पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् । समाजशास्त्री डोरबहादुर विष्टले पनि ‘कोच र राजवंशी मोरङ र झापाका सबैभन्दा पुराना बासिन्दा हुन्’ भनेका छन् ।
सरल, शान्त, सहयोगी र मिजासिला यो जातिको आफ्नै मौलिक भाषा, लिपि, संस्कृति, संस्कार, कर्मकर्म, चाडबाड, खानपान, जीवनशैली, परम्परा र नाचगान छ । यो जातिमा नाचगान र चाडपर्वमा धेरै रमाउने अभ्यास हुन्छ । यो जाति भारतको उत्तर पूर्वाञ्चलका आसाम, बङ्गाल, विहार र बङ्गलादेशका केही जिल्ला एवं भुटानको तल्लो क्षेत्रमा बाक्लो आवादीका रूपमा बसोबास गर्दै आएको टेकनारायण राजवंशीले ‘कोच राजवंशी जातिको चिनारी’ मा उल्लेख गरेका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत ५९ जातिमध्ये राजवंशी पनि एक हो । प्रतिष्ठानले धानुक (राजवंशी) भनेर सूचीकृत गरेको पाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार राजवंशीको जनसङ्ख्या एक लाख ३२ हजार ५६४ रहेको छ । नेपालको कुल जनसङ्ख्यामा ०.४५ प्रतिशत कोच राजवंशी जाति रहेको तथ्याङ्कले देखाउँछ । २०६८ सालको जनगणनामा एक लाख १२ हजार १५५ राजवंशी थिए ।
विद्वान्हरूले राजवंशी जातिलाई ‘मङ्गोलोइड प्रजातिका’ हुन् भनेका छन् । टेकनारायण राजवंशीको ‘कोच राजवंशी जातिको चिनारी’ पुस्तकमा कोच राजवंशीहरू मङ्गोलोइड मूलका प्राचीन जातिमध्ये एक मूलवासी आदिवासी जाति हो भनिएको छ ।
इतिहासतिर फर्कंदा
पूर्व तराईका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने यो जातिको इतिहास रोचक छ । शरद्चन्द्र शर्माले ‘नेपाल र यसका निवासी’ (२०२५, दोस्रो) मा “राजवंसी भन्ने नाम चाहिँ तीन/चार सय वर्षभन्दा पुरानो नाम होइन । कोचे जाति पुरानो र गौरवशाली जाति भएर पनि हिन्दुकरण गर्ने सिलसिला चल्दा सो जातिको एउटा चोइटोले प्राप्त गरेको एउटा नयाँ नाम मात्र हो” भनेका छन् । शर्माले पुस्तकमा कोचेया राजवंशीका रूपमा सो जातिको चर्चा गरेको पाइन्छ ।
शर्माले कोचेया राजवंशी अस्ट्रो एसियाली (आग्नेय) जातिसँग सम्बन्धित जाति भनेका छन् । यस जातिका मानिसको ठूलो सङ्ख्या नेपालबाहिर भारत र बङ्गलादेशमा पनि छ ।
शर्माले आफ्नो पुस्तकमा “यति ठूलो भूभागमा यस जातिका मानिस फैलिनाको कारण कोच (अचेलको कुच विहार) लाई केन्द्र बनाएर दुई/तीन शताब्दीअघि उक्त क्षेत्र ढाक्ने गरी प्रतापी राजा हाजो र उनका झनै प्रतापी नाति विसु (विश्व सिंह) को नेतृत्वमा कोचहरूको ठूलो साम्राज्य फैलनु हो ।” भनेका छन् ।
