यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), असार ३१ गते । बारबर्दिया नगरपालिका–३, खुरखुरे बस्ने चाँदनी शाहीका बुवाआमा दुवै बिरामी हुनुहुन्थ्यो । बुवाको मिर्गौला फेल भएको थियो भने आमाको मुटुमा प्वाल परेको थियो । आमाबुवा उपचारका लागि काठमाडौँ बस्नुभएको थियो । उपचारका लागि भए जतिको धनसम्पत्ति सिध्याउँदासमेत बुवालाई सन्चो भएन । अन्ततः बुवाको मृत्यु भयो । बुवाको मृत्यु भएपछि चाँदनीको कक्षा ४ मा पढाइ रोकियो । उहाँलाई गाउँका जनप्रतिनिधिले असहाय बालबालिका संरक्षण केन्द्रमा पुर्याएपछि उहाँले पढाइलाई निरन्तरता दिन पाउनुभयो । अहिले उहाँ एसइई पास भइसक्नुभएको छ ।
चाँदनी शाहीले भन्नुभयो, “असहाय बालबालिका संरक्षण केन्द्र नभएको भए मैले पढ्न पाउँदैनथेँ । अहिले पढ्ने, लेख्ने अवसर पाएको छु ।”
खुरखुरेकै विपना विकका बुवा सानैमा बित्नुभयो । आमाले छोडेर अर्को विवाह गरेर गएपछि उहाँ हजुरबुवा हजुरआमासँग बस्नुहुन्थ्यो । परिवारको कमजोर आर्थिक अवस्था भएको हुनाले उहाँको पढाइ कक्षा ३ मा रोकिने अवस्था भयो तर अहिले बारबर्दिया नगरपालिका–११ मा रहेको असहाय बालबालिका संरक्षण केन्द्रमा बसेर कक्षा १० मा पढ्दै हुनुहुन्छ ।
विपना र चाँदनी जस्तै बारबर्दिया नगरपालिकाले सञ्चालन गरेको असहाय बालबालिका संरक्षण केन्द्रमा हालसम्म ३८ जना बालबालिकाले आश्रय पाइसकेका छन् । अभिभावक नभएका, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई असहाय बालबालिका संरक्षण केन्द्रमा राख्ने गरिन्छ । २०७५ सालमा स्थापना गरेको संरक्षण केन्द्रमा हाल पाँच बालिका र १० बालक रहेका छन् । बालबालिकाको संरक्षण र स्याहार गर्नका लागि दुई जना आमा, दुई जना सुरक्षा गार्ड र एक जना वार्डेन राखिएको छ । सुरुमा २० जना बालबालिकालाई राखेर संरक्षण केन्द्रको सुरुवात गरिएको थियो ।
संरक्षण केन्द्रका वार्डेन कृष्णराम चौधरीले १८ वर्ष उमेर पुगेर, कक्षा १२ उत्तीर्ण गरेर, आफूलाई इच्छा लागेको विषय पढ्न अन्यत्र गएर र पारिवारिक मिलन भएर हालसम्म २३ जना बालबालिका संरक्षण केन्द्रबाट बाहिर गइसकेको बताउनुभयो । तीमध्ये कक्षा १२ उत्तीर्ण गरेर पाँच जना निस्किएका छन्, १८ वर्ष उमेर पुगेर १० जना रहेका छन् । बारबर्दिया नगरपालिका देशकै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित घोषणा गर्ने पहिलो नगरपालिका बनेको थियो ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले घोषणासँगै अभिभावकविहीन र जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्ने र निःशुल्क शिक्षा दिने उद्देश्यका साथ संरक्षण केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले अनाथ, अभिभावकविहीन र विपन्न १८ वर्षमुनिका बालबालिकालाई संरक्षण केन्द्रमा राख्ने गरेको बताउनुभयो ।
बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्नाकुमारी पाण्डेले संरक्षण केन्द्रका लागि वार्षिक ३० लाख रुपियाँ बजेट छुट्याउने गरेको बताउनुभयो । उहाँले अपुग भएमा थप बजेट छुट्याउने गरी बालबालिकाका लागि खान बस्न, लत्ताकपडा, कापीकिताब र अन्य व्यवस्थापनको काम गरिएको बताउनुभयो । उहाँले बारबर्दिया नगरपालिकाभित्रका स्थानीयवासी, जनप्रतिनिधि, वडा कार्यालयले गरेको सिफारिस र खबरका आधारमा बालबालिकाको पारिवारिक स्थिति हेरेर संरक्षणगृहमा ल्याउने गरेको बताउनुभयो ।