यो पुरानो जमानाको हस्त निर्मित बाँसको काँगियो हो । डोटी कारागार र डोटीका पुराना शिल्पीहरूबाट यस्ता काँगियो बनाएर बजारमा खरिदबिक्री हुन्थ्यो । काँगियो दुवैतिरबाट कपाल कोर्न मिल्ने तथा महिलाका लामा कपालबाट लिखा र जुम्रा झार्न अति उपयोगी हुन्थ्यो । यी काँगियो धेरै नै प्रयोगमा आउँथे । हातैले बनाइएका काँगियो तीन/चार थरीका हुन्थे । बनोट र मोल पनि भिन्न भिन्न हुन्थ्यो ।
मेहनत हेरी मूल्य कम र बेसी राखिन्थ्यो । कम भनेको चार आना अर्थात् भा. रु. २५ पैसा, बढी मूल्य भनेको आठ आना अर्थात् ५० पैसा रुपियाँ पथ्र्यो । यस्ता काँगियो बनाउन निकै शिल्पकारिता आवश्यक पर्दथ्यो र जोकोहीले बनाउन सक्दैनथे ।
खप्तडी बाघबुट्टे निगालोको चोया निकालेपछि त्यसलाई खिपेर एकनासका काँगियोका दाना अर्थात् दाँत बनाएर बलियो डोरीले कसेर काँगियो बनाइन्थ्यो । जुल्फी कोर्न केटाहरूका लागि यी काँगियो त्यति उपयुक्त हुँदैनथ्यो । उनीहरूले भारतमा बनाइएका प्लास्टिकका काँगियो नै प्रयोग गर्दथे । किनभने घरेलु काँगियो लामा कपालका लागि मात्र उपयुक्त हुन्थ्यो । अचेल यस्ता घरेलु काँगियो प्रचलनमा छैनन् ।
त्यस्तै हुक्कामा तमाखु खानेहरूका लागि पनि खप्तडी बाघबुट्टे नलीमा हातले बुट्टा काटेका नली सिलगडी बजारमा प्रशस्तै बनाइन्थे र बिक्री गरिन्थे । यो कुरा २०१०–१२ सालतिरको हो । अचेल यी सबै हस्तकला लोप भइसके ।
–सूर्यप्रसाद जोशी
–युवामञ्च