ट्रोजन युद्धका बेला आक्रमणमा परेको कांस्यकालको पौराणिक शहरका नामले चिनिन्छ ट्रोय । जसको वर्णन प्राचीन ग्रीसका पौराणिक कथामा छ ।
ट्रोय शहर काल्पनिक नगरी थियो या वास्तविक शहर भन्नेमा पुरातत्वविद्हरूमा मतभिन्नता थियो तर पछिल्ला पुरातात्त्विक अध्ययनले ट्रोय काल्पनिक नगरी नभई वास्तविक शहर रहेको पुष्टि गरेको छ । पुरातात्त्विक अध्ययनले ट्रोयलाई वर्तमान टर्कीको उत्तर–पश्चिममा अवस्थित ऐतिहासिक नगरीका रूपमा प्रमाणित गरेको छ ।
पुरातात्त्विक उत्खननले होमरको इलियड शहर नै (ट्रोय) भएको तथ्य विश्वव्यापी रूपमा स्वीकारिएको छ । ट्रोय शहरलाई स्थान अनुसार फरक नामले बुझिन्थ्यो । ट्रोयलाई टर्कीमा हिसार्लिक, होमरमा इलियोस, ग्रीसमा इलिओन र रोमनमा इलियम भनिथ्यो । पछिल्लोपटक ट्रोयको पुराताìिवक स्थललाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।
मिथकदेखि यथार्थ
ग्रीसका प्रसिद्ध कवि होमरले आठौँ शताब्दीमा लेखेको आफ्नो महाकाव्यमा ‘ट्रोजन द इलियर एन्ड द ओडिसी’ मा ट्रोजन तथा उनको शहर ट्रोयलाई लोकप्रिय किसिमले प्रस्तुत गरेका छन् । कवि होमरको महाकाव्यमा १३ औँ शताब्दी इसापूर्वमा ट्रोजन युद्धको अन्तिम वर्षका बारेमा वर्णन छ ।
ग्रीस र ट्रोयबीचको १० वर्षे उक्त युद्धमा राजा पिय्रम र अगामेमोन तथा अन्य वीर योद्धा हेक्टर, अकिलिस आदिको बहादुरीको गाथा छ । १९ औँ शताब्दीसम्म पनि काल्पनिक लाग्ने ट्रोय शहरको कथा पछि वास्तविकतामा परिणत भयो । १९ औँ शताब्दीको अन्त्यतिर जर्मनीका पुराताìवविद् हेनरिक श्लिम्यानको खोज र अध्ययनले उक्त तथ्य बाहिर ल्याएको थियो । श्लिम्यान टर्कीमा रहँदा उनले खोजका व्रmममा विस्थापित प्राचीन मानव बस्तीको ढिस्को खोतले । हिसार्लिक भनेर चिनिने उक्त भग्नावशेष बारे सीमित विशेषज्ञहरू मात्र जानकार थिए । माटोले पुरिएर खण्डहरमा परिणत उक्त प्राचीन शहरको भग्नावशेष फेला पार्ने कल्पना गरेका श्लिम्यानले नभन्दै खन्दै जाँदा त्यहाँ प्राचीन नगरीको भग्नावशेष फेला प¥यो । पछि थाहा लाग्यो उक्त भग्नावशेष त प्राचीन ट्रोय शहरको रहेछ ।
श्लिम्यानको खोजअघि ट्रोय केवल प्रसिद्ध कवि होमरको महाकाव्यको काल्पनिक नगरी मात्र थियो । ग्रीस र ट्रोयबीच भएको युद्धको कथा उनले आफ्नो काव्यमा प्रस्तुत गरेका छन् । त्यो महाकाव्य राजा पिय्रम र अगामेमोन तथा वीर योद्धाहरू हेक्टर, अकिलिस जस्ता पात्रहरूको युद्धगाथाले भरिपूर्ण छ । त्यसैले पनि ट्रोय नगरीलाई १९ औँ शताब्दीसम्म पनि सबैले काल्पनिक नगरीकै रूपमा लिन्थे । ट्रोय शहर प्राचीन नगरी हो भन्नेमा कोही विश्वस्त थिएनन् तर श्लिम्यान भने ट्रोय साँच्चिकै शहरका रूपमा थियो या कविको महाकाव्यको कल्पना भन्ने खोजमा जुटे, ट्रोय शहरको वास्तविकता बाहिर ल्याउन तम्सिए ।
