• १६ माघ २०८२, शुक्रबार

सिन्दूर, टुथपेस्ट र गाजलमा भेटियो स्वास्थ्यका लागि हानिकारक रसायन

blog

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ।तस्बिर: सिर्जना खत्री

काठमाडौँ, माघ १६ गते । नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक रसायन र भारी धातु प्रयोग भइरहेको एक अध्ययनले देखाएको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले सार्वजनिक गरेको अध्ययनले नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक रसायन र भारी धातु प्रयोग गरेको देखाएको हो । 

सेपेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै साना बालबालिकामा लगाइने गाजल, हरेक बिहान प्रयोग हुने दन्तमञ्जन र सिन्दूरमा सिसाजस्तो विषाक्त तत्व भेटिएको जानकारी दिनुभयो । 


सिन्दूरमा सबैभन्दा बढी लिड

अध्ययनअनुसार नेपाली बजारमा पाइने सिन्दूर र गाजलमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा पाइएको उहाँको भनाइ छ । विशेषगरी बालबालिकाले प्रयोग गर्ने गाजल, टुथपेस्टमा सिसाको मात्रा अत्याधिक पाइएको छ । 

४० प्रतिशत सिन्दूरको नमुनामा सिसा भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म सिसा पाइएको छ। टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिएको छ ।


जसमा बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही ब्रान्डसमेत समावेश छन्। मन्जनमध्ये पेप्सोडेन्ट, कोलगेट, दन्त कान्ति, क्लोज अप, डाबर रेड जस्ता ब्रान्डमा सिसाको मात्रा पाइएको हो । पतञ्जलीको गाजलमा पनि सिसाको मात्रा पाइएको अध्ययनमा प्रतिवेदनमा भनिएको छ ।

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी (४२.५ प्रतिशत) नमुनामा सिसा भेटिएको छ। अध्ययनले “हर्बल” वा “प्राकृतिक” भनेर बिक्री हुने उत्पादनहरू समेत सिसाबाट सुरक्षित नरहेको तथ्य उजागर गरेको छ।


 मानव स्वास्थ्यका लागि घातक 

लिपस्टिक, सिन्दूर, गाजलजस्ता सौन्दर्य सामग्री दैनिक प्रयोग गर्दा सिसा सिधै शरीरमा प्रवेश गर्ने जोखिम उच्च रहेको प्रतिवेदनले देखाएको छ । 

अध्ययनले सिसा न्यून मात्रामै पनि मानव स्वास्थ्यका लागि घातक हुने उल्लेख गरेको छ। विशेषगरी बालबालिकामा सिसा प्रवेश हुँदा बौद्धिक क्षमता (आईक्यू) घट्ने, सिकाइमा समस्या आउने, ध्यान अभाव तथा एडीएचडी जस्ता व्यवहारिक समस्या देखिने साहले जानकारी दिनुभयो । 

यस्तै, लिडको प्रयोगले दृष्टि र श्रवण क्षमतामा कमी, स्नायु प्रणालीमा असर तथा शैक्षिक उपलब्धि कमजोर हुने जोखिम पनि बढ्ने गर्छ । गर्भवती र प्रजनन उमेरका महिलामा सिसाको असर झन् गम्भीर स्वास्थ्य समस्या निम्तने उहाँको भनाइ छ ।  

उहाँका अनुसार लिडको प्रयोगले उच्च रक्तचाप, गर्भपतन, समयअगावै शिशु जन्मिनु, कम तौलको शिशु जन्मिनु तथा दीर्घकालीन विकाससम्बन्धी समस्या देखिने गर्छन् । 

सिसा गर्भावस्थामा आमाबाट शिशुमा सर्न सक्ने भएकाले स्तनपानको समयमा पनि शिशु जोखिममा पर्छन् । सामान्यतया सिसा शरीरमा जम्मा हुँदै जाने र दीर्घकालीन रोग निम्त्याउने तत्वका रूपमा चिनिन्छ। रक्तअल्पता, मिर्गाैला क्षति, मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा इन्डोक्राइन प्रणालीमा समस्या देखिने अध्ययनमा उल्लेख छ । 

उपभोक्ता संरक्षण ऐन र नियमन व्यवस्था हुँदाहुँदै पनि उत्पादन लेबलिङ र बजार अनुगमन प्रणाली कमजोर हुँदा उपभोक्ता असुरक्षित बनेको अध्ययनको ठहर छ। 

धेरै सौन्दर्य सामग्रीमा प्रयोग भएका रसायनको स्पष्ट जानकारी नदिइएको, आयातित तथा घरेलु उत्पादनको गुणस्तर परीक्षण प्रभावकारी नभएको प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदनले सौन्दर्य सामग्रीमा प्रयोग हुने विषालु पदार्थ नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड कडाइका साथ लागू गर्न, नियमित बजार अनुगमन बढाउन र प्रयोगशाला परीक्षणलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको छ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कस्मेटिक सामग्रीको प्रभावकारी नियमनका लागि औषधी ऐन संशोधन आवश्यक रहेको बताउनुभयो । 

कतिपय उपभोग्य सामग्रीमा न्यूनतम मात्रामा सिसा पाइने गरेको उल्लेख गर्दै उहाँले यस्ता वस्तुहरूको स्पष्ट र कडा नियमन अपरिहार्य रहेको धारणा व्यक्तगर्नुभयो । ऐन संशोधनको प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सौन्दर्यका नाममा प्रयोग हुने यस्ता सामग्रीले दीर्घकालीन जनस्वास्थ्य संकट निम्त्याउन सक्ने भएकाले तत्काल नीतिगत सुधार र कडा नियमन अपरिहार्य रहेको बताउनुभयो ।