• १३ पुस २०८२, आइतबार

जलनले निम्त्याउँछ शारीरिक र मानसिक समस्या

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २२ गते । पछिल्लो समय जलनका घटना बढ्दै गएका छन्। स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको तथ्याङ्कले प्रत्येक वर्ष जलनका घटना बढ्दै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७३-७४ मा ५५ हजार जलनका घटना घटेकोमा यो सङ्ख्या बढेर आर्थिक वर्ष २०८१-८२ मा ७९ हजार ६३० पुगेको छ । नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले राष्ट्रिय संयुक्त समीक्षा बैठकमा सार्वजनिक गरेको तथ्याङ्कले जलनका घटना सबैभन्दा बढी मधेशमा रहेको देखाएको छ ।

मधेश प्रदेशमा २० हजार २७८ जना जलनका बिरामी पत्ता लागेका छन् । त्यसैगरी, बागमती प्रदेशमा १४ हजार ४३९, लुम्बिनीमा १३ हजार ५७२, कोशीमा आठ हजार ८६७, गण्डकीमा आठ हजार ४८७, सुदूरपश्चिममा सात हजार ४७१ र कर्णाली प्रदेशमा छ हजार ६१५ जना जलनका बिरामी भेटिएका छन् ।

विश्वमा प्रत्येक वर्ष एक लाख ८० हजारले ज्यान गुमाउँछन् । जसमध्ये सबैभन्दा बढी नेपालजस्तो न्यून आय भएका देशका छन् । नेपाल जलन फाउन्डेसनको तथ्याङ्कले नेपालमा प्रत्येक वर्ष १५ सयदेखि दुई हजारको जलनका कारण मृत्यु हुने देखाएको छ ।

 जलन हुनुको कारण 

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ प्लास्टिक सर्जन प्राडा.पीयूष दाहालले जलनका घटना जाडो याममा बढी घटने बताउनु हुन्छ। जाडो मौसममा शरीरलाई न्यानो पार्न कोइला, दाउरा, विकेट ताप्‍दा सानो असावधानीले दुर्घटना हुने भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “जाडोमा आगो, विकेट, कोइला ग्यास हिटर वा मकल बालेर सुत्नाले निसासिएर मृत्यु भएका घटना हरेक वर्ष दोहोरिने गर्छन् । त्यो बाहेक तातो तेल वा पानीले पोलेर, चट्याङ्ग लागेर, एसिडले पोलेर, करेन्ट लागेर जलन हुने गर्छन् ।” 

त्यसका अलावा तेजाब वा अन्य रासायनिक पदार्थको प्रयोग गर्दा असावधानी कारणले जलनका घटना घट्ने उहाँ बताउनु हुन्छ । कतिपय अवस्थामा पेट्रोल तथा मट्टीतेल खन्याइ जलाउने, करेन्ट लगाउने, एसिड आक्रमणजस्ता जघन्य अपराधको कारणले गर्दा जलनका घटना हुने गर्छन् ।

जलनले निम्त्याउने समस्या 

सतही, गहिरो र धेरै गहिरो गरी जलनलाई तीन प्रकारमा वर्गीकरण गरिन्छ । सतही जलनमा रातो हुने, जलनको भाग तातो हुने र रातो भागमा थिच्दा रातोपन हराउने वा फिक्का हुने गर्छ । 

सतही जलन सामान्यतया पाँचदेखि सात दिनमा आफैँ निको हुँदै जान्छ । गहिरो जलनका घटनामा पानी फोका उठ्ने, छाला खुइलिने, दुख्ने दुई हप्ता वा बढी समयसम्म लाग्न सक्छ । यदि जलनको घाउ गहिरिँदै गएमा शल्यक्रिया गर्नु पर्छ । 

धेरै गहिरो जलनमा जटिल समस्या निम्तने गर्छन् । यसमा जलन भएको भागमा रातो हुने त्यो भागमा थिच्दा रङ्ग फिक्का नहुने, छाला सुकेर कडा र बाक्लो हुने, दुखाइ कम हुनेजस्ता समस्या देखिन्छन् ।

यो जलन आफैँ निको नहुने हुँदा शल्यक्रिया आवश्यक पर्छ । जलनले निम्त्याउने शारीरिक र मानसिक समस्या जलनले शारीरिक कुरुपता हुनुका साथै नमेटिने दाग बस्नुका साथै शारीरिक र मानसिक स्वास्थ्यमा असर पुग्ने डा. दाहाल बताउनु हुन्छ ।