कवि होमरको महाकाव्यमा उल्लेख गरिए अनुसार ट्रोजन युद्धमा माइसेनाका राजा अगामेमोनको नेतृत्वमा ग्रीसको सैन्य गठबन्धनले ट्रोय शहरलाई १० वर्ष घेराबन्दी गरेको थियो । उक्त घेराबन्दीको उद्देश्य स्पार्टाका राजा र अगामेमोनका भाइ मेनेलसकी पत्नी हेलेनलाई पुनः प्राप्ति गर्नु थियो । हेलेनलाई ट्रोजन राजकुमार पेरिसले अपहरण गरेका थिए ।
ट्रोजन युद्ध अन्य स्रोतमा पनि उल्लेख गरिएको छ । महाकाव्यमा ट्रोजन युद्धको वर्णन छ । होमरले महाकाव्यमा ट्रोयलाई ‘राम्ररी स्थापित’, ‘बलियो–निर्मित’ र ‘राम्रो पर्खाल भएको’ शहर भनेर वर्णन गरेका छन् । होमरको महाकाव्यमा ट्रोयका वीर लडाकु र अग्ला पर्खालका सन्दर्भ समावेश छन् । जहाँ दशवर्षे घेराबन्दीमा ट्रोयको असफलतामा भौतिक कमजोरीभन्दा पनि ट्रोजन घोडाको चालबाजीलाई लिइएको छ ।
पुरातात्त्विक अध्ययन
प्रारम्भिक कांस्यकाल (तीन हजार इसापूर्व) देखि १२ औँ शताब्दीसम्मको पुरातात्त्विक स्थललाई अहिले ट्रोय भनिन्छ । स्कमान्डा नदीको मुखबाट बनेको खाडीमा अवस्थित ट्रोयले ग्रीस र पूर्वीय सभ्यताबीच रणनीतिक स्थान ओगटेको थियो ।
ट्रोय पहिलो पटक सन् १८६३ मा फ्रान्क क्याल्भर्टद्वारा उत्खनन गरियो । त्यसपछि जर्मन पुरातत्वविद् हेनरिक श्लिम्यानले त्यस क्षेत्रको भ्रमण गरे । श्लिम्यानले सन् १८७० देखि १८९० सम्म सो क्षेत्रको २० मिटर अग्लो कृत्रिम ढिस्को उत्खनन गरेका थिए । उत्खननका क्रममा त्यहाँ सुन र चाँदीका गहनाका साथै भाँडाहरू फेला परे । यसरी श्लिम्यानको प्रारम्भिक खोजले उक्त क्षेत्र वास्तवमा होमरको ट्रोय हो भनेर उनको कथालाई वास्तविकतामा प्रमाणित ग¥यो ।
उक्त क्षेत्रको उत्खनन कार्य लामो समय जारी रह्यो र अहिले पनि जारी छ । उत्खननका क्रममा हालसम्म त्यस क्षेत्रमा नौवटा फरक शहर रहेको खुलासा भएको छ । श्लिम्यानकोपछि उनको खोज कार्यलाई उनका उत्तराधिकारी डोर्पफेल्डले जारी राखे । डोर्पफेल्डले उत्खननका क्रममा भेटिएको ट्रोय शहरलाई १ देखि ९ नम्बरमा वर्गीकरण गरेका छन् । डोर्पफेल्डको वर्गीकरण अनुसारका ट्रोय शहरलाई यसरी राखिएको छ ।
ट्रोय १. इसापूर्व ३०००–२५५० शहर मानिएको छ । त्यतिबेलाको ट्रोयलाई ढुङ्गाको पर्खालले घेरिएको एउटा सानो बस्ती मानिएको छ ।
ट्रोय २. इसापूर्व २५५०–२३०० अवधिको यस शहरलाई ट्रोय– २ नाम दिइएको छ । त्यतिबेला ट्रोयमा ठूला भवनहरू, माटो–इँटा र ढुङ्गाका किल्ला तथा स्मारक गेट रहेको देखाइएको छ । ट्रोय–२ ताकाको सुन, चाँदीका गहनासमेत फेला पारिएको छ ।
ट्रोय ३ देखि ५ – यसको समयावधि २३००–१५५० इसापूर्व मानिएको छ । यतिबेलाको ट्रोय कम समृद्ध भएको मानिएको छ ।
