• २३ वैशाख २०८१, आइतबार

बर्गर खाएर विश्व कीर्तिमान

blog

अमेरिकामा एक पुरुषले ३४ हजार १२८ वटा बर्गर खाएर विश्व कीर्तिमान बनाएका छन् । ती पुरुषको नाम हो– डोनाल्ड गोस्र्के  । ७० वर्षीय गोस्र्केले हालसम्म खाएका बिग म्याकबर्गरको सङ्ख्या ३४ हजार १२८ पुगेको छ । सबैभन्दा बढी बर्गर खाने कीर्तिमान यसअघि पनि निरन्तर उनकै नाममा थियो र पछिल्लो पटक उनले आफ्नै कीर्तिमान भङ्ग गरेका हुन् ।

बर्गर खाने उनको यात्रा करिब ५२ वर्षअघि सुरु भएको थियो । गिनिज वल्र्ड रेकर्डस्का अनुसार उनको कीर्तिमान बर्गर खाने यात्राको सुरुवात सन् १९७२ को मे १७ मा भएको थियो । उनी भन्छन्, “मैले सायद जीवनभर बर्गर खाइरहने छु ।”

त्यस दिनपछि उनले आफूले खाएका प्रत्येक बर्गरको हिसाब राख्न थाले । उनले खाएका बर्गरका बक्स कारमा राख्दथे र पहिलो दिनबाटै गणना सुरु गर्दथे । अमेरिकाको बिस्कन्सिन बस्ने उनी अवकाश प्राप्त जेल अधिकारी हुन् । उनले दशकौँदेखि आफ्नो बर्गरको बाकस तथा रसिद सुरक्षित राखेका छन् ।

उनले बर्गर खाएर पहिलो विश्व कीर्तिमान सन् १९९९ मा बनाएका थिए । सुरु सुरुमा उनले दैनिक नौ वटासम्म बर्गर खान्थे । त्यसपछि उनले घटाएर दुई वटामा झारे । त्यसमध्ये एउटा दिउँसोको लन्चमा र अर्को रातको डिनरमा खान्थे ।

गिनिज वल्र्ड रेकर्डस्का अनुसार ताजा बर्गर खरिद गर्नका लागि डोनाल्ड दिनहुँ म्याकडोनाल्डस जान्थे तर जागिरबाट अवकाश भएपछि उनी हप्तामा दुई पटक मात्रै म्याकडोनाल्डसमा गएर एकैचोटि धेरै बर्गर किनेर ल्याउँछन् । त्यसरी ल्याएकामध्ये एउटा तुरुन्तै खान्छन् र बाँकी घरमा राख्छन् ।

यति धेरै बर्गर खाँदा उनलाई बर्गरका कारण हालसम्म कुनै पनि स्वास्थ्य समस्या भएको छैन । उनले दैनिक छ माइलसम्म हिँड्ने गरेका छन् ।