि जानुपरेकाले  भारतीय सुरक्षाकर्मी एसएसबीले फेला पर्दा नियन्त्रणमा लिने र अभद्र व्यवहार गर्ने गरेको बताउनुभयो ।

भारत मल ल्याउँदा नेपाली सुरक्षाकर्मीले पनि दुःख दिने गरेको किसानहरूले बताएका छन् । ‘‘मलको अत्यधिक समस्या छ, मल पाइँदा पनि माग अनुसार पाउँदैनौं, मल अभावमा बढी मूल्य तिरेर समेत भारतबाट ल्याउँदा दुवै देशका सुरक्षाकर्मीबाट पीडित हुनुपरेको छ ।’’ नेपालगन्ज जयसपुरका किसान साबिर अलीले भन्नुभयो ।