• ३१ असार २०८२, मङ्गलबार

गरिबी अन्त्यमा भूमि अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिरः मुना हमाल

मुना हमाल

सुर्खेत, असार ३१ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोवास, गरिबी र सामाजिक असमानता अन्त्य गर्न भूमिको स्वामित्व हुनु आवश्यक भएको बताउनुभएको छ । 

मङ्गलबार चौकुने गाउँपालिका वडा ७ र ८ का भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘जो व्यक्तिसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न सक्दैन, त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेका छौँ ।’ 

मुख्यमन्त्री कँडेलले भने भूमिहीन तथा अव्यवस्थित रूपमा बसोवास गर्दैआएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ ।” 

मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्वासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिने बताउनुभयो ।