• ११ साउन २०८२, आइतबार

मृत्युको चाबी (कथा)

blog

“तँ मर्ने हो, लक्ष्मी ?”

“नाइँ, म मर्दिनँ, आफ्नो इच्छामा पनि मर्न पाइन्छ र प्रभु ?” “तँ सिरियस बिरामी परेको सूचना हामीकहाँ आइपुग्यो । त्यसैले हामी सोधखोज गर्दै आएका हौँ ।” लामा लामा सिङ भएको खैरो भैँसीमाथि चढेर यमराज मेरो सामुन्ने खडा भए ।

“प्रभु ! श्रीमती र म देश देशावर घुम्ने भनेर बनाएको लिस्ट लामो छ । जागिर भन्दाभन्दै कतै जान पाएको छैन । दानधर्म केही गर्न भ्याएकै छैन । छोराछोरी हुर्केर पढेर बिहेदान गरेर नातिनातिना हुर्काउन पनि बाँकी छ । कता मर्ने अहिल्यै ?” म यमराजको गोडामा छाँद हाल्न पुगेँ ।

“चित्रगुप्त, यसको आयुरेखा कस्तो छ ? नानाभाँती गर्न बाँकी छ, भन्छ । भ्याउँछ त यसले ?” यमराजले चित्रगुप्ततर्फ फर्कंदै सोधे ।

“प्रभु !” म चित्रगुप्तको गोडा ढोग्न पुगेँ ।  

“यसलाई एक पटक माइल्ड हर्ट अट्याक भएछ । मुटुमा रगत जाने नसाहरू थुनिएर यसको आयुरेखा बिचमा चुँडिएला जस्तो भएको छ । यसले स्टेन राखेन । डाक्टर भगवान् कोइराला, अनिल भट्टराई, ओममूर्ति अनिल र सूर्य देवकोटाले चौरासी पूजा गर्नुपर्छ भन्दै यसलाई बचाउन खोजेका छन् । मुटुको बाइपास सर्जरी गर्ने भनेर यसले डाक्टर भगवान् कोइरालाको टाइम लिएर बेडरेस्टमा बसेको छ । डाक्टरहरूले राम्रोसँग अपरेसन गर्न सके भने त हामीले यसलाई लैजान सक्दैनाैँ, प्रभु ।” चित्रगुप्तले ढड्डा खोलेर हेर्दै भने ।  

“उसो भए, डाक्टरहरूसँग हामीले युद्ध गर्नुपर्ने भयो त यसलाई लैजान ?” यमराजको स्वर रुखो थियो । 

“डाक्टरहरू त पहिलेदेखि नै हाम्रा दुस्मन हुन् नि, प्रभु ।” मलाई लत्याउँदै चित्रगुप्तले जानकारी दिए । 

“डाक्टर साप । मलाई बचाउनु होस् ।” म यमराजलाई छोडेर च्याठिएँ ।

“के भयो बाबा ? प्रेसर बढ्यो कि क्या हो ।” छोराले प्रेसर नाप्यो । प्रेसर त बढेर कता पुगेछ, कता । तनाव नलिइकन आराम गर्नुस् भन्यो । के के सोच्नु हुन्छ के के । स्टेथिसकोप राख्दै छोराले पिर गर्‍यो ।

मुटुको बाइपास सर्जरी गर्ने पालो लिएर बेडरेस्टमा बसेको दुई हप्ता भइसकेको थियो । दिनहरू, लामा, शून्य थिए, उराँठलाग्दा र सौन्दर्य हराएको फूल झैँ । आफ्नो घरभित्र दिन कटाउन यति साह्रो मुस्किल मलाई पहिले कहिल्यै भएको थिएन । बेडरेस्टमा फुर्सदै फुर्सदमा हुन्थेँ । मनमा जीवनका पुराना यादहरू र अपरेसनपछि बाँचिएला कि नबाँचिएला भन्ने कल्पना चलचित्रमा झैँ नाचिरहन्थे । म सकारात्मक सोचेर हल्का महसुस गर्न खोज्दथेँ । नकारात्मक सोचहरूको हुरी आउँथ्यो र सकारात्मक भावनालाई उडाएर कता पुर्‍याउँथ्यो कता ?  

