नवराज कट्टेल
विराटनगर, असार ३१ गते । जारमै चिसो रहने प्रशोधित पिउने पानी उत्पादन र बिक्रीवितरण गर्ने अनुमति छैन । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्रीवितरणलाई मान्यता दिँदैन । तथापि तराईका जिल्लामा यस्तो पानी उत्पादन गर्ने बेच्ने काम हुँदै आएको छ ।
कानुनी मान्यता नपाएको यस्तो पानी, उद्योगले उत्पादन गरेर बिक्री गर्दा नियामक निकाय पनि मौन छ । उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ भनेर उत्पादन अनुमति नदिने गरिए पनि बजारमा निर्बाध बिक्रीवितरणमा हुँदा नियामक निकाय आँखा चिम्लन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले निर्देशिकामै नभएको कुरालाई कुनै उद्योगले स्वीकृति माग्दा दिन नसकिने बताउनुभयो । झापा, मोरङ र सुनसरीमा रहेका धेरै उद्योगले चिसो पानी उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् ।
कार्यालय प्रमुख राईले बोतल र सामान्य जारमा उत्पादन अनुमति लिएका उद्योगले चिसो पारेर जारमा पानी बेच्दै आएको भए पनि त्यसमा उद्योगीको आफ्नै जिम्मेवारी हुने बताउनुभयो । प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योग घरेलु तथा साना उद्योग अन्तर्गत दर्ता भएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुमति लिने गरेका छन् ।
पानी उत्पादक उद्योगीलाई अनुमति दिने र पानीको गुणस्तर अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृत नगरे पनि बजारमा यस्तो पानी प्रशस्त पाउँदा त्यसको गुणस्तर मापन पनि ओझेलमा पर्ने गरेको छ । स्वीकृत पनि नदिने र नियमन पनि नगर्ने मौकामा उपभोक्ताको स्वास्थ्यमा पार्ने असर गम्भीर हुन सक्ने देखिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राईका अनुसार यस्तो जारमा पानी बेच्न नपाइने तीन वटा कारण छन् । पहिलो यस्तो जारमा सिल प्याक हुँदैन, दोस्रो जार सफा गर्न सहज छैन र तेस्रो यसमा स्वचालित भर्ने प्रणाली छैन । यो जार सफा गर्न मेसिनले नसकिने प्रकृतिको हुन्छ । यसको भित्री भाग समतल हुँदैन । त्यही भएर यसमा लामो समयपछि लेउ लाग्ने, ढुसीयुक्त उत्पादन हुने र त्यसले पानीलाई दूषित बनाउन सक्ने सम्भावना हुन सक्छ ।
मापदण्ड अनुसार बोतलमा भर्ने पानी अटोमेटिङ फिलिङ हुनु पर्छ । नर्मल जारको पानी भर्ने विधि परम्परागत नै छ । नर्मल जारलाई मेसिनले सफा गर्न मिल्छ । नर्मल जारमा अनिवार्य लेबल र सिलप्याक राख्नुपर्ने हुन्छ । लेबल र सिलप्याक भएको पानीमा कैफियत हुने सम्भावना कम हुन्छ भएमा त्यसमा कारबाही चलाउन सहज हुन्छ ।
सिलप्याक नभएको जारको चिसो पानीमा बाहिरबाट कुनै वस्तु मिसावट गर्न सकिने सम्भावना प्रबल हुन्छ । यदि कुनै उद्योगमाथि कोही कसैले बदमासी गर्ने नियत राखे त्यसको बिर्को खोलेर कुनै वस्तु मिसाउन सक्ने कार्यालय प्रमुख राईको भनाइ छ । उद्योगीको आफ्नो जिम्मेवारीमा यस्तो जारको पानी उपभोक्तासम्म पुगिरहेको विषयलाई नियन्त्रण गर्ने विषयसमेत अलमलमा देखिन्छ ।
नेपाल पानी उत्पादक महासङ्घ कोशीका अध्यक्ष पुण्य भट्टराईले पानी उद्योगले गुणस्तरमा कुनै पनि कमी राख्ने सम्भावना अहिले न्यून रहेको बताउनुभयो । उहाँले चिसो पानी रहने जारको प्रयोग गरेर बिक्रीवितरण गर्ने कुरालाई अहिलेसम्म अनुमति नभए पनि कतिपय उद्योगले यस्तो प्रयोग गरिरहेको बताउनुभयो । पानी प्रशोधन गर्ने विधि एउटै भएपछि चिसो राख्ने किसिमको जारमा पानी भरेर चिलिङमा राखिन्छ । त्यसको कभर बाक्लो भएका कारण १२ घण्टासम्म पानी चिसो रहने गर्छ । अध्यक्ष भट्टराईले यसलाई सफा गर्न मेसिन प्रयोग गर्न नमिल्ने किसिमको हुने गरेको बताउनुभयो ।
कोशी प्रदेशमा हाल १६८ वटा पानी प्रशोधन गर्ने उद्योग सञ्चालनमा छन् । यीमध्ये तराई क्षेत्रका उद्योगले चिसो पानी जारमा भरेर बेच्दै आएका छन् । मोरङमा ४२ उद्योगले पानी प्रशोधन गर्दै आएका छन् ।