• २३ वैशाख २०८१, आइतबार

क्यान्सर र यौन

blog

क्यान्सर र यौन विषयमा कुरा गर्दा दुइटा पक्षबाट कुरा गर्नुपर्ने हुन्छ । पहिलो, यौन सम्बन्ध वा यौन क्रियाकलापकै कारण कुन कुन क्यान्सर लाग्ने सम्भावना हुन्छ ? दोस्रो, के क्यान्सर लाग्नेबित्तिकै प्रभावित व्यक्तिको यौन जीवन सकिन्छ ? 

अब पहिलो पक्षका बारेमा छलफल गरौँ । कतिपय सङ्क्रामक रोग जस्तै क्यान्सर र यौन कार्यबीच पनि प्रत्यक्ष सम्बन्ध छ । सानै उमेरदेखि तथा धेरै जनासँग यौन सम्बन्ध राख्नु पाठेघरको मुखको क्यान्सरको मुख्य जोखिम तत्व हो । त्यसो त एचपीभी (ह्युम्यान पापिलोमा भाइरस) ले अधिकतर महिला वा किशोरीलाई जीवनकालमा एक न एक पटक सङ्क्रमण गर्दछ नै । एचपीभी सङ्क्रमण हुँदैमा पाठेघरको मुखको क्यान्सर लागिहाल्छ भन्ने पनि होइन तर चुरोट पिउने व्यक्तिलाई फोक्सो क्यान्सर लाग्ने सम्भावना बढी भए जस्तै अधिक यौनिक क्रियाकलापले एचपीभीको सङ्क्रमण बढ्ता हुन्छ । 

यसमध्ये एचपीभी–१६, एचपीभी–१८ उपजातिको कारण पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भावना बढ्छ । एचपीभी सङ्क्रमणका कारण पाठेघरको मुखको क्यान्सरका साथै स्त्री जननेन्द्रिय बाहिरको भाग (भल्भा) को क्यान्सर, योनिमार्गको क्यान्सर, पुरुष लिङ्गको क्यान्सर, मुख एवं घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ ।

एचआईभी सङ्क्रमण/एड्स रोगका साथै हेपाटाइटिस बी, सी र डी पनि असुरक्षित यौन क्रियाकलापबाट सर्दछ । एचआईभी सङ्क्रमितमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले क्यान्सर लाग्ने एवं क्यान्सर लागिहालेमा मृत्यु हुने जोखिम बढ्छ । एचआईभीकै कारण रगतको क्यान्सर एवं कापोसी कार्सिनोमा भनिने छालाको क्यान्सर हुने जोखिम हुन्छ ।

हेपाटाइटिस बी, सी र डीको सङ्क्रमणबाट कलेजो तथा पित्त बहने नलीको क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । त्यसैगरी इप्स्टेन बार भाइरसका कारण रगतको तथा मुख एवं घाँटीको क्यान्सर हुने जोखिम हुन्छ । यौनाङ्गमा आउने मुसा पछि गएर क्यान्सरमा परिणत हुन सक्छ । 

एन्टिबायोटिकको उपयोगसँगै यौन सङ्क्रमणमा आएको कमीले कतिपय क्यान्सरको सम्भावनामा पनि कमी आएको पाइन्छ । यौन सङ्क्रमणका कारण प्रोस्टेटको सुजन भई कालान्तरमा प्रोस्टेट क्यान्सर हुने जोखिम हुन्छ । त्यसैले सानै उमेरदेखि तथा धेरै जनासँग यौन सम्पर्क राख्यो भने प्रोस्टेटको क्यान्सरको जोखिम झन् बढ्ता हुन्छ ।

क्यान्सर प्रभावितको यौनजीवन

अब दोस्रो पक्षतिर लागौँ । के क्यान्सर लाग्नेबित्तिकै प्रभावित व्यक्तिको यौन जीवन सकिन्छ ? आधुनिक चिकित्सा विज्ञानको उच्चतम विकाससँगै समयमै उपचार गराएको खण्डमा हाल धेरै क्यान्सरको उपचार सम्भव छ । तर पनि कसैलाई क्यान्सर लागेको कुरा थाहा पाउनासाथ निराश भइहाल्ने र अधमरो जीवन बिताउनेको सङ्ख्या अधिक देखिन्छ तर वास्तविकता त्यसो होइन । क्यान्सर प्रभावितले पनि आफ्नो यौन जीवन कायम नै राख्न सक्छन् । सय वर्ष बाँच्ने भाग्य कति नै मानिसले लिएर आएको हुन्छ र ? त्यसो भएर क्यान्सरसँगै बाँच्न अभ्यस्त हुन जरुरी छ ।

