इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक २९ गते । पाल्पामा पशु स्वास्थ्य शिविर मार्फत विद्यालयले पशुपन्छी पालक कृषकलाई सेवा प्रदान गरेको छ ।
रामपुर नगरपालिका–७, स्थित आधारभूत माध्यमिक विद्यालयले शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी कृषकलाई सेवा दिएको हो ।
कक्षा नौ देखि १२ सम्म पशु विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले किसान एग्रोभेटको औषधी सहयोगमा शिविर सञ्चालन गरेको हो ।
शिविरमा विद्यालयका पशु चिकित्सकहरु सँगै विद्यार्थीले सेवा दिएका थिए । गाई, भैँसी, बाख्रा, कुखुरा र घरपालुवा कुकुर लगायत पशुपन्छीको स्वास्थ्य परीक्षण सहित कृषकलाई परामर्श प्रदान गरी औषधी समेत वितरण गरेको थियो ।
शिविरमा १५० कृषकको एक हजार बढी पशुपन्छीलाई निःशुल्क औषधी वितरण गरिएको पशु चिकित्सक डा.नीरज श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा पशुको गोबर परीक्षण सँगै आन्तरिक पश्चात बाह्य परजीवी नियन्त्रण, जीवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका रोगहरुको औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।
साथै पशु बन्ध्याकरण सेवा संगै १० वटा घरपालुवा कुकुरको लागि रेबिज विरुद्धको भ्याक्सिन समेत प्रदान गरिएको थियो ।
शिविर शुभारम्भ गर्दै लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले कृषि प्रधान देशको उत्थानका लागि दक्ष जनशक्ति तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले विद्यालयले कृषकहरूको लागि लक्ष्यित गरी शिविर सञ्चालन गर्नु गौरवको विषय भएको बताउनुभयो । विद्यार्थीलाई ज्ञान र सीप सँगै कृषक प्रति थप जिम्मेवार बनाउन शिविर सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिनुभयो ।
समुदायमा रहेका कृषकलाई सेवा प्रदान गर्नुका साथै पशु विज्ञान विषयको महत्व बुझाउन शिविर सञ्चालन गरिएको प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो । विद्यालयले आवश्यकता अनुसार शिविर सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।
विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन पशुपन्छी फार्म सँगै कृषकको सेवाका लागि भेटेरेनरी क्लिनिक र ल्याब पनि सञ्चालन गर्दै आएको छ । विद्यालयमा पशुविज्ञान तर्फ ५६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।