अमरराज नहर्की
तनहुँ, साउन १० गते। गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि स्वागत गर्दै तनहुँमा खुशीयाली मनाइएको छ।
दीप प्रज्ज्लन गरी प्रदेश सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाइएको हो। तमु विद्यार्थी छोज धिं तनहुँ, नेपाल मगर सङ्घ तनहुँको आयोजनामा दमौलीमा दीपप्रज्ज्वलन गरिएको थियो।
व्यास नगपालिका वडा नम्बर-६ का वडाध्यक्ष जीवन गुरुङले सङ्घीयताले गर्दा प्रदेश सरकार स्थापना भएकोले यहाँको भाषा, सस्कृतिको संरक्षणमा टेवा पुगेको बताउनुभयो।
नेपाल मगर सङ्घ तनहुँले शनिबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ।
सङ्घका अध्यक्ष खड्गसिंह थापामगर र सचिव केहरसिंह आलेमगरद्वारा जारी सयुक्त विज्ञप्तिमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक संघीय लोकतान्त्रिक गणतान्त्रिक देश नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रदेश सरकारी काजकाजको भाषा नेपाली भाषाको अतिरिक्त अन्य राष्ट्रभाषा बनाउन पाउने व्यवस्था भएकोमा खुशी व्यक्त गरिएको छ।
भाषा आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारको कामकाजी भाषा बनाउन सिफारिस गरेको स्मरण विज्ञप्तिमा गरिएको छ। २०८२ असार २४ गते बसेको गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको बाईसौं बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत पारित गरेको स्मरण गरिएको छ।
समावेशिता र सङ्घीयताको आधारशिला थप मजबुद बनाउने एक महत्वपूर्ण ऐतिहासिक कार्यका लागि साथ सहयोग गर्नमा प्रत्यक्ष परोक्ष भूमिका निभाउनुहुने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, अर्थमन्त्री, गण्डकी प्रदेश सभाका सभामुख, उपसभामुख, प्रमुखदलको नेताप्रति धन्यवाद ज्ञापन गरिएको छ।
यसगरी सबै दलको नेता, सचेतक, प्रदेशसभा सदस्य, भाषा आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, विषय विज्ञ, आईपिज फोरम, आइपास, सङ्घको गण्डकी प्रदेश समिति र कास्की जिल्ला समिति लगायत सबै अभियानमा तथा सहयोगीलाई धन्यवाद तथा आभार व्यक्त गरिएको छ।