बागमती प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लामा छरिएर बसेका पहरी पिछडिएको, उपेक्षित, उत्पीडनमा परेको अल्पसङ्ख्यक जातिमा पर्दछ । पहरी जातिले बाँसका सामग्री बनाउने, माछा मार्ने र शिकार खेल्ने कार्यमा सिप र ज्ञान लिएरै बसेको पाइन्छ ।
ललितपुर र काभ्रे जिल्लामा मुख्य थातथलो भएका पहरी जाति सीमान्तकृत जातिका रूपमा सूचीकृत छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५८ जातिमध्ये पहरी पनि एक हो । यो जातिको मूल उत्पत्ति थलो दैलेख भनिए पनि यसमा मतैक्य पाइन्न ।
ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलमा पहरी जातिको घना बसोबास रहेको छ । यहीँबाटै काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सर्लाहीलगायत जिल्लामा पहरी फैलिएको पाइन्छ । खासगरी महाभारत पर्वत शृङ्खला आसपास उदयपुर, ओखलढुङ्गा, धादिङ, इलाम, कास्कीसम्म यिनीहरूको बसोबास रहेको छ । दैलेख जिल्लामा समेत पहरी हुनुले मूल थलो त्यतै त होइन भन्ने प्रश्न बलियो ढङ्गले उब्जाउँछ । तराईका रौतहट, बारा, पर्सा, झापा, मोरङ, सर्लाहीलगायत ४१ भन्दा बढी जिल्लामा पहरीको बसोबास रहेको तथ्याङ्क भेटिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार पहरीको जनसङ्ख्या १५ हजार १५ रहेको छ ।
काभ्रेको पलाञ्चोक भगवती मन्दिरको हेरचाह, सुरक्षा, पूजापाठ, गुठी, जात्रा सञ्चालन कार्य पहरी जातिले गर्दै आएको छ । लिच्छविकालमा राजा मानदेवकै पालामा पहरी जाति पलाञ्चोक लगिएको भनाइ छ । काभ्रे र सिन्धुपाल्चोकको सिमानास्थित सिमथली गाउँमा पहरी जातिको थुमे राज्य थियो भनिन्छ । त्यहाँ बसोबास गर्ने पहरीले गोल्मे राजा र गोल्मे रानीको पूजाआजा अहिले पनि गर्दै आएका छन् ।
पहरी जातिको बेग्लै भाषा, परम्परा, संस्कृति, सांस्कृतिक मान्यता, ज्ञान र सिप छ । पहरीले आफ्नो भाषालाई ‘पिही भ्या’ भन्छन् । नेवारी भाषा, संस्कृतिसँग बडीखेलका पहरीको भाषा–संस्कृति केही मिल्दोजुल्दो रहेको पाइन्छ । यो जातिको बेग्लै लिपि नभएका कारण लिखित इतिहास केही पाउन सकिन्न ।
को हुन् पहरी ?
पहरी बेग्लै जाति हुन् या नेवार समुदायभित्रको एक थरी हो ? यो विषय बेलाबखत बहस चल्दै आएको छ । पहरीलाई नेवार समुदायभित्रैको एक थरीका रूपमा लिने गरेको पनि पाइन्छ । तथापि अहिलेसम्म भएका अध्ययनले पहरीलाई बेग्लै जातिका रूपमा स्पष्ट पारेको छ । भाषाविज्ञ प्राडा ओमकारेश्वर श्रेष्ठ भाषाका हिसाबले अध्ययन गर्दा नेवारसँग पहरी जातिको धेरै निकटता रहेको बताउँछन् ।
दोलखामा बोलिने नेपालभाषा, टिस्टुङ पालुङतिर बलामी र गोपालीले बोल्ने भाषा र पहरी जातिले बोल्ने भाषामा धेरै समानता पाइने धारणा उनको छ ।
प्राडा श्रेष्ठले सन् २०१० मा विद्यावारिधि शोधकार्यका रूपमा सिन्धुपाल्चोकको जामुने र ललितपुरका बडीखेल, लेले, डुकुछाप, लुकुण्डोलमा बसोबास गर्ने पहरी भाषाको अध्ययन गरेका थिए । त्यस समय ११० गाउँ विकास समितिमा छरिएर पहरी रहेका थिए ।
प्राडा श्रेष्ठका अनुसार पहरी बेग्लै जाति हो भन्ने विषय यतिबेला बढी राजनीतिक विषय बनेको छ तर अब त्यसलाई अस्वीकार गर्ने अवस्था पनि छैन । पहरी जातिले हामी बेग्लै भाषा, संस्कृति, संस्कार, ज्ञान र सिप भएको अलग जाति भनेपछि अन्यले जबरजस्ती गर्न नमिल्ने धारणा उनको छ । त्यसपछि प्रतिष्ठानले बेग्लै जातिमा सूचीकृत गरिसकेको छ ।