“बाबा, कस्तो छ ?“ स्कुलको झोला राखेर छोरी सोध्न आइपुगिन् । 

“शरीर थाकेर होइन, मन भाँडिएर सकस भयो, नानु । यो मन छिनमा आकाश, छिनमा पाताल पुग्छ । मन नभएको भए माया, ममता, डरसर, लोभईष्र्या, रिसराग, रोमान्स पनि हुँदैनथ्यो होला ।” मैले छोरीलाई ढाँट्न सकिनँ ।

श्रीमती कलेजबाट फर्केर मसँगैको खाटमा बसिन् । छोरी मसँगै टाँसिइन् । छोरा पनि युएसएमएलई तयारी पढन छोडेर आयो । हामी सबै बसेर गफ गर्न थाल्यौँ । म फिस्स हाँसे । उनीहरू पनि हाँसे । 

“हो, बाबाले सम्झनेभन्दा बिर्सने क्षमता विकास गर्नु पर्छ । बिर्सन र हाँस्न सिक्नूस् । बिर्सने क्षमताले मान्छेलाई चिन्तामुक्त गर्छ । पिर गर्ने भनेको आफ्नो नियन्त्रणमा भएको विषयमा मात्रै हो । आफूले केही गर्न नसक्ने, आफ्नो नियन्त्रणमा नभएको विषयमा सोचेर चिन्ता गर्नु हुँदैन । लिभ द मुमेन्ट, बाबा ।” म हाँसेको देखेर छोराछोरी रमाए । “बाबु, तिम्रो डाक्टरी विद्यामा निन्द्रा लाग्ने औषधी जस्तै सबै बिर्साइदिने कुनै औषधी छैन ?” मैले जिज्ञासा राखेँ । 

“म एमडी, फेलोसिप रिसर्च गर्छु । अनि हजुरलाई जवाफ दिन्छु ।” छोराले सम्झाउँदै भन्यो । 

निष्पट्ट अँध्यारो । रात छिप्पिसकेको थियो । निदाउन नसकेर म बार्दलीमा गएँ । रोग बोकेर वा जीवनको मूल्यह्रास भएपछि बाँच्ने रहर गर्नु मूर्खता रहेछ । आकाशतर्फ फर्किएँ । बादलसँग जूनतारा जिस्किरहेका थिए । छिनमा चन्द्रज्योति देखिने र हराउने भइरहेको थियो । कुनै समयमा म कस्तो रोमान्टिक कविता कोर्थें, यतिखेर । तर आज, थाकेको मन लिएर म सिर्जनाका अङ्कुरहरूमाथि उभिएको थिएँ । “हजुर बाहिर हुनु हुँदोरहेछ । म भित्र खोजिरहेको ।” निरन्तर मेरो निगरानी राख्ने श्रीमतीको मायालु स्वरले मलाई ऊर्जा दियो । 

“जूनताराको लुकामारी हेर्दै बसेको । हेर कस्तो रमाइलो !” मैले श्रीमतीको काँधमा हात राख्दै भने । उनी मसँग लपक्क टाँसिइन् । शरीरमा महकताले ढपक्क छोप्यो । “जाऊँ भित्र, चिसो हुन्छ ।” 

म श्रीमतीको पछि पछि भित्र लागेँ । उही खाटमा पल्टिएँ । उही तर्कनाको जेलमा पौडिन थालेँ । श्रीमती निदाएको स्वास मसम्म आइरहेको थियो । मैले निदाउने कोसिस गर्दै नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका देवी मन्दिरहरू सम्झन थालेँ– पाथीभरा, छिन्नमस्ता, जानकीमाई, गढीमाई, गहवा माईस्थान, चुरियामाई, भुटनदेवी, मनकामना, गोरखकाली, मौलाकालिका, विन्धवासिनी, वाराही, वाग्लुङ कालिका, सुपा देउराली, वागेश्वरी, त्रिपुरासुन्दरी, उग्रतारा, शैलेश्वरी, वडिमालिका... एक्कासि बिहान बिउँझिएँ । बिउँझँदा ज्यानमा थोरै तागत आएको थियो ।  तर्कनाहरू बगैँचामा पुतली नाचे झैँ नाचिरहेका हुन्थे, एकपछि अर्को । अपरेसनपछि सञ्चो भएर रोगमुक्त हुन्छु होला तर मनमा मर्ने डरको मात्रै बास छ । मृत्यु टार्न सकिँदैन । जान्दाजान्दै पनि डराइरहेछु । म यसो खाटमा पल्टिएँ । भित्तामा भुन्डिएको परिवारसँग हाँसिरहेको फोटो हेरिरहेँ । हेर्दाहेर्दै फुत्त मेरो तस्बिर खस्यो र हरायो । धत् के भएको यस्तो अलच्छिन् । चिट चिट पसिना आयो । जुरुक्क उठेँ । मुटु ढुकढुक गरिरहेको थियो । अर्को हर्ट अट्याक होला भन्ने डरले थरथर काँपेँ । 