“उत्तरी भारतमा ब्रिटिस राज्य र नेपालमा गोरखा राज्य कायम भएपछि राजनीतिक रूपमा केच या राजवंशीहरू शक्ति एवं महìवमा खस्कँदै गएका हुन् भन्ने मानिन्छ ।” भनेर शर्माले ठोकुवा गरेका छन् । उनको भनाइमा “कालान्तरमा कोचहरू खण्ड–विखण्डमा विभाजित भएको र धनी र शासक वर्गका कोच हिन्दु धर्म एवं संस्कृति अँगालेर क्षेत्रीको तहमा पुग्ने लोभले राजवंशी भए ।”
‘नेपाल र यसका निवासी’ पुस्तकमा शर्माले लेखेका छन्, “राजवंशीमध्येकै केही मानिस इस्लाम धर्म अँगालेर मुसलमान भए । गरिब र अरूको प्रभावमा नपरेका कोचहरूले आज पनि आफ्नै प्राचीन कोच परम्परा थामी आएको देखिन्छ ।”
समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ (२०५५, सातौँ) मा लेखेका छन्, “सत्रौँ र अठारौँ शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अङ्ग्रेजहरूले र मोरङ तथा झापालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भयो ।”
भाषा, धर्म र परम्परा
राजवंशी भाषाको कामरूपी लिपि छ । प्राचीनकालमा यो भाषालाई कामरूपी भाषा भनिने र पछि कामतापुरी, देशी वा राजवंशी भाषा भन्न थालिएको बताइन्छ । राजवंशीको भाषाका केही भाषिक समूह पनि रहेका छन् । टेकनारायण राजवंशीका अनुसार यस भाषामा देशी थारू, देशी मियाँ, ताजपुरिया, गेन्गाई, धानुक, माव्रmा, दास, तेली, सुडी, जोगी, हाडी, माझी आदि छन् । तिनीहरूले आफूले व्यवहार गरेको भाषा राजवंशी भाषा नमानी कोही सुर्जापुरी, कोही ताजपुरिया, कोही केके भने पनि राजवंशी भाषासँग समग्र मेल खाने गर्दछ ।
‘सबै जातको फूलबारी’ मा डोरबहादुर विष्टले भनेका छन्, “आजकालका हिन्दु तथा इस्लाम राजवंशीले बोल्ने भाषालाई ताजपुरी वा राजवंशी भन्छन् । अनि कोचहरूको चाहिँ आफ्नै पुरानै भाषा कोच नै छ तर यी दुई थरी भाषामा कति भेद अथवा के कतिको मेल छ भन्ने उति राम्रोसँग अध्ययन गरिएको छैन ।”
टेकनारायण राजवंशीका अनुसार “कोच राजवंशी जातिसँग भाषा मात्र नभएर कतिपय खानपिन, पहिरन, संस्कार, संस्कृति पनि मेल खाने भएकाले कतिपय घरपरिवारको राजवंशी–गन्गाई तथा राजवंशी–ताजपुरियाबीच मागी विवाह पनि हुन थालेको देखिन्छ ।”
डोरबहादुर विष्टले कोचहरूले आफ्नो जातको नाम बदलेर सभ्य हुन खोजी आफूलाई राजपुतसरहको राजवंशी भन्न थालेको हुनाले सो जातिभित्र फुट आउन थालेको प्रस्ट पारेका छन् । राजपरिवार तथा अरू धेरै सम्पन्न कोचहरूले हिन्दु राजपुत स्तरको राजवंशीमा आफूलाई उकाले तर त्यो सबैका लागि सम्भव थिएन, भएन । आफ्नो परम्परा, धर्म र भाषाप्रति सम्बन्ध छुटाइसकेका धेरै कोचले इस्लाम धर्म ग्रहण गर्न पुगे । पछिल्लो समय त यो समुदायका मानिस क्रिश्चियन धर्मप्रतिसमेत आकर्षित हुँदै गएको पाइन्छ ।