ललितपुर लेलेका पहरीले आफूलाई नेवार भन्छन् । उनीहरूले भाषा, संस्कृति, बिहेवारी सबै नेवारसँग चलाएका छन् । डुकुछाप र लुकुण्डोलका पहरीले पनि नेवार नै भन्छन् । तथापि उनीहरू सामाजिक, आर्थिक र भौगोलिक विविधताका कारणले शहरमा बस्ने नेवारभन्दा केही फरक देखिएका हुन् ।
राजधानीमा नेवार समुदायको जात्रा, पर्व, चाडमा प्रयोग हुने बाँसका जति पनि सामग्री छन् ती सबै पहरीले उपलब्ध गराइने चलन थियो । हरेक हिसाबले नेवारसँग निकट रहेका पहरी जातिलाई समेट्न नसक्नु नेवार समुदायको कमजोरी रहेको समेत प्राडा श्रेष्ठको धारणा छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लामा छरिएर बसेका पहरी पिछडिएको, उपेक्षित, उत्पीडनमा परेको अल्पसङ्ख्यक जातिमा पर्दछ । पहरी जातिले बाँसका सामग्री बनाउने, माछा मार्ने र शिकार खेल्ने कार्यमा सिप र ज्ञान लिएरै बसेको पाइन्छ । तथापि पहरीले ठिक थर नलेख्नाले यकिन तथ्याङ्क नआएको धारणा नेपाल पहरी विकास सङ्घका अध्यक्ष मुकुन्दबहादुर पहरीको छ । कतिपय नगरकोटी थरी पहिला पहरी नै थिए । तीनपुस्तेमा पहरी नै भेटिन्छ । उनका अनुसार भक्तपुर र ललितपुरका कतिपय नगरकोटीको तीनपुस्ते विवरण हेर्दा पहिला पहरी थर पाइन्छ ।
ब्रिएन जे. स्मितले सन् २०२२ मा गरेको पहरी जातिको समाजशास्त्रीय अध्ययन प्रतिवेदनले समेत पहरीले बोल्ने भाषालाई नेवारीभन्दा पूर्ण रूपले अलग मानेको छ ।
पश्चिमका पहरी
बागमती प्रदेशमा छरिएर रहेका पहरी जाति आदिवासी जनजातिमा सूचीकृत छ । तथापि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहरी दलित समुदायका रूपमा छन् । संविधान सभा (पहिलो) मा शेरबहादुर पहरी (मकवानपुर) आदिवासी जनजातिको सूचीबाट सदस्य भएका थिए । दोस्रो संविधान सभामा धना पहरी (जाजरकोट) दलित कोटामा सदस्य बनिन् ।
सङ्घका अध्यक्ष पहरीका अनुसार भारतको हिमाञ्चल क्षेत्रमा पहरी धेरै छन् । कर्णाली र सुदूरपश्चिम क्षेत्र दैलेख, कालीकोट, कन्चनपुर, जाजरकोटलगायत जिल्लाका दलितमा पहरी थरी छन् ।
पहरीभित्र चार खाल
पहरी जातिमा पेशा र वासस्थानका हिसाबले चार भागमा वर्गीकरण गरिएको पाइन्छ । राजपहरी (राजदरबारमा सिपाही पहरेदारका रूपमा काम गर्ने), सुनपहरी (मन्दिरमा पूजापर्व, जात्रा चलाउने), पाखापहरी (कृषि, पशुपालन, खेतीपाती र बाँसको काम गर्ने) र खोलापहरी (खोलानालामा माछा मार्ने, शिकार गर्ने) गरी चार खाले पहरीमा थुप्रै थरी छन् । पहरी जातिमा राजवंशी, नौकोती, केरुङ्गे, दुदेल, बन्दने, गोल्पाते, मासगेडी, शुक्रपती, दोरङ्गे, राजगोल, सेन्दान, मुल्थोके, भुसेल, पेन्जा, कालिकोते, पत्थरवंशी, मादरथोकी, मान्द्रे, कालिन्चोके, देउवंशी, तोकान्छी, करजङ, गर्जे, कुखुरेझाँक्री, सिन्धुर, बैदार, गोक्रुङ, कोर्खाली, पुर्बेली थर रहेका छन् ।
आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, खानपान, सिप, ज्ञान, संस्कार रहेको पहरीका २०/२२ थर पहिचान भएका छन् । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा क्षेत्रमा फैलिएका अल्पसङ्ख्यक पहरी त्यहीँका जातिसँग घुलमिल भई आफ्नो भाषा र संस्कृति बिर्संदै गएको पाइन्छ । ललितपुरको बडीखेल (कोड्कु) क्षेत्रका पहरी व्यापार र बसाइका कारण नेवार समुदायसँग नजिक भएकाले भाषा, रहनसहन र संस्कृतिका हिसाबले नेवारसँग निकट भएको धारणा अध्यक्ष पहरीको छ ।
