राममणि दाहाल
मकवानपुर, साउन ११ गते । मकवानपुर मनहरी गाउँपालिका-७, रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइतेभएका छन् ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना. ६ ख. ३०४० नं. को ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै बा.प्र.०३–०४ प. ११६२ नं.को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा भरतपुर महानगरपालिका ११ का वर्ष ५१/५२ का मोतीबहादुर क्षेत्रीको आइतबार दिउँसो मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते हुनुभएका क्षेत्रीलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारको क्रममा दिउँसो १५ः२० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका-९, सरतपुर बस्ने वर्ष ३६/३७ की नरमाया गुरूङको दाहिने खुट्टा, हात, टाउँको र अनुहारमा चोट लागेर घाइतेभएको र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीका वर्ष ३५ का अशोक यादवलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले नियन्त्रणमा लिएको छ ।