रामेछाप, सिन्धुलीमा बढी बसोबास भएका हायू जाति लोपोन्मुख जातिमा सूचीकृत छ । आफ्नो भाषा, भेष, संस्कार र संस्कृति रहेका हायू जाति राज्यका सेवा सुविधाबाट वञ्चित समूहमा समेत पर्दछ । त्यसैले राज्यले २०६४÷६५ सालदेखि हायू जातिलाई मासिक भत्ताको समेत व्यवस्था गर्दै आएको छ ।
जीविकाको खोजीमा रामेछाप, सिन्धुली हुँदै हायू जाति सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहालगायत जिल्लामा समेत छिटफुट रूपमा फैलिएको पाइन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातिलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गरेको छ । सो सूचीको ५८ नम्बरमा हायू (वायू) भनेर राखिएको छ ।
हाम्रो समाज एक अध्ययन (२०३९) मा जनकलाल शर्माले “नेपाल अधिराज्यको मध्यपहाडी भागको पूर्वी भागमा वायू नामको एउटा समूह छ र त्यो त्यसै नामको बोली बोल्दछ । वायूलाई विकृत अर्थमा हायू पनि भनिन्छ । यिनीहरू कोशी नदी दक्षिणको मैदानी भागतिर लाग्न मोडिएको ठाउँमा नदीको दुवै भागमा बसेको पाइन्छ,” भनेका छन् ।
डिआर पोखरेलले हायू जातिको लोकजीवन (२०७०) पुस्तकमा पृथ्वीनारायण शाहले १८२७ सालमा सिद्ध भगवन्तनाथलाई मण्डल्याइदिने व्रmममा ‘हायू’ लगायतका चौध जातिका मानिससँग रकमकलम उठाउन पाउने अभिलेख गरिदिएको उल्लेख छ । यस तथ्यले हायू जाति त्यस बेलादेखि नै अस्तित्वमा रहेको पुष्टि गर्दछ ।
हायू जातिलाई पहिले दास जातिका रूपमा राखिएको थियो । इसं १८५३ को नेपाल मुलुकी ऐनले हायू जातिलाई बेचबिखन गर्न सकिने र सैनिक सेवामा भर्ती हुन नपाउने जातजातिको समूहमा राखेको पाइन्छ (मेचीदेखि महाकाली, भाग २, पृ.१६९) । तर २०१९ सालको नयाँ मुलुकी ऐनले जातजातिबीच भेदभाव हटाएकाले यस जातिले पनि सामाजिक समानता र न्याय प्राप्त गरेको अनुभूति गरेको थियो । तथापि शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपमा पछाडि परेको यो जाति पछिल्ला वर्षमा हरेक क्षेत्रमा अघि बढ्ने प्रयासमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हायू जातिको जनसङ्ख्या तीन हजार ६९ रहेको छ । यसमा महिलाको एक हजार ५८३ र पुरुषको एक हजार ४८६ सङ्ख्या छ । हायू जातिको जनसङ्ख्या २०५८ सालको जनगणनामा एक हजार ८२१ थियो । त्यस्तै २०६८ सालको जनगणनामा दुई हजार ९२५ हायूको जनसङ्ख्या रहेको देखिन्छ । यस हिसाबले हायू जातिको जनसङ्ख्या बढ्दै गएको पाइन्छ ।
होचो कद, गहुँगोरो देखिने हायू जातिको रूप रङ दनुवार र थारू जस्तो देखिए पनि सांस्कृतिक र भाषिक रूपमा सुनुवारसँग निकटता देखिने विद्वान् लेखकले उल्लेख गरेका छन् ।
भाषा आयोगले २०७५ सालमा प्रकाशन गरेको ‘हायू भाषाको इतिहास’ मा हायू जातिको विशिष्ट र पृथक् पेशा नरहेको र कृषि नै प्रमुख पेशाका रूपमा अँगालेको पाइने उल्लेख छ ।