ट्रोय ६. १७५० देखि १३०० इसापूर्व अवधिको ट्रोयलाई वर्तमान समयमा दृष्टिगोचर हुने भग्नावशेषको अवधि मानिएको छ । ट्रोय शहर होमरको ट्रोजन युद्धको घेराबन्दीमा यही समयमा परेको थियो । ट्रोय– ६ ताका शहरमा चुनढुङ्गाका ठूलाठूला ब्लक र आठ मिटरसम्म अग्ला धेरै टावर निर्माण तथा किल्लाका पर्खालहरू बनाइएको मानिएको छ । यस कालखण्डले ट्रोय शहरको समृद्धि चुलीमा रहेको देखाइएको छ । त्यतिबेला ट्रोय शहरलाई चट्टान काटिएको खाडलद्वारा सुरक्षित गरिएको थियो । उत्खननका क्रममा फेला परेका ट्रोय ६– कालीन माटाका भाँडाकुँडा ग्रीसमा पाइने भाँडासँग मिल्दोजुल्दो देखिएका छन् ।
ट्रोय ६ कै बेला यो शहर आंशिक रूपमा नष्ट भएको मानिएको छ । उत्खननका क्रममा ट्रोय– ६ कालीन तीर, भाला आदि फेला परेका छन् । १२५० इसापूर्वको ट्रोय शहरको विनाशलाई हेरोडोटसको ट्रोजन युद्धलाई नै मानिएको छ ।
ट्रोय ७ (क) १३००–११८० इसापूर्व र ट्रोय– ७ (ख) इसापूर्व ११८०–९५० अवधिमा ट्रोय शहरको आकार वृद्धि र किल्लाहरूको पुनर्निर्माण भएको देखिएको छ तर त्यतिबेलाको ट्रोय शहरको वास्तुकलामा गिरावट आएको विश्वास गरिएको छ । यतिबेलासम्म आइपुग्दा खासगरी ट्रोजन युद्धपछि ट्रोय शहरलाई विस्थापित भएको मानिन्छ । ट्रोय ८ र ट्रोय ९–९५० देखि ५५० इसापूर्व । यतिबेलाको ट्रोय शहरमा मानव बसोबास पूर्ववत् अवस्थामा फर्कन नसकेको मानिएको छ ।
ट्रोजन युद्ध
ट्रोयका बारेमा होमरको चित्रण राजनीति नभई नारीका कारण भएको मानिन्छ । जुन ट्रोजनका राजकुमार पेरिस, स्पार्टाका राजा मेनेलोसकी पत्नी हेलेन र ग्रीस सेनाका नायक अगामेमोनको भाइबीचको प्रेम सम्बन्धबाट सुरु हुन्छ । हेलेनलाई ट्रोजनका राजकुमार पेरिसले अपहरण गरेका थिए । स्पार्टाका राजा टिन्डेरियसकी छोरी हेलेन साह्रै सुन्दर थिइन् । त्यसै कारण उनलाई राजकुमार पेरिसले अपहरण गरेका थिए ।
त्यसपछि अचेन्स (ग्रीस) द्वारा ट्रोय शहरकाविरुद्धमा ट्रोजन युद्ध छेडिएको थियो । दशवर्षे युद्ध अचानक आक्रमणकारीलाई व्यर्थ देखिन पुग्यो । युद्ध मैदानबाट ग्रीसका सेनापति, राजा अगामेमोनले सैनिकहरूलाई पछि हट्ने आदेश दिए । त्यसपछि ग्रीकहरूले एउटा विशाल र खोक्रो काठको घोडा निर्माण गरे । त्यसभित्र बहादुर योद्धाहरूको सानो समूह लुकाइयो । ग्रीस सेनाले उक्त नक्कली काठको घोडा ट्रोय नजिकै समुद्र तटमा उपहारका रूपमा छोडे ।
ट्रोजनहरूलाई ग्रीकहरूबाट देवी एथेनालाई ट्रोयको मन्दिर अपवित्र पार्ने पापको प्रायश्चित गर्न र उनीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि घोडा उपहार दिइएको बताइयो । ट्रोजनका पुजारी लाओकुनले उपहार दिने ग्रीकहरूबाट डर लाग्छ भन्दै ट्रोजनहरूलाई सचेत गराए तर कुनै पनि ट्रोजनले उनको चेतावनी स्वीकारेनन् । त्यसपछि घोडालाई शहरको ढोकाभित्र लगियो । त्यो रात घोडामा लुकेका ग्रीसका सैनिक बाहिर निस्किए र ग्रीसका अन्य सैनिकलाई भित्र्याउन ट्रोयका ढोका खोलिदिए ।
यसरी घोडाभित्र लुकेर ट्रोय शहरमा घुसेका ग्रीसका सिपाहीका कारण ट्रोजनहरूले युद्ध हारे । सोही कारण अहिले पनि कुनै देशमा बाह्य शक्तिका रूपमा घुसपैठ गर्ने व्यक्तिलाई ‘ट्रोजन हर्स’ का रूपमा यङ्ग्य गर्ने गरिएको छ ।