• १७ मङ्सिर २०८२, बुधबार

‘महाधिवेशनमा एमालेका कुनै ध्रुव हुँदैन, सहमतिमै नेतृत्व चयन हुन्छ’

blog

प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको संवाद कार्यक्रममा सहभागी पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका विष्णुप्रसाद पौडेल।

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको संवाद कार्यक्रममा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राख्नुभयो । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उहाँले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट गर्नुभयो ।

उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारका माध्यमबाट निर्वाचनमा जाने गरी राजनीतिक निकास खोज्नुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नभाग्ने भन्दै उहाँले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

संवाद कार्यक्रममा बोल्दै उहाँले अहिले देखिएको एमालेको  ध्रुव मङ्सिर २९ गतेसम्म नजाने बताउनुभयो। एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईंहरूलाई लाग्छ यो मङ्सिर २९ गतेसम्म रहला ? मङ्सिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उहाँले भन्नुभयो।