मुना हमाल
सुर्खेत, असार ३१ गते । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले मिडियाको भूमिकाले प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभएको छ ।
मङ्गलबार प्रदेश सभामा आयोजित कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । उहाँले सञ्चार क्षेत्र प्रदेशसभा र नागरिकलाई जोड्ने पूलको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसदको बहस, जनप्रतिनिधिका विचार तथा दृष्टिकोण र गतिविधिलाई जनतासम्म पुर्याउने माध्यम सञ्चारमाध्यम हो । हाम्रा क्रियाकलापहरु जति धेरै जनपक्षीय, पारदर्शी र खुला हुन्छन्, उति धेरै विश्वास आर्जन गर्न सकिन्छ । सञ्चार क्षेत्रलाई प्रदेशसभा र नागरिकलाई जोड्ने पुलका रूपमा हेरिनुपर्छ ।’
संसदीय व्यवस्थालाई जिम्मेवार, व्यवस्थित र मर्यादित बनाउन सञ्चार क्षेत्रको उल्लेखनीय भूमिका रहने भन्दै संसद र सञ्चारको सहकार्यले नै सङ्घीय व्यवस्था सुदृढ बनाउन सकिने उहाँले बताउनुभयो । प्रदेशसभा अहिले सिकाइकै चरणमा रहेकाले प्रदेशसभा परिपक्व बन्ने प्रयास गरिरहेको बताउनुभयो ।
प्रदेश सभालाई जीवन्त र जनमुखी बनाउने कार्यमा हामी सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । संसदको कार्यभार सांसदले मात्र थाहा पाएर नहुने भन्दै उहाँले यसबारे नागरिकले पनि बुझ्न सके संसदीय प्रणाली अझै व्यवस्थित हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदको कार्यभार सांसदले मात्र थाहा पाएर हुँदैन् । त्यसबारे आम नागरिकले पनि बुझ्न सके संसदीय प्रणाली अझ व्यस्थित हुन्छ । अनि मात्र हामीले व्यवस्था गरिरहेको व्यवस्था सुदृढ र बलियो बन्दै जान्छ । प्रदेश सभालाई जीवन्त र जनमुखी बनाउने कार्यमा हामी सबैको हातेमालो गर्न जरुरी छ ।’