भाषा
हायू जातिको आफ्नै भाषा भए पनि वक्ताको सङ्ख्या घट्दै गएको छ । बसाइँसराइ गरी विभिन्न ठाउँमा छरिन थालेका हायू जातिले आफ्नो भाषा गुमाउँदै जान थालेका छन् ।
मेचीदेखि महाकाली पुस्तकमा ‘हायू भाषालाई किराँती भाषा समूहको एक विशेष हाँगा मान्न सकिन्छ’ भनिएको छ । सो पुस्तक अनुसार किराँती भाषा समूहमा हायू, सुनुवार, राई र लिम्बू भाषालाई लिन सकिन्छ । यस किराँती भाषा समूहलाई तिब्बती–बर्मेली भाषा समूहको एक सानो भाग मान्न सकिने अवस्था छ तर किराँती भाषामा पनि बान्तवा राई र लिम्बूका भाषा पश्चिमतिर बोलिने हायू भाषासमेत अरू भाषिकाबाट भिन्न भएको पाइन्छ ।
हायूका थर
हायू जातिको पुर्खा र पुख्र्यौली थातथलोबारेमा यकिन खोज, अध्ययन र पुष्टि हुन सकेको पाइन्न । हायू जातिको थरको विकास कसरी भयो भन्ने समेत यकिन खोज हुन सकेको छैन । भूपहरि पौडेलले प्राचीन नेपालमा लेखेको ‘नेपालका अल्पसङ्ख्यक र लोप हुन लागेको जातिः हायू’ लेखमा “दोक्खुम, याक्खुम, कोसीनु, काम्ले (कसैले अशुद्ध रूप काम्ले मान्छन् र शुद्ध रूप कम्लिश्वी, तैपनि अज्ञातनावश अशुद्ध रूप काम्ले नै प्रयोग गर्छन्) आदि हुन ।” भनेका छन् ।
पौडेलले हायू जातिले आफ्नो परम्परागत थर नलेखी ‘राई’ भनेर चिनाउन चाहने गरेको समेत उल्लेख गरेका छन् । हायू जातिले किन ‘राई’ लेखाउन थाले भन्ने विषयमा पौडेलले सो लेखमा रोचक तथ्य प्रस्तुत गरेका छन् । सो लेखमा उल्लेख भए अनुसार “दुम्जाका धैर्यबहादुर आइएसम्म अध्ययन गरेका (२०४० मा हायू जातिको अनुसन्धान गर्दाको विवरण अनुसार) नवयुवक हुन् । उनी परेवाडाँडाको विद्यालयमा शिक्षक छन् । उनी हायू परिवारका मानिस हुन् र उनको थर याक्खुम हो तर यसलाई लुकाएर उनले ‘राई’ लेख्न थालेका छन् । यसबाट हायू जातिमा आएको हिनताबोध स्पष्ट हुन्छ ।”
हायू जातिमा चार थर हुन्छन् । ती हुन् जेफम् याककुंको, सिग्नो, वालुङ र कमलेस्छो । प्रत्येक घरको आफ्नो कुल देवता हुन्छ र उक्त थरमा पर्ने विभिन्न परिवार मिलेर दशैँमा कुलघरमा पूजा गर्छन् । सो अवसरमा मुलामी (जेठोपाको) ले रित पुर्याएर पूजा गर्नुपर्छ । यिनीहरूको आफ्नो थरभित्र बिहेवारी चल्दैन (मेचीदेखि महाकाली, २०३१) ।
सूचना विभागले २०३१ सालमा प्रकाशन गरेको ‘मेचीदेखि महाकाली–भाग २’ मा हायू जातिको चर्चा गरिएको छ । हायू जातिका सन्दर्भमा सो पुस्तकमा उल्लेख गरिएको जानकारी “अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय अन्तर्गतको भाषा विज्ञान विभागका श्री वोयड् भिखायलोभस्कीले ई. १९७२ र १९७३ मा लिएको यसै (रामेछाप) जिल्लाको हायूहरूको सर्वेक्षणमा आधारित छ,” भनी उल्लेख गरेको पाइन्छ ।
