काठमाडौँ, साउन ११ गते । एथलेटिक्स सङ्घका असन्तुष्ट पदाधिकारीले राजीव विक्रम शाहको तदर्थ कमिटीमा रहेको नेपाल एथलेटिक्स सङ्घको निर्वाचन नगराउन माग गरेका छन् ।
सङ्घका महासचिव धनवीर चौधरीसहितका सरोकारवालाले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन माग गरेका हुन् ।
सरोकारवालाहरुले सङ्घविरुद्ध उच्च अदालत पाटनमा दायर भएको रिटको फैसला र निष्पक्ष छानबिन नसकिएसम्म निर्वाचन हुन नसक्ने पनि बताएका छन् । उनीहरुले शाहको नेतृत्वले यही साउन १४ गते सङ्घको निर्वाचन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पछिल्लो समय २०८२ साल वैशाख १५ गते शाहको संयोजकत्वमा सङ्घको तदर्थ कमिटी गठनगरी सोही कमिटीलाई तीन महिनाभित्र सङ्घको निर्वाचन गर्न निर्देशन दिएको थियो ।
सरोकारवालाहरुले शाह संयोजक रहेको सङ्घको तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ अनुसार राखेपबाट विधान स्वीकृत नगराई निर्वाचन गर्न लागेको पनि बताएका छन् ।
उनीहरुले शाह नेतृत्वले सङ्घमा लामो समयदेखि आर्थिक अनियमितता गर्दै आएको आरोप लगाए ।