प्राडा श्रेष्ठका अनुसार पहरी जातिको मूलप्रवाह बडीखेलमा छ । यहाँ पहरीका तीन खाल देखिन्छ । राजपहरी, पाखापहरी र खोलापहरी बडीखेलमा छन् । कुल पूजामा राजपहरीले हाँसको अण्डा चढाउँछन् । पाखापहरी र खोलापहरीले कुखुराको अण्डा चढाउने गरेका छन् ।
बाँसमै आस
पहरी जाति परिश्रमी र मेहनतको सोझो गर्ने खालका हुन्छन् । मुख्य रूपमा कृषिमा निर्भर यो जाति परम्परागत बुन्ने सिप र ज्ञानका स्रोतका रूपमा रहेका छन् । ललितपुर बडीखेलका पहरीको अहिले पनि बारीपाखामा बाँसघारी देख्न सकिन्छ । बाँसको टुक्रा बनाएर पानीमा ढड्याउन सानातिना पोखरी पहरी बस्तीमा देखिन्छ । उनीहरूसँग डोको, डालो, डाली, सोली, नाङ्ला, मान्द्रा, चाल्ना, छपनी जस्ता बाँसबाट बनाइने घरायसी उपयोग र सजावटका सामग्री बनाउने सिपालु सिप र परम्परागत ज्ञान छ ।
ललितपुरको बडीखेलमा बस्ने हुन् या सर्लाही, मकवानपुर पुग्ने हुन् या काभ्रे, सिन्धुपाल्चोक, दोलखाका किन नहुन् उनीहरूमा बाँसका सामग्री बनाउने सिप ज्ञान छ । उनीहरूमा शिकार खेल्ने, माछा मार्ने जस्ता पुस्तैनी ज्ञान र सिपसमेत देखिन्छ ।
नेपाल पहरी विकास सङ्घका अध्यक्ष मुकुन्दबहादुर पहरीका अनुसार आदिवासीको परम्परागत सिप र ज्ञान पहरी जातिमा छ । बसाइ, व्यापारका कारण नेवारसँग काठमाडौँका पहरी जोडिए । अल्पसङ्ख्यक भएकाले जहाँ बसेको छ त्यहाँको भाषा, संस्कृतिसँग घुलमिल हुँदै जाँदा पहरीले आफ्नो पहिचान गुमाए र अन्यबाट प्रभावित भए ।
बेहुलाबेहुलीलाई भालेको भोग
पहरी जातिमा विवाहको बेग्लै संस्कार छ । परम्परागत विवाहलाई पहिलो प्राथमिकता दिने पहरी जातिले जातिगत संस्कार अनुसार मागी विवाह गर्ने चलन छ । मागी विवाहका लागि केटीको घरमा कसैमार्फत प्रस्ताव पठाउने गरिन्छ । सो प्रस्ताव स्वीकार भएपछि केटा पक्षबाट केटी माग्न जाने चलन छ । केटी माग्न जाँदा सुपारी, सुनको औँठी र पचास रुपियाँ लैजाने गरिन्छ । त्यो लगिएको सामान केटाले केटीको हातमा राखिदिने गर्दछ । त्यसपछि केटीले दुबोको माला केटालाई लगाइदिने चलन छ । त्यही समय बिहेको मिति तय गरिन्छ ।
पहरी जातिमा विवाहको जग्गे बनाउने चलन छैन । विवाहको दिन बेहुलीको घरमा जन्तीसहित पुगेपछि केटाको हातमा केटीले काँचो धागो बाँधिदिन्छिन् । त्यसमाथि केटीका बाबुले कुखुराको भाले काटी दुवैको हातमा पर्ने गरी रगत चुहाइदिने गरिन्छ । यस कार्यलाई पहरी जातिले कन्यादानको विधि मान्दछन् । त्यसपछि बेहुलाले बेहुलीको सिउँदोमा सात पटक सिन्दूर राखिदिन्छ । विधवा विवाहलाई त्यति मान्यता नदिने यो जातिमा जारी विवाहलाई स्वीकार गरेको पाइन्छ ।
पहरी जातिमा मृत्यु संस्कारका लागि सामूहिक गुठी स्थापना गरिएको हुन्छ । कुनै पनि घरमा मृत्यु परेमा गुठीमा खबर पठाइन्छ । गुठीले नै सबै व्यवस्था मिलाउँछ । पहरी जातिमा शव जलाउने गरिन्छ । शव जलाउँदा उडेको धुवाँ मृतकको घरबाट देखिनु पर्छ भन्ने मान्यता पहरी जातिमा रहेकाले डाँडामा लगेर अन्त्येष्टि गर्ने चलन छ । मलामी घर फर्केपछि चिउरा खुवाउने गरिन्छ । पहरी जातिमा १३ दिन किरिया बार्ने चलन छ ।