सो पुस्तकको १६७ पृष्ठमा ‘हायू जातिको बसोबास रामेछाप जिल्लाको मुराजोर पञ्चायत क्षेत्रमा विशेष गरी पाइन्छ ।’ भनिएको छ । सो पुस्तकमा उल्लेख गरिए अनुसार हायूहरूले आफ्ना पुर्खा दक्षिण दिशातिर रहेको लङ्कापलङ्काबाट आएका हुन् भन्छन् । यसको ठीक अवस्थिति बताउन नसके पनि लङ्कापलङ्का भन्ने ठाउँहरू सँगसँगै रहेको अनुमान गर्छन्, पुस्तकमा भनिएको छ ।
पुस्तकमा अगाडि उल्लेख गरिएको छ, “तर उनीहरूले आफ्नो पुर्खाबारे एउटा कुरामा भने दृढ विश्वास गरेको पाइन्छ । सो के भने नेपाल पसेका हायूका पुख्र्याैलीमा धेरै दाजुभाइ थिए र त्यसमध्ये कान्छोबाट निस्केका सन्तान हायू हुन् ।”
ती दाजुभाइ बसाइको खोजमा नेपालको पहाडतिर लाग्दा कान्छो चाहिँ सबभन्दा पछि परेको थियो र उसले आफ्नो जन्मस्थानबाट ल्याएको ठूलो ढोल बोकेकाले हिँड्न सकेको थिएन । जब ऊ सुनकोशी तरेर मुराजोर पुग्यो सो ढोलबाट टिङटिङ आवाज निस्कन लाग्यो र उसले यो आवाजलाई त्यस ठाउँमा रोकिने र त्यहीँ बस्ती बसाउने सङ्केत मानेर बस्यो । त्यस ढोलका लागि एउटा सानो घर बनायो । उसका दाजुहरू अघि गइसकेका थिए । उनीहरू सुनुवार, राई र लिम्बूका पुर्खा भएको पुस्तकमा उल्लेख गरिएको छ ।
उक्छिमी/उप्छिमी रानी
हायू जातिमा उक्छिमी रानीको विशेष महत्व रहेको पाइन्छ । रामेछाप नगरपालिका–७, मुडाजोरस्थित उप्छिमी रानीको मन्दिरमा हरेक वर्ष एक हप्तासम्म मेला लाग्छ । हायू जातिका पुरुष पुजारी हुन्छन् । यो पूजालाई हायू जातिले विशेष हर्षोल्लाससाथ मनाउँछन् । साधारणतया फागुपूर्णिमा वा वसन्तपञ्चमीको समयमा पर्ने गरी यो पूजा गरिन्छ । गैरहायू जातिले उप्छिमी रानीलाई महाङ्कालदेवी भन्ने गरेका पाइन्छ ।
भाषा आयोगको हायू भाषाको इतिहास (२०७५) मा उल्लेख भए अनुसार रामेछाप जिल्लाको मुडाजोरमा उक्छिमी रानीको थान रहेको छ । त्यहाँ एउटा ठूलो काभ्राको रुख छ । त्यहाँ नै देवीको निवास रहेको विश्वास गरिन्छ । ठूला ठूला जराकाबीच एउटा ठूलो प्वाल छ । त्यहीँभित्र देवीको बास छ भनी विश्वास गरिन्छ ।
सो पुस्तकमा लेखिएको छ, “यस प्वालको चारैतिर सैकडौँ सङ्ख्यामा त्रिशूल (विभिन्न धातु सुन, चाँदी, फलाम आदि) र घण्टा छन् । भाकल गर्ने र पूजा गर्नेले ती घण्टा त्रिशूल चढाएका हुन् । उक्छिमी रानीको पूजामा बजाइने बाजा दोमकी (ढोलक) र ज्यामकी (झ्याम्टा) लाई राख्न गुठीघर बनाइन्छ । जुन बाजा वर्षमा एक पटक मात्र पूजा अवधिभर बाहिर निकालेर बजाइन्छ ।”
