• ११ साउन २०८२, आइतबार

जनसङ्ख्या वृद्धिको चाहना

blog

कुरो २०४० देखि २०४५ सम्मको हो । जति बेला हामी ‘दुई मात्र सन्तान : ईश्वरको वरदान’ अथवा हामी दुई हाम्रा दुई भन्ने नारा लगाउँदै मुलुकका विभिन्न भागमा पुग्थ्यौँ । अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घको शाखाका रूपमा नेपालमा गैरसरकारी संस्था नेपाल परिवार नियोजन सङ्घ र अमेरिकी विशेष सहयोगमा ‘परिवार नियोजन तथा मातृ शिशु कल्याण योजना’ सरकारी संस्थाका रूपमा कार्यरत थिए । त्यतिखेर एक दम्पती पाँच सन्तती भनेको उखान चरितार्थ गर्दै एकै दम्पत्तीबाट सरदर छ वटासम्म बच्चा जन्मन्थे । जति धेरै बच्चा जन्मन्थे उचित स्याहारसुसार नपाएर शिशु मृत्युदर पनि त्यत्तिकै बढी थियो । 

देशलाई के डर थियो भने यसै गरी जनसङ्ख्या वृद्धि हुने हो भने देशले धान्न सक्दैन । जनसङ्ख्या वृद्धिदर वार्षिक २.६ प्रतिशत थियो । अर्थात् यस वर्ष एक लाख  जनसङ्ख्या थियो भने अर्को वर्ष एक लाख दुई हजार छ सय पुग्दथ्यो । करोडको हिसाब गर्दा एक करोड दुई लाख ६० हजार पुग्थ्यो । समयसापेक्ष  जनसङ्ख्या नियोजन अनिवार्य थियो । पङ्क्तिकार पनि त्यतिखेर नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय सदस्य भएको नाताले देशका विभिन्न भागमा परिवार नियोजनको प्रचारप्रसारमा सक्रिय रहन्थ्यो । कतिपय गोष्ठी बैठक आदिमा हामी किन गर्ने परिवार नियोजन ? हाम्रा सन्तान तिमीहरूले पालिदिनु परेको छ र भन्ने आक्रामक अभिव्यक्ति सुन्नु पर्दथ्यो ।

समय परिवर्तनशील छ, यसरी  जनसङ्ख्या बढ्दै जाने हो भने कुनै दिन विश्वले धान्न सक्दैन भन्ने अवधारणा थियो । यसै भएर सम्पन्न राष्ट्र र कतिपय संस्थाले परिवार नियोजनको क्षेत्रमा सहयोग गर्ने गरेका थिए । नेपालले पनि  जनसङ्ख्या वृद्धि नियन्त्रण अर्थात् परिवार नियोजनमा सक्दो प्रयास गरेको थियो । समय परिवर्तन भयो, पहिले सन्तानलाई सीमित मात्रामा राख्न अनुरोध गर्नु पथ्र्यो तर अव धेरै सन्तान जन्माउन उत्प्रेरित गर्नुपर्ने अवस्था आएको छ । लुम्बिनी प्रदेशको एउटा नगरपालिकाले तेस्रो सन्तान पाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । यसरी परिवार नियोजनको सान्दर्भिकता इतिहासमा सीमित हुन पुग्यो ।

‘कम सन्तान’ अहिले विश्वको चाहना भएको छ । त्यसो त केही मुलुकमा कम सन्तानको चाहना निकै वर्षअगाडि नै प्रारम्भ भइसकेको हो । सिङ्गापुरको एउटा घटना उल्लेख गरौँ – त्यहाँ बिहे गर्ने, सन्तान जन्माउने कुराबाट युवापुस्ता टाढिँदै गयो ।  जनसङ्ख्या निकै घट्न थालेपछि सरकारले बिहे गर्ने उमेरका ३० जोडी केटाकेटी छान्यो र १५ दिनको विदेश भ्रमणमा पठायो । सरकारको सोचाइ थियो, १५ दिनसम्म सँगै भएपछि उनीहरूमा प्रेम पलाउला र बिहे गर्लान् । परिणाम अपेक्षा अनुसार भएन । जम्मा एक जोडीले मात्र लगानीको प्रतिफल दिए, अर्थात् एक जोडीले मात्र बिहे गरे । त्यो परम्परा अहिले विश्वका कतिपय भागमा विस्तार हुँदै गएको छ ।

