• ११ साउन २०८२, आइतबार

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि ...

blog

कालीबहादुर थापा 

अदानचुली (हुम्ला), साउन  ११ गते ।  कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,“ कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ।   उनीलाई आफन्तले कुष्ठरोगी भने पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर  उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ । ”


स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा. तिवारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा  शारीरिक रूपले अपाङ्गता जस्ता भएका छन् ।  साथै हातखुट्टाका औँला बाङ्गो छन्भने हिँडडुल गर्न पनि कठिन छ । घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेका जनाइएको छ ।

 छाउगोठमा बस्दा उनीले  उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए । रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य हुुनुभएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताउनुभयो । उहाँको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरत्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् ।  रासस