मायाजालमा बेरिएको मन रुन्छ । आँसु बनेर बग्दा पनि पीडा सिद्धिँदो रहेन छ । जीवनभर सँगै बाँच्ने सँगै मर्ने वाचा गरेकी श्रीमती एक्लै हुन्छिन्, एउटा पिर । छोराछोरीले बाबा नरहेपछि दुःख पाउने छन्, अर्को पिर । सोच्दासोच्दै उनीहरूको मलिन अनुहार आँखा वरिपरि आउँथ्यो । मनमा उठेका भावहरू बोलेर भन्न सक्दिनथेँ । लेख्ने गर्थें । लेखेपछि मन केही शान्त पनि हुन्थ्यो ।  

प्रिय बुनु, 

अनुपम र अटुट माया । तिमीलाई छातीमा टाँसेर कति कति कुरा भन्न मन लाग्छ । सक्दिनँ । तिमीसँग रमाउने रहरहरूको खातैखात छ । बिहे गर्ने बित्तिकै छोराछोरी जन्मे । आफ्ना रहरहरू थाँती राखेर हामी उनीहरूको भविष्य बनाउन समर्पित भयौंँ । तिस वर्षदेखि साँचेका रहरहरू धरापमा परेका छन् । सरकारी जागिरको थोरै पैसामा रमाउनुपर्ने बाध्यतामा मैले तिम्रा भावना बुझेर तिमीलाई धेरै खुसी दिन सके जस्तो लागेको छैन । रमाइलो गर्नुपर्ने मान्छे तिमी, मेरो समस्या बुझ्दथ्यौ र सधैँ बलिदानी सहयोग गर्दथ्यौ । 

हामी एकअर्काको काखमा मर्ने रहर गर्दथ्यौँ । म तिमीभन्दा धेरै बाँच्ने जिद्दी गर्दथेँ । बिहेको सातफेरो घुम्दा पण्डितसमक्ष हामी दुवैले एकअर्काले एकअर्कालाई खुसी राख्ने कसम खाएका थियौँ । मुटु अपरेसनको जोखिमले मलाई दिनदिनै मारिरहेछ । “प्रिय, म हार्ने भएँ, माफ गर ।” मैले तिम्रो ऋण तिर्न नसक्ने भएँ । अर्को जुनी पाए तिरौँला । 

म मरेँ भने तिमी एक्ली हुनेछौ । तामाका मुना जस्ता सुशील छोराछोरी छन् । मलाई बिर्सिएर उनीहरूसँग रमाउने छौ । उनीहरूको साथको जिन्दगी सुखमय हुने छ भन्ने मैले आशा गरेको छु । म तिमीसँग यस्ता सबै कुरा सेयर गर्न सक्दिनँ । तिम्रो मुख निन्याउरो देख्नासाथ मन पाकिएर आउँछ । भन्न नसकेर लेख्ने गरेको छु । 

प्यारा बाबु नानी, म मरेँ भने पनि दुःख नमान्नू । साहसी र निडर मामु छिन् । पिर गर्नु पर्दैन । तिमीहरू अनुशासित बन्नू, राम्रोसँग पढ्नू, उन्नति गर्नू र मामुलाई रुनुपर्ने कुनै काम कहिल्यै पनि नगर्नू । भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरून् । 

तिमीलाई सदा माया गर्ने तिम्रो जीवन सहयात्री 

आफैँले लेखेको पढ्दा आफैँलाई भतभती पोल्दथ्यो । आँखाहरू रुन थाल्थे । आँखा चिसा देखेपछि छोराछोरीको प्रश्नहरू ओइरिन्थे– “फेरि रुनु भएको ?”