मेचीदेखि महाकाली (२०३१) मा उल्लेख भए अनुसार हायूको सबभन्दा ठूलो चाड देवीको सेवा (जात्रा) हो । सो देवी पूजा जोर वर्षमा फागुन महिनामा र बिजोर वर्षमा माघ महिनामा गरिन्छ । यो पूजा बिहीबार सुरु हुन्छ र नौ दिनसम्म रहन्छ । पहिलो पाँच दिनसम्म ढोल राखिएको घरमा अनेक उत्सव मनाउँछन् र नाचगान खुब चल्दछ । यस चाडको मुख्य दिन छैटौँ दिन (मङ्गलबार) हो जब देवीको पूजा हुन्छ । त्यस दिन गाउँका सारा मानिस जम्मा हुन्छन् । अर्को दिन साँझसम्म कुनै कार्यक्रम हुन्न र साँझ परेपछि नाचगान सुरु हुन्छ ।
पुस्तकमा भनिएको छ, “यस नाचमा गाउँका साना ठिटाले भाग लिन्छन् र बीचबीचमा ठूला मानिस पनि त्यसमा सम्मिलित हुन्छन् । त्यसमा प्रत्येकले आफूभन्दा अगाडिको व्यक्तिको पाखुरा समाउँछ र ती ठिटा वृत्ताकारमा तालको साथ घुम्ने गर्छन् । सो नाच हुँदा दुई जनाले ढोल र एक जनाले झ्याली बजाउँछन् तथा दुई/तीन जनाले गाउँछन् । त्यसमा देवीको आराधना गरिन्छ र राति अबेलासम्म सो नाच विभिन्न तालमा चलिरहन्छ ।”
आखिरी बिहीबार र शुक्रबार सो नाच गाउँका सबै घरमा पालैसित लगिन्छ र आँगन र घरभित्रसमेत नचाइन्छ । नाच सिद्धिएपछि ढोल र झ्यालीलाई चोखो ठाउँमा राखिन्छ तथा नाच्ने, गाउने र दर्शक छ्याङ (जाँड) खान थाल्छन् । छ्याङलाई देवीको प्रसाद मानिन्छ र जसको आँगनमा नचाएको हो सोही घरका मानिसले सो प्रसाद दिने कुरा मेचीदेखि महाकाली (२०३१) पुस्तकमा उल्लेख गरिएको छ ।
यस अवसरमा पूजा गरिने देवी पनि हायूका पुर्खा सँगसँगै लङ्कापलङ्काबाट आएको विश्वास गरिन्छ । देवीलाई गाउँको मध्यभागमा एक काभ्राको रुखमा धेरै घण्टी र त्रिशूलको साथमा स्थापना गरिएको हुन्छ । हायूहरूले सुँगुरको मासु खाने भए पनि देवीमा कुनै भोग नचढ्ने भएकाले हायू गाउँमा सुँगुर पालिन्न भनेर सो पुस्तकमा लेखिएको छ ।
देवी पूजाको अवधिमा खुकुरी र दाप सबै लुकाएर राख्नु पर्छ । गाउँमा कसैले जुत्ता लगाउनु हुन्न र लौरो लिएर हिँड्न पनि हुन्न । देवीको खास दिन मङ्गलबार मानिन्छ र प्रत्येक मङ्गलबार हायू पुजारीले देवी स्थानमा दूध चढाउँछ ।
मृत्यु संस्कार
मेचीदेखि महाकाली (२०३१) मा उल्लेख भए अनुसार मृत्युपछि हायूहरूले शव गाड्छन् । यिनीहरूको परम्परा अनुसार खुट्टा खुम्च्याएर छातीमा अडाई शवलाई थचक्क बसाइन्छ । छोराले बोकेर लगी करिब डेढ मिटर जति गहिरो खाल्डामा त्यसलाई राखिदिन्छ र त्यहाँ दैनिक जीवनमा चाहिने चामल, पानी, तरकारी आदि राखिन्छ । त्यसपछि खाल्डालाई पहिले ढुङ्गाले छोपिन्छ र त्यसमाथि माटोले पुर्ने काम हुन्छ । सो ठाउँमा एउटा सानो झ्याम्टाको सङ्केत चिह्न उनीहरूले राखिदिन्छन् । अर्को दिन सुँगुर काटिन्छ र मरेको तेस्रो दिनमा मृतकका आफ्ना नाता कुटुम्बलाई भोज खुवाइन्छ । मृतकको विवाहित छोरीलाई सबभन्दा पहिले खुवाइन्छ र घरेलु सामानको उपहारको साथमा तिनलाई घरसम्म पुर्याइन्छ । मृतक पुरुष भए ज्वाइँलाई र स्त्री भए छोरीलाई एक जोर नयाँ लुगा हालिदिने चलन पनि छ ।
–युवामञ्च