• ११ साउन २०८२, आइतबार

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु

blog

तेहरान, साउन १० गते । इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ । न्यायपालिकाद्वारा सञ्चालित मिजान अनलाइनले घटनामा पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको समाचार सार्वजनिक गरेको छ ।

घाइतेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । प्रान्तीय मुख्य न्यायाधीश अली मोवाहेदी-राडलाई उद्धृत गर्दै मिजानले पछि घाइतेको सङ्ख्या २२ पुगेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको बताउनुभएको छ । आगन्तुकको भेषमा भवनभित्र पस्न खोजेका र विष्फोटक पहिरनधारी तीनै जना बन्दुकधारीको मृत्यु भएको उहाँले बताउनुभयो । 

“इस्लामिक रिभोल्युसनरी गार्ड कोरको लडाकु दस्ता (कुद्स) मुख्यालयले घटनामा तीन जना आतङ्ककारी मारिएको पुष्टि गरेको छ,” उहाँले भन्नुभयो । मृत्यु हुनेहरूमा अदालतको सुरक्षा गरिरहेका तीन जना कानुन प्रवर्तन सदस्यहरू पनि थिए र उनीहरू अदालतको सुरक्षार्थ खटिएका थिए । सिस्तान-बलुचिस्तान प्रान्तका प्रहरी सहकमान्डर अलिरेजा दलिरीका अनुसार आक्रमणकारीले भवनमा ग्रिनेड प्रहार गरेका थिए ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणको केही समयपछि पाकिस्तानमा रहेको तर इरानमा सक्रिय बलोच जिहादी समूह अरबी भाषामा जैश अल अदल भनिने ‘आर्मी अफ जस्टिस’ ले आक्रमणको जिम्मेवारी लिएको छ । राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो अशान्त प्रान्तको पाकिस्तान र अफगानिस्तानसँग लामो सीमा जोडिएको छ ।

उक्त क्षेत्रमा आइआरजिसीलगायत इरानी सुरक्षा बल, बलुच अल्पसङ्ख्यकका विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबिच पटक-पटक भिडन्त हुने गरेको छ । यस क्षेत्रको भएको सबैभन्दा घातक घटनाहरूमध्ये पछिल्लो एक अक्टोबरमा भएको घटनामा १० जना प्रहरी अधिकारीहरू मारिएका थिए । अधिकारीहरूले उक्त आक्रमणमा पनि ‘आतङ्कवादी’ संलग्नता रहेको बताएका थिए । रासस/एएफपी