चीनमा कुनै बेला उच्च जन्मदर भयो र  जनसङ्ख्या वृद्धि नियन्त्रण भन्दा बाहिर गयो भनेर ‘एक दम्पती एक सन्तान’ को अवधारणा सरकारले कडाइका साथ लागु ग¥यो । अनि छोरा चाहिने चिनियाँ सोचाइ अनुसार छोरी जन्मी भने के गर्ने भनेर गर्भमा नै छोराछोरी पत्ता लगाएर छोरी ठहरिए गर्भपतन गराउने क्रम बढ्दै गयो । अहिले बिहेका लागि चीनमा दुलही पाउन गाह्रो भइसकेको छ । अनि जन्मदर नियन्त्रण होइन सन्तान प्राप्तिलाई प्रोत्साहन गर्न थालिएको छ । तीन सन्तान जन्माउनेलाई बढी भत्ताको व्यवस्था सुरु भइसकेको छ । हुन पनि पहिले  जनसङ्ख्यामा एक नम्बर बन्दै आएको चीनलाई भारतले उछिनेको छ । सबैभन्दा डरको विषय के हो भने बच्चा कम जन्मने र युवापुस्ता घट्दै जाने ।

बुढाहरूको सङ्ख्या बढ्दै गयो भने काम गर्ने कसले ? अनि  जनसङ्ख्या र विकासको असन्तुलन बढ्दै जान्छ । जहाँ बुढाको सङ्ख्या बढ्दै जान्छ, उनीहरूको स्याहारसुसार गर्न ‘केयर गिभर’ आवश्यक पर्ने र ‘केयर गिभर’ लैजाने मुलुक थपिँदै गएका छन् । इजरायलमा नेपाली ‘केयर गिभर’ को सङ्ख्या हजारौँमा छ । अरू मुलुकको के कुरा नेपालकै  जनसङ्ख्या असन्तुलित हुँदै गएको छ । काम गर्ने उमेरका धमाधम बिदेसएका छन् । 

अघिल्लो वर्ष २०७८ सम्मको जनगणनको तथ्याङ्क प्रकाशित गरियो । सोचिएको थियो तीन करोडभन्दा  जनसङ्ख्या नाघ्ने छ तर परिणाम तीन करोड नाघेन । बिस्तारै बिस्तारै नेपाली युवापुस्ता पनि बिहे नगर्ने, बिहे गरे पनि उमेर पाकेपछि गर्ने, अनि एक मात्र सन्तान छोरो होस् वा छोरी, त्यसैमा सन्तोष गर्ने परम्परा बस्न थालेको छ । एउटा मात्र भए पनि मायाको भाँडो ठानेर चित्त बुझाउने, त्यसभन्दा बढी भएमा हुर्काउने र पढाउने खर्च धान्न गाह्रो पर्ने कुरामा युवा वर्ग सचेत बन्दै गएको छ । हालै  जनसङ्ख्या नीति प्रकाश गर्ने सन्दर्भमा प्रधानमन्त्रीले २० वर्षमा बिहे गर्ने र ३० वर्ष उमेर पुग्दासम्म तीन वटा सन्तान जन्माउने सल्लाह दिनुभयो । प्रधानमन्त्रीको सल्लाह कार्यान्वयन होला भन्न सहज छैन । २०७८ को जन्मदर अपेक्षा गरेकोमा १.९ मा सीमित भएको छ । यसले जन्मदरमा कम हुने सङ्केत गरेको छ भने बागमती र गण्डकी जस्ता प्रदेशमा त अझ न्यून प्रजनन दर रहेको छ । 

अर्को पक्ष २०५८ को जनगणनामा सन्तान जन्माउने सरदर उमेर २२.९ वर्ष रहेकोमा २०७८ मा आइपुग्दा २५.६ मा उक्लिसकेको छ । यस अर्थमा महिला ढिलो विवाह गर्ने र कम बच्चा जन्माउनेतर्फ लागेको देखिन्छ ।

हालै सरकारले  जनसङ्ख्या नीति प्रकाशमा ल्याएको छ । यसअघि दुइटासम्म सन्तान जन्माउनेले सरकारी सुविधा प्राप्त थियो बढीलाई सुविधा दिइँदैनथ्यो । अहिले आएर प्रजनन दर बढाउने नीति लिएको छ । सरकारी नीतिले कुनै राम्रो परिणाम ल्याउला शङ्का गर्ने प्रर्याप्त आधार छन् । सन्तान कति जन्माउने यो दम्पत्तीको इच्छामा निर्भर रहने कुरा हो । सोचाइको परिवर्तनले एउटै मात्र सन्तानमा सीमित रहने अवस्था आएको छ । बच्चा हुर्काउने स्तर सकेसम्म राम्रो राख्ने इच्छा हुन्छ, हुर्केपछि राम्रो स्कुल पढाउने रहर हुन्छ, त्यसका लागि आर्थिक अवस्थाले ठुलो भूमिका खेल्छ । थप दायित्व लिनुको सट्टा एक सन्तानमा चित्त बुझाउनेको सङ्ख्या बढ्दै गएको छ । सरकारले नीति बनाएको भरमा  जनसङ्ख्या बढ्छ भन्ने अपेक्षा नगरौँ । आशा चाहिँ के गरौँ भने सरकारको नीतिले कार्य रूप लेओस्– सन्तानले डाँडाकाँडा ढाकुन् । जबकि डाँडाकाँडा रित्तिँदै गएका छन् ।