• ६ जेठ २०८१, आइतबार

घोराहीमा ६४ हजार बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप

blog

घोराही उपमहानगरपालिकाले आयोजना गरेको दादुरा–रुवेला रोग विरुद्धको अभिमुखीकरण कार्यक्रम। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन ३ गते । दादुरा-रुवेला खोप अभियान अन्तर्गत घोराही उपमहानगरपालिकामा ६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने भएको छ । 

दादुरा–रुवेला खोप अभियान २०८०-०८१ अन्तर्गत बिहीबार घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर ९ महिनादेखि १५ वर्ष उमेर समूहका नगरभित्रका ६४ हजार ३ सय २८ जना बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो । 

खोपका लागि घोराही उपमहानगरपालिकाका १९ वटै वडाहरूका विभिन्न विद्यालयहरूमा एक सय ९७ वटा खोप केन्द्र निर्धारण गरिएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अनुसार गत वर्ष जिल्लामा ६३ हजार ५ सय ८९ जना बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाइएको थियो । 

घोराही उपमहानगरपालिका यही फागुनको १३ गतेदेखि अभियानका रूपमा दादुरा रुवेला रोग विरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सम्पूर्ण बालबालिकालाई अभियानमा सहभागी हुन शाखा प्रमुख घर्तीले आग्रह गर्नुभएको छ । शाखा प्रमुख घर्तीले दादुरा–रुवेला रोगबाट एकजना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण गर्न सक्ने भएकाले १ कक्षादेखि १० कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई खोप लगाउने तयारी रहेको भन्दै भन्नुभयो, "दादुरा–रुवेला रोगको जोखिम अहिले पनि छ । जोखिमबाट बच्नका लागि समयमै बालबालिकालाई खोप लगाउनुपर्छ ।" 

नेपालमा सन् २०२६ सम्म दादुरा–रुवेला रोग उन्मूलन गर्ने उद्देश्य अनुसार बर्सेनि दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउने गरेपनि सबै बालबालिकाहरू अभियानमा सहभागी नहुँदा समस्या भएको शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो । शाखा प्रमुख घर्तीका अनुसार गतवर्ष घोराहीमा ९६ प्रतिशत बालबालिकाले दादुरा–रुवेला रोग विरुद्धको खोप लगाएका थिए । खोप लगाउनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित स्वयंसेविकाको सहभागिता हुने भएको छ । 

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले अभियानका क्रममा दादुरा–रुवेला विरुद्धको खोपसँगै ५ वर्षभन्दा मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले अभियानमा सहभागी हुन सर्वलाई आग्रह गर्नुभएको छ । 

जिल्लामा पहिलो चरणमा खोप अभियान फागुनको १३ गतेदेखि घोराही उपमहानगरपालिकासहित बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकामा रहेका  बालबालिकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार दोस्रो चरणमा फागुनको २३ गतेदेखि दोस्रो चरणमा तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकामा बालबालिकालाई खोप लगाइने छ । 

जिल्लामा गत वर्ष पनि बालबालिकाहरूमा दादुराको सङ्क्रमण देखिएको र बाँकेमा दादुराका कारण एक जनाको मृत्यु समेत भएकाले जिल्लमा जोखिम कायम रहेको फोकल पर्सन आचार्यले बताउनुभएको छ ।