यौन प्रतिक्रिया चक्र अर्थात् यौन क्रियाकलापको अन्तिम गन्तव्य योनि र लिङ्गबीचको मिलन वा घर्षण हो तर यही मात्र यौन साध्य भने होइन । क्यान्सरको निदानको क्रिममा, शल्यक्रियाको समयमा, केमोथेरापी, रेडियोथेरापीका बेला यसरी शारीरिक तवरमा यौन सम्बन्ध नै राख्न सम्भव नहोला । त्यसमाथि पाठेघरको मुख, पाठेघर वा पुरुष लिङ्गमै क्यान्सर भएका बेला वा तल्लो पेटमा जननेन्द्रिय वरिपरिका अङ्गमै क्यान्सर हुँदा भौतिक रूपमा यौन सम्पर्क नै राख्न सम्भव हुँदैन तर योनि र लिङ्गबाहेक महिला, पुरुषको शरीरमा यौन क्रियाकलापका हिसाबले महत्वका अन्य अङ्ग पनि छन् । 

जीव विज्ञानका अनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति यौनिक हिसाबले आकर्षक पैदा गर्ने गुण रहेका हुन्छन् । यसै कारण पनि विशेषतः किशोरावस्था पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षण बढ्न थाल्छ । यस्तैमा पुरुष तथा महिलाका लागि आ–आफ्नै यौन आकर्षणका अङ्ग वा अपेक्षा हुन्छन् । महिलाको शरीरमध्ये अनुहारमा ओठ, गाला, आँखाका साथै वक्षस्थल, काँध, नाइटो, कम्मर, पिठ्युँ, तिघ्रा, पिडौँला, पैताला यौन आकर्षणका अङ्ग हुन् । त्यसैगरी पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौँ यौन आकर्षण बढाउने भाग हुन् । पुरुषको ओठ, आँखा पनि आकर्षक नै मानिन्छ । 

यी त भए यौनका हिसाबले आकर्षक अङ्गहरू । अब योनि र लिङ्ग मिलनबाहेक अन्य यौन क्रियाकलापले पनि उत्तिकै यौन आनन्द प्राप्त गर्न सम्भव हुन्छ । यस्तैमा यौनपरक भलाकुसारीको आफ्नै महत्व छ । यौनिक दृष्टिले संवेदनशील अङ्गको परिकल्पना, स्पर्श, गन्ध एवं घर्षणले अधिक यौन आनन्द लिन सकिन्छ । यौनाङ्गको स्पर्श, घर्षण एवं यौन आनन्दका वैकल्पिक उपायले यौन सम्पर्कमा जत्तिकै यौन आनन्द लिन सम्भव हुन्छ । स्पर्शबिना चरम सन्तुष्टि अर्थात् ‘अर्गाज्म’ प्राप्त गर्न असम्भव प्रायः छ ।

यौन परिकल्पनासँगै हस्तमैथुन गर्ने वा गरिदिनेबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन अर्को विकल्प हुन सक्छ । त्यसो त चुम्बन (अधरपान) माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । ओठमा बाहेक गर्धन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औँलामा यौन आनन्द प्राप्त गर्न चुम्बन गर्न सकिन्छ । त्यसैगरी आलिङ्गनमा लिई शारीरिक अङ्ग सुमसुम्याउने कार्य स्नेह प्रदर्शन गर्ने तरिका पनि हो । कपाल, स्तन, स्तनका मुन्टा, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण यौन सुखदायक पनि हुन्छ । यसरी यौनाङ्गबीचको घर्षण (स्पर्श) बाहेक अँगालो मार्नु, सुमसुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औँला टोक्नु सबै यौन स्पर्शका माध्यम हुन् ।

यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रले यौन परिकल्पना वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्त गर्न सकिन्छ । सूचना प्रविधिको विकासलाई विकृतिका रूपमा मात्र नलिई सौम्य तरिकाले यौन चलचित्र वा यौनजन्य सामग्रीमार्फत पनि यौन आनन्द लिन सकिन्छ । 

सारांश

क्यान्सरका कारण कतिपयको यौन जीवनमा नकारात्मक असर पुग्न सक्छ । बेलैमा उपचार गरेको खण्डमा शारीरिक क्षमताका साथै यौन कार्यक्षमतामा पनि सुधार आउँछ तर क्यान्सर प्रभावित व्यक्तिको यौनेच्छा, यौन चाहना पनि सबलाङ्ग व्यक्तिको जस्तै हुन सक्छ । 

यही कुरा व्यक्तिका परिवार, आफन्तजन तथा तिनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीद्वारा तिनीहरूको यौन स्वास्थ्यबारे चासो राख्ने तथा आवश्यक छलफल गर्नुपर्ने बेला भइसकेको छ । त्यसैगरी क्यान्सर प्रभावित व्यक्तिको पनि प्रजनन स्वास्थ्य तथा यौन हक एवं अधिकारका विषयमा छलफल हुनु आवश्यक छ ।  

Author

प्राडा सुमनराज ताम्राकार