• ३१ असार २०८२, मङ्गलबार

हेटौँडामा ३० शय्याको प्रहरी अस्पताल बन्दै

blog

बागमती प्रदेश प्रहरी कार्यालयको शिलान्यास गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार ३० गते ।
बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण सुरु गरिएको छ ।हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मङ्गलबार शिलान्यास गर्नुभयो ।

अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दा लाभान्वित हुने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब महानिरीक्षक  अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याललगायतको उपस्थिति थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संचरनाहरु पहिलो चरणमा बन्ने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने योजना अनुसार पहिलोचरणमा १६ शय्याको अस्पताल आगामी २०८३ पुस १८ गतेभित्रमा मूल्य अभिवृद्धि करसहित आठ करोड तीन लाख ७१ हजार ७३८ रुपियाँको लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

अस्ताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले जानकारी दिनुभयो । हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।