म चुपचाप सुनिरहन्थेँ ।  

“बाबा, बिरामी आफैँ पनि रोगको डाक्टर हो । के खाने ? कति खाने ? कति पिर लिने ? आशा, धैर्य, आत्मविश्वास, मन नियन्त्रण र सकारात्मक सोच बिरामीले आफैँलाई गर्ने उपचार हुन् । डाक्टरहरूले प्राविधिक पक्षमा परीक्षणको आधारमा उपचार गर्छन् । बिरामीले गर्ने उपचार आत्मिक र आध्यात्मिक चिन्तन हो । बिरामी र डाक्टरको उपचारको सम्मिश्रणले उपचारलाई गति दिन्छ । उपचार आशानुरूप हुन्छ । छिटो निको हुन्छ ।” छोराले सम्झाउँदै गर्दा म प्रभावित भएँ । 

“ऋषिमुनिहरूले तपस्या गर्ने भनेको मन नियन्त्रण गर्ने ध्यान त हो नि । ध्यान गर्ने निरन्तर अभ्यासले मन स्थिर हुन्छ ।” छोरी पनि सम्झाउन आइपुगिन् । 

“छोराछोरी, मान्छे साना तर कुरा गहकिला, धैर्य हिमाल जस्तो अटल ।” श्रीमतीले छोराछोरीको प्रशंसा गर्दै भनिन् । 

झ्यालबाट एक झोक्का हावा आयो । पर्दाहरू बेस्सरी हल्लिए । कोठा चिसो भयो । बिरामी छु भन्ने मेरो सोच सेकेन्डभर हट्यो । म आनन्दको सागरमा खसेँ । 

दिनहरू एकपछि अर्को गर्दै बाइपास सर्जरी गर्ने दिन भेट्टाउन पुगे । म महाराजगन्जको टिचिङ हस्पिटल मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट हस्पिटल भर्ना भएँ । जाँच पड्तालको लर्को लाग्यो । अपरेसनपूर्व गरिने पल्मुनरी फङ्सन टेस्ट (पिएफ्टी), फुक्न लगाएर फोक्सोको अवस्थाको टेस्ट, इसिजी, कार्डियाक कम्प्युटेड टोमोग्राफी (सिटी) स्क्यान, अल्ट्रासाउन्ड, छातीको एक्सरे, भेन म्यापिङ, स्ट्रेस टेस्ट सबै भए । नर्सले ब्लड टेस्ट गर्न पाखुरामा घोचेर रगत निकालिन् । मैले टेस्टका लागि पिसाब बट्टा राखेँ । नर्सले दाहिने हातमा सुई रोपेर क्यानुला बनाइन् । छातीसँग इसिजिका तारहरू जोडिन् । ब्लड प्रेसर हेर्न पाखुरामा फ्यासफ्यासे बेरिन् । अक्सिजन हेर्न चोर औँलामा क्लिप जोडिन् । ज्वरो नाप्न काखीमा थर्मामिटर घुसारिन् । म तारैतारको जालोमा बाँधिएँ । मनिटरमा अङ्क र ग्राफहरू हतारो गर्दै देखिन आइपुगे । सबै टेस्टहरूले अपरेसन गर्न हरतरहले स्वस्थ भएको पुष्टि गर्दै थिए ।  

अपरेसनको अघिल्लो दिन साँझ जुनियर डाक्टरको एक हुल आयो । ड्युटीका नर्सहरू वरिपरि थुप्रिए । 

“साँझ सात बजे जाउलो खाएपछि केही नखाइकन बस्नुहोला । बिहानै मुखको ब्याक्टेरिया मार्न पेरियोगार्ड ओरल रिन्जले कुलकुल गर्ने, नाकमा नसाल एन्टिबायोटिक राख्नुहोला । नियमित खाने औषधीहरू खान हुन्छ, खानूस् ।” डाक्टरहरूले नर्सको अगाडि मलाई सम्झाए । 

“हस् ।” आज्ञाकारी बालक झैँ मैले टाउको हल्लाएँ ।  डाक्टरहरू गएपछि नर्सले मन शान्त राख्न एनेक्सिओलेटिक (सेडाटिभस) चक्की खान दिइन् । मैले खाएँ र सुतेँ । छोरा पनि सँगै सुत्यो । 

२०७७ चैत १९ गतेको दिन, बिहानै नर्सले जाँच गर्न रगत तानिन् । तीन दिनदेखि मैले खाँदै आएका रगत पातलो गर्ने औषधी क्लोपिड र एकोस्प्रिन रोकिएको थियो । पे्रसर कम गर्ने प्राजोप्रेस, एमटास, मेटलक एक एक चक्की खाएँ । शरीरको रौँ खुर्कने मान्छे आयो । छोराले रेजर दियो । छाती, गोडालगायत सबैतिरको रौँ फालेपछि मैले इन्फेक्सन नहोस् भनेर क्लोरेक्सिडाइन गुलकोनेट साबुनले नुहाएँ । हस्पिटलको खुकुलो कपडा लगाएँ । श्रीमती छोराछोरीलगायत सबै जना घेरा लाग्दा आत्मविश्वास बढाउने कोसिस गरेँ तर सदाको लागि बिछोडिने हो कि भनेर मन शान्त हुनुभन्दा झन् अत्तालिइरहेको थियो । आठ बजेतिर अपरेसनका नर्सहरू यमराजका दूत झैँ मलाई लिन आए । कुर्चीमा बसाले र पर्सेको बोकालाई झैँ डोर्‍याउन थाले । श्रीमती छोराछोरीको मलिन अनुहार नियाल्दा आँखा आँसुले टन्न भरिए । अन्त कतै हेर्ने साहस आएन । सबैसँग हात जोडेर बिदा भएँ ।

