• २९ कात्तिक २०८२, शनिबार

थाइल्यान्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका दुई सदस्य गिरफ्तार

blog

बैङ्कक, कात्तिक २९ गते । थाइल्यान्डका रेन्जरले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुई जनालाई पक्राउ गरेका छन् । उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले शनिबार जनाएको छ । 

‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यतः एशिया, उत्तर अफ्रिका र युरोपका केही भागमा पाइन्छ । म्याकाक बाँदरको प्रजाति धेरै विविध छ र यिनीहरूको आकार, रङ्ग र जीवनशैलीमा विभिन्नता पाइन्छ । थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्गको रूपमा परिचित छ, जहाँ दुर्लभ जनावर चीन, ताइवान र दक्षिणपूर्वी एसियामा कालो बजारमा महँगो मूल्यमा बेचिन्छन् ।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत जिल्लामा गाडीलाई रोकेर जाँच गर्दा सैनिकले बाँदर निलो जालोमा थुप्रिएको अवस्थामा फेला पारे । १२ औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमा जारी गरेको वक्तव्यअनुसार,“३:२० बजे दुई जनालाई पक्राउ गरी गाडीको निरीक्षण गरियो ।” सैनिकले ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरेका छन्, यद्यपि बरामद पदार्थको मात्रा खुलाइएको छैन ।

सोधपुछको क्रममा पक्राउ परेकाले थाइल्यान्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकार गरेका छन् । सैनिक प्रहरीसँग मिलेर उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण र लागुऔषध कानुन अन्तर्गत कारबाही अघि बढाइरहेका छन् ।

गत वर्ष थाइल्यान्डमा लगभग एक हजार दुर्लभ लेमुर र कछुवालाई म्याडागास्कर फिर्ता पठाएको थियो, जुन दुई देशबिचको सबैभन्दा ठुलो वन्यजन्तु तस्करीविरुद्धको अभियान थियो । यसै वर्ष मे महिनामा थाइल्यान्ड प्रहरीले दुई ओरेङ्गुटान बच्चा तस्करी गर्ने शङ्कास्पद व्यक्तिलाई पनि पक्राउ गरेको थियो । रासस/एएफपी