• ९ पुस २०८१, मङ्गलबार

उपत्यकाको सुरक्षामा प्रश्न

blog

काठमाडौँ, माघ १२ गते । काठमाडौँ उपत्यकाको प्रमुख जलाधार क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम निर्माण हुँदा उच्च जोखिम सिर्जना हुने देखिएको छ । भूमिगत जल सञ्चयलाई बढावा दिने गरी पोखरी वा ड्याम बनाए पनि ठुलो आकारको बाँधयुक्त पोखरीले फाइदाभन्दा जोखिम बढाउने देखिएको हो । 

तल्लोतटीय क्षेत्रमा सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकामा भन्दा माथि शिवपुरीमा यसअघि धाप बाँध बनाइसकिएको छ । काठमाडौँ उपत्यका उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । 

शिवपुरी र ककनीडाँडा भूकम्पीय शक्ति चलखेल भइरहने पहाड भएकाले त्यस्ता क्षेत्रमा निर्माण हुने पोखरीलगायतका भौतिक संरचनाले भविष्यमा अर्को विपत् निम्तिन सक्ने वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार ठुलो भूकम्प जाँदा डाँडामाथि बढी प्रभाव पर्छ । 

शिवपुरीको केही भाग ग्रेनाइट चट्टानयुक्त भए पनि उपत्यकाको सुरक्षाका हिसाबले परियोजना सञ्चालनअघि छुट्टै भूकम्पीय (सेस्मिक) अध्ययन हुनै पर्छ । उहाँले भन्नुभयो, “ठ्याक्कै पोखरीमुनि इपिसेन्टर पर्‍यो भने पानी छल्किने मात्र होइन पोखरी नै उल्टिन्छ ।” नेपालको भूगोलमा थुप्रै अन्तर्राष्ट्रिय मापदण्ड फेल खाने भएकाले त्यो पनि काम लाग्दैन । किनभने २०७२ सालको गोरखा भूकम्पले काठमाडौँ जमिन करिब दुई मिटर पश्चिम सारेको छ । त्यो त्यही आसपास भएकाले फेरि भूकम्प आउँदा हलचल हुन्छ । जमिन पश्चिम सर्दा त्यो एरियामा करिब दुई मिटर जमिनमाथि उठेकाले पनि सतर्क रहनु पर्छ । 

नागमती बाँधको संरचनागत जोखिममा थपिने भूकम्प, अति वर्षा र कमजोर संरचनामा हुने पानीको चुहावटले क्षति बढाउन सक्ने विज्ञहरूले औँल्याउनुभयो । आयोजनाले आफ्नो वातावरणीय प्रभाव मूल्याङ्कनकै प्रतिवेदनमा सो कुरा स्वीकार गरेको छ । जस अनुसार बाँधका कारण त्यहाँको भूउपयोग प्रभावित हुने छ । निर्माण गतिविधि उत्खनन, ढाल कटान, आदिले त्यहाँको प्राकृतिक भूबनोट परिवर्तन हुने छ । हाल कायम रहेको पानीढलोको अवस्थामा परिवर्तन ल्याउने, भूक्षय बढाउने, नदीको पानीमा धमिलोपना बढाउने छ । उत्खनन, ढुवानी, प्रविधिको उच्च प्रयोगले धुलो, धुवाँ, ध्वनि प्रदूषण बढ्ने छ । बाँध भविष्यमा फुट्न गएमा बाढीले तल्लोतटीय क्षेत्रमा क्षति हुनेसँगै फोहोर प्रदूषण बढाउने छ । 

त्यस्तै बाँधले त्यो क्षेत्रको जैविक विविधताको विनाश उच्च बनाउने भएको छ । प्राकृतिक पानी वर्षामा तल नजाँदा नजिकका कृषियोग्य जमिनको खेती प्रत्यक्ष प्रभावित हुने र जसले मानवीय जीवनमा पनि प्रभाव पार्ने प्रतिवेदनले स्वीकार गरेको छ । यति मात्र नभई बाँध काठमाडौँ उपत्यकाको टाउकोमा धरापका रूपमा रहँदा दीर्घकालीन जोखिमको स्रोत बन्ने भएको छ । यस्तो जोखिम रहेको बाँध एसियाली विकास बैङ्कको २५ अर्ब रुपियाँको ऋणमा बनाउन लागिएकोमा पनि विज्ञहरूको आपत्ति छ । नेपाली जनताको टाउकोमा ऋण र जोखिम पर्ने गरी नागमती बाँध बनाउनुको औचित्य नरहेको वरिष्ठ इन्जिनियर रविप्रसाद राजभण्डारीले बताउनुभयो । प्रतिसेकेन्ड दुई ड्रम पानी बागमतीमा खन्याउन त्यत्रो विनाश गरेर र भविष्यलाई समेत जोखिममा राखेर ऋणमा पोखरी बनाउन नहुने तर्क उहाँले गर्नुभयो । 