अपरेसन रुममा छिर्दा यमराजले भनेको सम्झिएँ । ढक्क आङ फुल्यो । यमराज यतै छन् कि भनेर नजर दौडाएँ । डाक्टर भगवान् कोइराला, डाक्टर अनिल भट्टराई, डाक्टर विभूष श्रेष्ठसहितको टिमलाई अपरेसन ड्रेसमा देखेपछि मन ढुक्क भयो । एनेस्थेसियाका डाक्टरहरूले मेरो परिचय सोध्दै “अपरेसन गर्दा तपाईंलाई कठिन नहोस् भनेर एनेस्थेसिया दिन्छौँ” भने । “हस्” म भन्दै गएँ । ....बिउँझँदा त आइसियुको बेडमा, अर्धचेतावस्थामा ।  

“अङ्कल, कालो चिया पिउनूस् ।” 

मैले पुलुक्क आँखा पल्टाएँ । नर्स हातमा चियाको गिलास लिएर उभिइरहेकी थिइन् ।  मैले चिया लिएँ र पिउन थालेँ ।  

“लक्ष्मी सर, मलाई चिन्नुभयो । श्रीमतीले सोध्दा हाम्रो बिचमा सिसाको बार राखे झैँ भयो ।

मैले चिनेँ भन्दै टाउको हल्लाएँ । 

छोराछोरी एकैसाथ आए । उनीहरू पहेँला र सुन्निए जस्ता । मलिन अनुहार । नजिक आउन डराए जस्तो देखेँ ।

“बाबा, आज के बार हो ? आज कति गते हो ?” छोरीले फटाफट सोधिन् । 

हामी चार जनाको फोटो देखाएर छोराले सोध्यो– “कसको फोटो हो, बाबा यो ?” वर्षौंवर्ष भए जस्तो । म गम्न थालेँ । मलाई कता कता पुगे जस्तो भइरहयो । केही नसुने झैँ डम्म,  कन्फ्युजन, दिशाहीनता, भ्रम, अन्योल, के के भएको छ के के । बुझ्न र ध्यान केन्द्रित गर्न कठिन भइरहेको थियो ।

२०७७ चैत १९ गते हो नि आज । छोराछोरी दुवै हाँस्दै भनिरहेका थिए । होस् खुल्दै आयो । बेहोस् बनाएपछि डाक्टरहरूले छातीको करङ चिरेछन् । चिरेको करङ च्यातेर मुटु बाहिर झिकेर रोकेका रे । मुटु र फोक्सोको काम मेसिनले गरेको थियो रे । छाती हेरेँ । करङ स्टिच गरेको ठाउँमा लामो ब्यान्डेज थियो । ब्लकेज छलेर मुटुमा रगत आउजाउ गर्ने बाइपास राख्ने ग्राफ्ट गर्नका लागि सफेनियस भेन निकाल्न साँप्रादेखि गोलिगाँठासम्म चिरेर ब्यान्डेज लगाएको रहेछ । लामालामा ब्यान्डेज देखेर म त होस आउनेबित्तिकै तर्सिएँ । नाकमा सास फेर्ने ट्युब, अपरेसन गर्दा मुटु र फोक्सोबाहिर रहेको खराब रगत निकाल्न देब्रे कोखामा छेडेर ड्रेन ट्युब, पिसाब निकाल्न क्याथेटर ट्युब, इसिजीका ट्युबहरू, अक्सिजन, प्रेसर नाप्न पाखुरामा तारैतार, औषधी दिन क्यानुला बनाइएको । शरीर ब्यान्डेज, तार र पाइपले जेलिएको देख्दा बाँचँे भन्ने खुसीसँगै खिन्नता पनि मिसिएर आयो । “उफ् ।”  

