गोरखापत्र अनलाइन
काठमाडौँ, माघ ९ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस पटक चिकित्सकदेखि मेडिकल व्यवसायीसम्मले उम्मेदवारी दिएका छन् । निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा आवद्ध चिकित्सक तथा मेडिकल व्यवसायीहरू विभिन्न राजनीतिक दलबाट मैदानमा होमिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुईजना चिकित्सक डा. तोसिमा कार्की र डा लेखजङ्ग थापाले उम्मेदवारी दिनुभएको छ। जनरल सर्जन डा. कार्की २०७९ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनी निर्वाचित हुनुभएको थियो।
सोही समयमा उहाँले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । डा. कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पुरानै क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै, न्युरोलोजिष्ट डा. लेखजङ्ग थापा रुपन्देही ३ बाट उम्मेदवारी दिनुभएको छ । उहाँ नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत रहनुभएका मेडिकल व्यवसायी डा. सुनिल शर्माले नेपाली कांग्रेसबाट मोरङ ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी बन्नुभएको छ।
डा. शर्मा गएको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस्तै, चिकित्सा पृष्ठभूमिबाट राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ बाट उम्मेदवारी दिनुभएको छ । डा. कोइराला धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत हुनुहुन्छ ।
त्यस्तै, दृष्टि विशेषज्ञ डा. दीपककुमार साह रास्वपाबाट महोत्तरी क्षेत्र नं २ को उम्मेदवार बन्नुभएको छ । त्यस्तै शिक्षा, विज्ञान सुशासन र जनस्वास्थ्यको क्षेत्रमा अभियान्ताका रुपमा कार्यरत डा. आनन्दबहादुर चन्दले कैलाली ५ बाट उम्मेदवारी दिनुभएको छ ।
समानुपातिक सूचीमा सात चिकित्सक
रास्वपाको समानुपातिक सूचीमा सात जना चिकित्सक पर्नुभएको छ । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा. अभिषेक सिंह, डा. अंकिता ठाकुर, डा. मनोहर प्रधान, डा. ओजस्वी शेरचन, डा. रुपक घिमिरे विश्वकर्मा, डा. रामजी राम र डा. रञ्चित परियार रहनुभएको छ।
सर्लाहीका डा. अभिषेक र धनुषाका डा. रञ्जित मधेशी ‘क्लष्टर’ को पुरुषबाट समानुपातिक सूचीमा पर्नुभएको छ । सप्तरीकी डा. अंकिता मधेशी ‘क्लष्टर’ कै महिला सूचीमा पर्नुभएको छ।
दलित पुरूष ‘कलष्टर’ बाट रौतहटका डा. रामजी राम र डा. रूपक घिमिरे विश्वकर्माको नाम रास्वपाको समानुपातिक सूचीमा छ। आदिबासी जनजाति पुरूष ‘क्लष्टर’ बाट चितवनका डा. मनोहर प्रधान र आदिबासी जनजाति महिला ‘कष्टकर’ मा डा. ओजस्वी शेरचन सूचीमा हुनुहुन्छ ।