उहाँले भन्नुभयो, “त्यो बाँध काठमाडौँमाथि झुन्ड्याइएको तरबारको पासो हो, कहिले चुँडिएला र मान्छे मर्लान् भन्ने जोखिम दिइरहन्छ ।” त्यसरी फालिएको पानी पशुपति क्षेत्र नआइपुग्दै १८ किलोमिटर उतैको भूभागमा सोसिएर र बाफ बनेर सकिने राजभण्डारीले दाबी गर्नुभयो । उहाँका अनुसार पहिले बनेको धाप ड्यामबाट पठाएको पानी पशुपतिसम्म पुग्न नसकेको पाइएको दाबी उहाँले गर्नुभयो । 

हालै मात्र लिबियामा त्यस्तै मानव निर्मित पोखरीको बाँध भत्कँदा १० हजार मानिसको ज्यान गएको र सिक्किमको टिस्टामा पनि ड्याम भत्किएर मानवीय क्षतिका आधारमा हामीले निर्णय परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमै पनि अति वर्षाका कारण हिमपोखरी फुटेर कागबेनीमा गत वर्ष ठुलो भौतिक क्षति भएको र मेलम्चीमा गएको आकस्मिक बाढीले दुई वर्षअघि ठुलो जनधनको क्षति पनि हाम्रासामु रहेको विज्ञको भनाइ छ । 

उहाँले ‘नो ड्याम विकल्प’ मा पनि नदी सुधार गर्ने प्रशस्त सम्भावना रहेको भन्दै छिमेकी मुलुकको मरुभूमि राजस्थानको जस्तो पोखरीमा वर्षाको पानी सङ्कलन गरेर अर्भारी नदीलाई भरिलो बनाएजस्तै बागमतीको जलस्तर सुधार गर्न सकिने विज्ञहरूको सुझाव छ । विज्ञका अनुसार ढुङ्गा जोडेर बनाइने बाँधले ठुला जोखिम थेग्न सक्दैन । यस आधारमा जति पनि सेवामूलक आश्वासन दिइएका छन् ती सबै औचित्यहीन रहेको इन्जिनियर राजभण्डारीले बताउनुभयो । 

प्राडा हरि पण्डितले पनि बागमती नदीको पानीको सुधार गर्न त्यत्रो जोखिमयुक्त बाँधको जरुरी नरहेको बरु ‘नो ड्याम विकल्प’ का रूपमा आगामी पाँच वर्षभित्र मेलम्ची, लार्के र याङ्ग्री नदीबाट ल्याएको पानीमध्ये खानेपानी छुट्याएर बाँकी रहेको पानीलाई बागमतीमा छाड्न सकिने सुझाव दिनुभयो । त्यो पानीको मात्र नागमती बाँधबाट आउनेभन्दा बढी घनत्वको हुने दाबी गर्नुभयो । जलविद्युत् विकास र बाढी व्यवस्थापनविज्ञ प्राडा गोविन्द पोखरेल आकाशको पानी जम्मा गर्न शिवपुरी जानै नपर्ने तर्क गर्नुहुन्छ । पूरै उपत्यकामा गरेर वार्षिक दुई हजार दुई सय मिलिलिटर वर्षा हुन्छ । वैकल्पिक उपाय नसोची सु्न्दरीजलमा पासो थापेर पानी बगाउने सोच कच्चा रहेको उहाँ टिप्पणी गर्नुहुन्छ । 

सुरक्षित हुने दाबी 

आयोजनाका तर्फबाट भूगर्भविद् जया सिंहले भने नयाँ प्रविधिबाट क्षतिको पूर्वानुमानसहितका प्रविधिबाट सुरक्षित बनाइने भएको दाबी गर्नुभयो । सिंहले भन्नुभयो, “पूरै विपत् ल्याउने गरी भत्किँदैन भन्ने हिसाबले सुरक्षित बनाइने गरी डिजाइन गरिएको छ ।” 

उहाँका अनुसार खानीकै विभिन्न साइजका ढुङ्गाबाट बाँध बनाइन्छ, चुहावट व्यवस्थापन र मापन गर्ने, भूकम्प आउँदा मापन गर्ने यन्त्र तथा मौसम स्टेसनको स्थापना गरिने छ । सेटलमेन्ट प्वाइन्टमा जडान गरिएका प्रविधिले ढुङ्गाका जोर्नी कसरी चल्छ भनेर घरमै बसेर हेर्न सक्ने देखाउँछ । भूकम्पीय जोखिमको पनि बारम्बार परीक्षण गर्दा करिब नौ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने अनुमान गरिएको छ । कत्तिको पानी बगिरहेको र बढी भयो भने बाँधमै साइरन बज्छ । ड्याममा भएको पानी तीन/चार दिनमै खाली गर्न सकिने पनि उहाँले बताउनुभयो । भूगोलका हिसाबले पनि त्यो क्षेत्र चट्टानी भूभाग भएकाले भूकम्पले असर नगर्ने दाबी उहाँले गर्नुभयो । फाइदा बढाउने र बेफाइदा घटाउने विषयमा आयोजनाले थप गृहकार्य गरिरहेको सिंहले जानकारी दिनुभयो ।