• १६ मङ्सिर २०८२, मङ्गलबार

१३ हजार बढी हिंसा पीडितले लिए ओसिएमसीबाट सेवा

blog

काठमाडौँ, मङ्सिर १६ गते । १३ हजार भन्दा बढी हिंसा पीडितले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले आर्थिक वर्ष २०८१-८२ मा १३ हजार ५०२ जना हिंसा पीडितले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएको जानकारी दिनुभयो ।

 सरकारले हिंसा पीडितलाई निःशुल्क स्वास्थ्योपचार, मनोसामाजिक परामर्श र कानुनी सेवा उपलब्ध गराउन देशभरका ९७ वटा अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा पीडितलाई सेवा दिँदै आएको छ । 

बलात्कार, यौन दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, स्रोत अधिकारबाट बञ्चित, मानसिक दुर्व्यवहार, बालविवाह, रुढीवादी परम्परा जस्ता हिंसाबाट पीडितले यो केन्द्रबाट सेवा लिँदै आएका छन् । मन्त्रालयका अनुसार सबै उमेर समूहका मानिस सेवा दिने भए पनि यो सेवा लिनेमा १९ देखि ४९ उमेर समुहका सबैभन्दा बढी छन् ।

सेवा लिनेमा मधेश प्रदेशका सबैभन्दा बढी रहेका छन् । मधेश प्रदेशमा तीन हजार १२ जनाले यो सेवा लिएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ७१४, सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय, बागमती प्रदेशमा एक हजार ७८२, कर्णाली प्रदेशमा एक हजार ५५२, कोशी प्रदेशमा एक हजार ५१ र गण्डकी प्रदेशमा ६९१ जनाले सेवा लिएको डा.पौडेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ३९ जना हिंसा पीडितले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका थिए । हिंसा भएका मध्ये २८ जनाले शारीरिक हिंसा भोग्नु परेको तथ्याङ्कले देखाएको छ ।

शारीरिक हिंसा गण्डकी प्रदेशमा सबैभन्दा बढी ३९, लुम्बिनी प्रदेशमा ३६, कोशी प्रदेशमा २८, कर्णाली प्रदेशमा २७, सुदूरपश्चिममा २६, बागमती प्रदेशमा २६ र मधेश प्रदेशमा २१ रहेको छ ।