फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक २९ गते । सडकलाई असहाय मानिसविहीन बनाउन दत्तचित्त संस्था मानव सेवा आश्रमलाई हेमादेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ।
पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई एक लाख रुपैयाँ र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
गैरनाफामुखी मानवसेवा आश्रम सन् २०१२ मा हेटौडाबाट सुरु भएकोमा अहिले देशका मुख्य सहरमा यसका शाखा पुगेका छन् । कास्कीको पोखरा महानगरका वडा नम्बर १६ छोरेपाटन र वडा नम्बर २५ हेमजा पनि आश्रमका शाखा छन् । यो आश्रमले अहिलेसम्म १२ हजार तीन सय ७२ जनाको उद्धार गरेकोमा पाँच हजारभन्दा बढीलाई परिवारसँग पुनर्मिलन गराएको छ । अहिले आश्रमका विभिन्न शाखामा करिब दुई हजार आश्रित छन् ।
कार्यक्रममा प्रदेश प्रमुख भट्टले मानव कल्याणभन्दा ठूलो अरु धर्म नभएको उल्लेख गर्नुभयो । “यो भन्दा ठूलो अर्को धर्म छैन । सहयोगापेक्षी सडक आश्रित मानवको हित प्रशंसनीय कुरा हो,” उहाँले भन्नुभयो।
शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ ।
हेमबहादुर प्रधानले १५ लाखको अक्षयकोष खडा गरी स्थापना गरेको यो पुरस्कार २०८२ मा संस्थागत रुपमा मानव सेवा आश्रमलाई प्रदान गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने विचार राख्नुभयो ।
यो पुरस्कारबाट यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबा सम्मानित भइसक्नुभएको छ ।