राजवंशी समाजमा आँगनको उत्तर पूर्व वा उत्तर दक्षिण कुनामा ठाकुर बारी स्थान बनाई, घेराबेरा गरेर कुलदेवता स्थान राख्ने गरिन्छ । कुलपूजाका लागि राजवंशी जातिबाटै उपयुक्त व्यक्ति छानिन्छ । जसलाई कुलपुरोहित वा ठाकुर भनिन्छ । कोच राजवंशीको पूजाआजाका लागि महिला वा पुरुषमा कुनै भेदभाव पाइन्न । कुलपुरोहित महिला वा पुरुष जोसुकै हुन सक्छ । उनीहरूमा परम्परागत रूपमा नै धामीझाँक्रीको परम्परा र प्रभाव रहिआएको छ । गाउँसमाजको रक्षाका लागि समेत गाउँको उत्तर पूर्व दिशामा गाउँको देवता अर्थात् ग्रामथान बनाउने परम्परा रहेको छ ।
महिलाको मान, मागिन्छ चुमान
राजवंशीमा मातृसत्तात्मक व्यवस्थाले जरो गाडेको पाइन्छ । यो जातिमा महिलाको हैकम र प्रतिष्ठा छ । घरखेती गर्ने, हाटबजार भर्ने, किनमेल, मेलापात, घर व्यवहारमा महिलाको सक्रियता पाइन्छ । शरद्चन्द्र शर्माका अनुसार आमाको उत्तराधिकारी छोरीले पाउँछे । केटीकी आमालाई रिझाएर, मनाएर मात्र उसकी छोरी प्राप्त गर्न सकिन्छ ।
केटी पाउन दिइने रकम (चुमना) को मात्रा बढी या घटी के छ भन्ने कुराको आधारमा केटी खास कन्या कुमारी होे विधवा हो अथवा पारपाचुके गरी मुक्त भएको हो भन्ने कुरा जान्न सकिन्छ । चुमनाको रकम तिर्न नसक्नेले केटीको माइतीमा बसेर लगाएअह्राएको काम गर्नुपर्ने हुन्छ । तथापि हिन्दु संस्कृतिको प्रभावले यो परम्परा विस्तारै लोप हुँदै गएको बताइन्छ ।
राजवंशी जातिमा विवाह गर्न कर्वा अर्थात् मध्यस्तकर्ता (लमी) को भूमिका महत्वपूर्ण हुन्छ । केटाको तर्फबाट केटी माग्न जाने लमीलाई केटी पक्षबाट चुमान प्रस्ताव गरिन्छ । त्यो प्रस्ताव केटा पक्षबाट स्वीकार गरी तिर्न सकेमा विवाहको स्वीकृति मिल्न सक्छ । त्यस्तो चुमान तिर्न नसक्दा केटीको घरमा बसेर काम गर्ने शर्तमा समेत कुरा मिल्न सक्छ । यसलाई डङ्गुवा भनिन्छ । यो डङ्गुवा अधिकारविहीन हुन्छ ।
घरबाट केटी माग्न निस्कँदा ढोकामा कलश र दुबो राखिन्छ । त्यो दुबो अलिकति झिकेर दाहिने कानमा सिउरिँदै केटीको घरतर्फ लागिन्छ । केटीको घरको ढोकामा पनि दुबो कलश राखिएको हुन्छ । त्यहाँ पनि दुबोलाई पाहुनाले दाहिने कानमा सिउरिन्छन् । केटालाई घरभित्र नलगी केटीको घरआँगनमै राखिन्छ । केटीलाई पनि त्यहीँ बोलाइन्छ । केटाको बाबुले केटीका हात हेर्छन् । हत्केलामा दही र बेसारले पाँच रेखा कोरिदिन्छन् । यस कार्यलाई केटा पक्षको कुलप्रवेश निम्तो दिएको मानिन्छ । त्यसपछि विवाह पक्का भएको ठानिन्छ ।
छोरीको बिदाइका बेला केटीका बाउले बेहुलालाई सोध्छन् :
“के तिमीले मेरी छोरी पायौ ?”
