सुधा देव
सप्तरी, साउन ११ गते । सप्तरीको मालपोत कार्यालय राजविराजको भवन जीर्ण भई चुहिने भएपछि यहाँका महत्त्वपूर्ण कागजात जोगाउन चुनौती भएको छ । पानीले बर्षौ देखिको महत्त्वपूर्ण स्रेस्ताको अभिलेखहरू जोगाउनै मुस्किल भएको हो ।
पानी चुहिने पुरानो र जीर्ण भवनमा कागज राख्नुपर्ने बाध्यता रहेकोले जोगाउन ठुलो चुनौती छ । पानी चुहिएर कति कागज बिग्रिएको अवस्थामा छ । पानी पर्ने सम्भावना हुने बित्तिकै यस कार्यालयका कर्मचारी पानी चुहिने ठाउँमा बाल्टिन थाप्न दौडिनुपर्ने बाध्यता रहेको कर्मचारीहरू बताउँछन् । तामेली फाँटका प्रमुख कमलदेव मण्डलले एक त कागज राख्नै समस्या अर्को चुहिने भएपछि कागज जोगाउन त झन् ठुलो चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मालपोत कार्यालय र कर्मचारी मिलन केन्द्रमा गरी पाँच वटा कोठामा कागज छ । अब कहाँ राख्ने भन्ने विषयमा चिन्ता लागेको छ ।’
कार्यालयको दोस्रो र तेस्रो तल्लाको दुई, दुई वटा कोठामा २०६३ सालदेखि हालसम्म कागज राखिएको छ भने कर्मचारी मिला केन्द्रको भवनमा वि.सं. १९६८ देखि २०६३ सम्मको कागज राखिएको छ । मालपोत कार्यालय तथा कर्मचारी मिलन भवन गरी पाँच वटै कोठा भरि कागज बाँधेर राखिएको छ । कुना कुना भरिएको छ कुनै ठाउँ बाँकी नरहेको कार्यालयका कार्यालय प्रमुख भुपेन्द राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कागज खोज्नै मुस्किल छ । एउटा कागज खोज्नु परेमा निकै समय खर्चिनु पर्ने बाध्यता छ । कोठाहरूमा दराज भएको भए र दराजमा कागज मिलाएर राख्न पाएको भए यस्तो समस्या कर्मचारीले भोग्नु पर्ने थिएन ।’
कर्मचारी मिलन केन्द्र रहेको जग्गामा सङ्घीय सरकारले जिल्ला तथा उच्च बारको भवन बनाउन चिठी लेखेपछि कागज राख्न झन् चुनौती थपिएकोले यस विषयलाई गम्भीर रूपमा लिएर स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायले चासो देखाउनुपर्ने जरुरी रहेको प्रमुख राईले बताउनुभयो ।