डाक्टर भगवान् कोइराला टाढैबाट मुस्कुराउँदै आउनुभयो । “डाक्टर साप, धन्यवाद हजुरलाई, मलाई बचाइदिनु भएकोमा ।” मैले जम्लाहात जोडेँ । 

“बिरामीको सेवा गर्नु हाम्रो कर्तव्य हो । तपाईंको सर्जरी एकदम राम्रो भयो । ब्लड दिनु परेन । होस पनि राम्रोसँग आयो ।” स्टेथिसकोपले मुटुको रिदम सुन्दै डाक्टरले भन्नुभयो ।

म मुसुक्क मुस्कुराएँ । 

केहीबेरमा डाक्टर अनिल भट्टराई एक हुल डाक्टरसहित आउनुभयो । मुटुको चाल सुन्नुभयो । रिपोर्ट, ड्रेनबाट आएको फोहोर रगत, क्याथेटरबाट आएको पिसाब हेरिसकेर आँखा च्यातेर हेर्दै भन्नुभयो, “एभ्रिथिङ इज ओके । कङ्ग्य्राचुलेसन, कोइराला सर !” 

“धन्यवाद डाक्टर साप ।” मैले हात जोडेँ । 

“सर, अपरेसन राम्रो भयो नि, स्टेन राख्नुभन्दा ।” सूर्य देवकोटाले बधाई दिनुभयो । धन्यवाद डाक्टर साप । मैले हात जोडेँ ।  तङ्ग्रिँदै गएपछि आइसियुबाट क्याबिनमा आएँ । परिवारको साथमा बस्न पाउँदा खुसीले दङ्ग परेँ । भेट्न आउनुभएका धेरै जना आपसमा कुराकानी गर्दै हुनुहुन्थ्यो । म एकैछिनमा झकाएँछु । 

“बधाई छ, तिमीलाई । आज डिस्चार्ज हुने रे होइन ?” यमराज चित्रगुप्तलाई लिएर टुप्लुक्क आइपुगे ।

“एउटा खड्को ट-यो, प्रभु ।” मैले काम्दै भनेँ । 

“यस पटक डाक्टरहरूले बचाइछोडे । तैपनि तिमीलाई लैजाने हाम्रो प्रयास सधैँ जारी रहन्छ । होस गर ।” यमराजको धम्कीले म डराएँ ।  “ब्रह्माण्डमा यति धेरै मानिस छन् । हजुर किन मेरो पछि लाग्नुभएको ? मैले के नराम्रो गरेको छु र प्रभु ? किन मलाई कुरिरहनु हुन्छ ? किन सधैँ हजुर मात्रै लिन आउनुहुन्छ ? हामीले बोलाएर पनि आउने गर्नूस् न, कहिले काहीँ त । बाँच्ने हक त हाम्रो हो नि, भगवान ।” मैले कामेको स्वरमा जीवनको भीख माग्दै भने । “तिमीहरूले मलाई बोलाउन त इच्छामरण कानुन बनाउनु पर्छ । म यसबारे तिम्रो डाक्टरलाई पनि भनिदिउँला ।” यमराज सम्झाउँदै थिए । चित्रगुप्तले कानमा के भने कुन्नि, हतार भए झैँ यमराज पलभरमा अन्तध्र्यान भए । म झल्यास्स भएँ । डाक्टर भगवान कोइराला डाक्टरहरूको साथमा टुप्लुक्क आइपुग्नुभयो । 

“डाक्टर साप नमस्कार !” मैले जम्लाहात जोडेँ । श्रीमती, छोराछोरी र भेट्न आउनुभएका सबै जना उभिनुभयो ।   

“तपाईंका सबै भाइटलहरू ठिक छन् । रिकभर फास्ट भइरहेछ । हस्पिटलमा “हस्पिटल न्युमोनिया” को डर हुन्छ । अब यहाँ बस्नु पर्दैन । घर जानूस् । सात दिनपछि फलोअपमा आउनुहोला । खानपान र व्यायाम राम्रो गर्नुभयो र मन शान्त राख्नुभयो भने यही रोगले अब दुःख दिँदैन । तपाईको “मृत्युको चाबी” हामीले तपार्इंलाई नै दिएका छौँ । स्वास्थ्यको ख्याल गर्नुहोला । सबै जनातिर हेर्दै सम्झाएर डाक्टर क्याबिनबाट बाहिर निस्कनुभयो ।  

हामी उत्निखेरै डिस्चार्ज भएर घरतिर हिँड्यौँ ।