“हो मैले पाएँ ।”
बेहुलाले तीन पटक जवाफ फर्काउँछ ।त्यसपछि छोरीको हात ज्वाइँलाई सुम्पिदै केटीका बाउले “मारे पाप पाले पुण्य ।” भन्दै बिदाइ गर्छन् ।यो समुदायमा मागी विवाह नै बढी प्रचलनमा भए पनि पछिल्लो समय प्रेमविवाहको प्रचलन पनि बढ्दै गएको पाइन्छ ।
भाउजूसँग ख्यालठट्टा
राजवंशी समुदाय नाचगानमा बढी रुचि राख्छन् । चाडबाड र धार्मिक कार्यमा गीत/सङ्गीत र वाद्यवादन महत्वपूर्ण हुन्छ । यस समुदायमा धार्मिक लोकगीत र सामाजिक लोकगीत प्रचलनमा छन् । यिनीहरू खोल, कर्ताल, मुन्दिला, रामकर्ताल, नेपुर, टाँसी, ढोल, तुरबुरी, ठेनठेनिया, साहेना, ढुल्की, डुगितबला, बाँसी, बेहेला, सेरेन्जा, टेम्की, दोतोरा, घोगोमोगो, हारमुनी, ढाक जस्ता वाद्ययन्त्र प्रयोग गर्छन् । यो समुदायमा नटुवा, ढोल, गाउन, चपनहाइ, हुदुरधुरा, बडानाच पारम्परिक रूपमा नाच्ने गरेको पाइन्छ ।
राजवंशी महिलाको परम्परागत वेशभूषामा पेटानी, गाजी, बाराहाती, झाङ्गा गटी हुन् । पुरुषले धोती, गाम्चा, पाजाल, चादार, कमिज, पगडी, लङ्गौटी र कछाड लगाउँछन् । बेहुलीले लगाउने पहिरनलाई बरहथी परिधान भनिन्छ । जसमा १६ हातको गुलाबी रङको पेटानी हुन्छ ।
राजवंशी महिलाले औँठी, कानमा कुण्डल, कनौसी, नाकमा फूली, गलामा हसुली, मुगामाला, पाखुरामा मठा, खरुवा लगाउन्छन् । यस समुदायमा पेल्का, कान्जी, खारी, घोलटोल, सुकाती जस्ता परम्परागत झोलिलो खाद्यपदार्थ वा सुप खाने चलन छ । राजवंशी समुदायमा भक्का र पानको विशेष महत्व छ । राजवंशीमा सिरुवा, जितुवा, दधिकाद, जात्रा, गोरुऔँशी, एकादशी, डोलपावनी प्रमुख पर्व मानिन्छ । दशैँ, तिहार, शिवरात्रि, अनन्तव्रत जस्ता पर्व माने पनि फगुवालाई उनीहरू सबैभन्दा ठूलो चाड मान्दछन् । सिरुवालाई दोस्रो ठूलो पर्व मानिएको छ । यस अवसरमा ग्रामथानमा उनीहरू पूजाआजा गर्ने गर्छन् । एकादशीको व्रत बस्ने, रक्षाबन्धनमा राखी बाँध्ने चलन छ । यो मैथिली संस्कृतिको प्रत्यक्ष प्रभाव मान्न सकिन्छ ।
राजवंशी समुदायमा भाउजू–भजी वा भाउजीसँग ख्यालठट्टा, हाँसीमजाक, जिस्किने चलन छ तर बुहारी–भाउसानीसँग ख्यालठट्टा चल्दैन । केही सामान लिनुदिनु परे पनि परैबाट दिइन्छ । तथापि उमेरमै दाजुको मृत्यु भएमा घरपरिवारको सहमतिमा देवरले भाउजू स्याहार्ने परम्परा राजवंशीमा छ । श्रीमतीको मृत्युपछि वा परिवारको सहमतिमा साली भित्र्याउने पनि गरिन्छ ।