जलनका बिरामीले शारीरिक कुरुपता, नमेटिने दाग शारीरिक कठिनाइ उत्पन्न हुने, उपचारको खर्च, विभिन्न सामाजिक विभेद सहन बाध्य हुन्छन् । उहाँ भन्नुहुन्छ, “जलनका बिरामी सामान्यदेखि जटिल स्वास्थ्य समस्या लिएर अस्पतालमा पुग्छन् । जलनको उपचार लामो समय गर्नुपर्ने भएकाले जलन पीडित शारीरिक मात्र नभई मानसिक, सामाजिक, आर्थिक हिसाबले कमजोर हुने गर्छन् ।” 

यदि सानो बच्चामा १० प्रतिशतभन्दा बढी र ठुलो मानिसमा १५ प्रतिशतभन्दा बढी जलन भएमा श्वासप्रश्वास, मुटुका, कलेजो र स्नायुको जस्ता दीर्घ स्वास्थ्य समस्या निम्तने दाहाल बताउनुहुन्छ । जलनका बिरामीलाई समयमा नै अस्पताल पुर्याएमा धेरैलाई बचाउन सकिने उहाँकाे भनाइ छ । डा. दाहालले नेपालमा थोरै मात्र उपचार केन्द्र हुँदा जलनका बिरामी ढिला गरी अस्पताल पुग्ने बताउनु हुन्छ । 

घाउको हेरचार कसरी गर्ने 

त्रिवि शिक्षण अस्पतालका प्लाष्टिक सर्जन प्राडा. जयनमान श्रेष्ठले जलनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भए पनि घाउको हेरचार आवश्यक पर्ने बताउनु हुन्छ । 

पोलेको घाउलाई नियमित मनतातो पानीले ड्रेसिङ गर्न उहाँको सुझाव छ। उहाँ भन्नुहुन्छ, “यदि जलनको घाउ राम्रोसँग ड्रेसिङ नगरेमा फोहोर जम्मा भएर पानी जम्ने, पाक्ने, घाउ छालासँग टाँसिने जस्ता समस्या उत्पन्न भइ सङ्क्रमण बढेर थप उपचार आवश्यक पर्न सक्ने भएकाले घाउलाई नियमित मनतातो पानीले सफा गर्नु पर्छ ।”

घाउलाई टाँसिन नदिन खुकुलो लुगा लगाउन उहाँले अनुरोध गर्नु भयो । जलनबाट भएका दाग खतलाई घामबाट जोगाउन, चाँडो निको र सङ्क्रमण हुन नदिन पोषणयुक्त खानेकुरा खान उहाँको आग्रह छ । प्रोटिन भएका अण्डा मासु, फलफूल खाँदा घाउ चाँडो निको हुनुका साथै सङ्क्रमण हुनबाट रोक्न सकिन्छ ।

घाउ निको भएको ठाउँमा छाला बाक्लो हुने, घाउ खुम्चिएर टाँसिने, जोर्नी बाङ्गो हुने हुँदा फिजियोथेरापी गर्न उहाँले सुझाव दिनु भयो। निको भएको छाला बाग्लो वा कडा भएमा चिल्लो प्रदार्थले मसाज गर्न उहाँको आग्रह छ । 

जोगिन के गर्ने 

आगोले सजिलै टिप्ने कपडा जस्तै- नाइलन, पोलिस्टर र चिल्लो खालको कपडा नलगाउन डा. दाहलको आग्रह छ । मट्टीतेल, पेट्रोल डिजेलजस्ता सजिलै आगो लाग्ने पदार्थ घरमा नराख्ने, प्रयोगपछि ग्यासको रेगुलेटर बन्द गर्ने, तातो वस्तु नजिक बालबालिका, वृद्धवृद्धा वा अशक्त व्यक्तिलाई एक्लै नछोड्न चिकित्सकको सुझाव छ। चिसो हातले तार वा करेन्टबाट चल्ने सामान नछुन, तेजाब वा अन्य रासायनिक पदार्थको प्रयोग गर्दा सावधानी अपनाउन उहाँको सुझाव छ । 

उपचार गर्ने चिकित्सक अभाव  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलनसम्बन्धी कार्यविधि बनाएर सातै प्रदेशका अस्पतालसँग समन्वय गरेर जलनको उपचारको नि:शुल्क व्यवस्था गरेको छ । कार्यविधि अनुसार जटिल खालको बिरामीका लागि पाँच लाखसम्म उपचार खर्च उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको छ ।

कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलनको उपचार निःशुल्क हुने व्यवस्था छ । 

सरकारले सातै प्रदेशमा जलन पीडितको निःशुल्क उपचार गर्ने घोषण गरे पनि जलनको उपचारमा आवश्यक पर्ने प्लास्टिक सर्जन र उपचार सामग्रीको अभावले देशभरका जलन पीडित काठमाडौँ केन्द्रित हुनुपरेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्राडा. शङ्करमान राईको भनाइ छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।