चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो।
सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा ढङढङ्गे झरना रहेको छ। पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास तथा स्थापित भइरहेको उक्त ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सञ्जाल प्रयोगकर्तालाई वडा कार्यालय लिम्बूले नगदसहित सम्मान गर्ने भएको हो।
वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत उत्कृष्ट फोटो, भिडियो र टिकटक सामग्री बनाई ढङढङ्गे झरनाको प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गर्ने उल्लेख गरिएको छ। लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो सामग्री निर्माण गरी प्रचार गर्ने एक जनालाई २० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिने भएको छ।
वडाध्यक्ष लिम्बूका अनुसार ढङढङ्गे झरना र सो क्षेत्रको रमणीय दृश्य समेटिएको कम्तीमा एक मिनेटको उत्कृष्ट भिडियो सामग्री बनाई प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता, व्यक्ति, पेज वा समूह (ग्रुप) लाई छनोट गरी पुरस्कृत गरिने छ। ढङढङ्गे झरनाको प्रवद्र्धन र थप विकास गर्नमा टेवा पु¥याउने उद्देश्य राखेर ढङढङ्गेको प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गर्न लागिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो।
यता पुरस्कारका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताले आउँदो साउन २५ गतेसम्म आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको ढङढङ्गे झरनासम्बन्धी भिडियो सामग्री वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने छ। तोकिएको समयावधिभित्र उपलब्ध गएका भिडियो सामग्रीमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने वडा कार्यालयले जनाएको छ। पछिल्लो समय ढङढङ्गे झरना अवलोकन गर्न जाने पर्यटकको भीड बढ्दै गएको छ।