साहारा लिम्बू
फुङलिङ, मङ्सिर २८ गते । ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो ।
वि.सं. २०३१ सालदेखि लाग्दै आएको पुसे मेलामा खेल, कृषि प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सञ्चलन हुने शनिबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, र्याफ्टिङ, कृषि प्रदर्शनी मेला र सांस्कृतिक कार्यक्रमको आयोजना हुने पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङ्बाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रियसहित सात टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद तीन लाख रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष चोङ्बाङको भनाई छ । यस्तै दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सेमिफाइनलमा पुग्न सफल दुई टिमलाई ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूका लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै, ब्याडमिन्टन प्रतियोगिता कोशी प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्चालन हुने छ । जसमा कोशी प्रदेश स्तरीयका प्रथम, द्वितीय, तृतीय र चौथोलाई क्रमश नगद ५२ हजार, ३० हजार ७० हजार र ७० हजार रुपियाँको व्यवस्था गरिएको छ । जिल्ला स्तरीयका प्रथम र द्वितीयलाई क्रमशः नगद २५ हजार र १२ हजार रुपियाँको व्यवस्था गरिएको छ ।
जिल्लाको पर्यटन क्षेत्रमा विकास र र्याफ्टिङको सम्भावनालाई उजागरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको मेलामा कृषकहरूले उत्पादन गरेको अन्न बाली, फलफूल, तरकारीको समेत प्रदर्शन गरिएको अध्यक्ष चोङ्बाङले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने छ ।
मेला सम्पन्न गर्नका लागि ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको प्रयोजकमा मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिकासहित केही प्रतिष्ठित निजी कम्पनीहरू रहेका छन् ।