प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ५ गते । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराई अनुसार मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन् ।
शनिबार साँझ करिब ५ः३० बजे थाराबाट कालिमाटी–लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिप चालक ३८ वर्षीय कुलबहादुर राना रहेको र सवारीमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अमर सिंह कँवर, डम्मर घर्ती, जनक थापा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुग सिंह पुन, कर्णबहादुर पुनलगायत गम्भीर घाइते भएका छन् । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ ।
वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेका थिए । अस्थायी प्रहरी पोष्ट बाबियाचौर, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो ।
घाइतेहरूलाई जिल्ला अस्पताल सल्यान र मेहेलकुना अस्पताल, सुर्खेतमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।