• ३२ असार २०८२, बुधबार

‘प्लास्टिक सर्जरी विलासिता होइन, अत्यावश्यक उपचार हो’

blog

विश्व प्लास्टिक सर्जरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सर्जन।

काठमाडौँ, असार ३१ गते । प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।

 विश्व प्लास्टिक सर्जरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सर्जनले प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । 

राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जन प्रा.डा.पीयूष दाहालले धेरैले प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग हुन्छ भन्ने गलत बुझाइ भएकोले सरकारको प्राथामिकतामा पर्न नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्लास्टिक सर्जरी सौन्दर्य बढाउने सर्जरी भन्ने धेरैको बुझाइ छ । त्यसैले पनि आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमामा समेत पर्न सकेको छैन । यो दु:खद कुरा हो ।” 

प्रा.डा. दाहालका अनुसार प्लास्टिक सर्जरी विलासिता नभई अत्यावश्यक विधा हो । जुनसुकै अङ्गको शल्यक्रिया गर्दा पनि प्लास्टिक सर्जरी आवश्यक पर्ने प्रा‍‍.डा. दाहाल बताउनुहुन्छ ।

प्लास्टिक सर्जरी सौन्दर्यको लागि मात्र नभई विभिन्न कारणले लागेको चोटपटक वा रोगको उपचारपछि शरीरका अङ्गलाई पुन संरचना गर्न आवश्यक पर्ने प्लष्टिक सर्जन डा. अनुराग सिंह थापा बताउनुहुन्छ । 


उहाँले दुर्घटनाबाट बिग्रिएको अङ्ग सुधान गर्नदेखि जन्मजात विकृति हटाउन, क्यान्सरको उपचारपछि पुन संरचना गर्न प्लास्टिक सर्जरी आवश्यक पर्ने जानकारी दिनुभयो । 

उहाँले ट्रमाको आपतकालीन अवस्थामा प्लास्टिक सर्जरी अनिवार्य रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“छिनेको हात पुरानो जस्तो बनाउन, गम्भीर प्रकारको दुर्घटना हुँदा, चोटपटक लाग्दा प्लास्टिक सर्जरी आवश्यक पर्छ ।” प्लास्टिक सर्जन डा. स्मृत शर्माले क्यान्सरको उपचारपछि प्लास्टिक सर्जरीको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुहुन्छ । 

उहाँका अनुसार क्यान्सरका बिरामीको ट्युमर निकालिसकेपछि शरीरको अन्य भागको मासु निकाली खाली ठाउँ पुर्ने गरिन्छ । यस्तो ट्युमर निकालेको भाग खुला छोडेमा इन्फेक्सन हुने सम्भावना बढी हुने उहाँको बताउनुहुन्छ । कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जन डा. निरज महर्जनले विभिन्न कारणले आगोले पोलेर घाइते भएकाको प्राथमिकदेखि छाला प्रत्यारोपण गर्दासम्म प्लास्टिक सर्जरी आवश्यक पर्ने बताउनुहुन्छ । 


वरिष्ठ प्लास्टिक सर्जन डा.विशाल कार्कीले प्लास्टिक सर्जरीमार्फत् जन्मजात ठुलो ओठ काटेर सानो बनाउने, नाकको तन्तु मिलाएर बनाउने, काटिएको नाक, ओठ, निधारको तन्तु पुननिर्माण गरिने जानकारी दिनुभयो । 

प्लास्टिक सर्जन डा. संगम रायमाझीले मानिसलाई टाउको देखि खुट्टासम्म प्लास्टिक सर्जरी आवश्यक पर्ने बताउनुहुन्छ । सबै शल्यक्रियामा प्लास्टिक सर्जरी आवश्यक पर्ने भए पनि देशभर जनशक्ति निकै कम रहेका छन् । नेपाल प्लास्टिक शल्यचिकित्सक सङ्घका अनुसार देशभर नयाँ पुराना गरेर ५० जना प्लास्टिक सर्जन छन् ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।