• ५ मंसिर २०८२, शुक्रबार

बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस

blog

सन्तोषी रावल
(बाजुरा) मङ्सिर ५ गते ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप १२ वटा नयाँ मतदान केन्द्र सिफारिस गरेको छ । जिल्लाका चार स्थानीय तहमा आवश्यकताअनुसार नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस पठाइएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा २ वटा, वडा नं. ३ मा २ वटा, हिमाली गाउँपालिका–१ बिच्छ्यामा १, वडा नं. ५ मा १ र वडा नं. ६ मा थप २ मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै त्रिवेणी नगरपालिका–८ मा २ र बुढीनन्दा नगरपालिका–३ मा २ मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

यससँगै बुढीगङ्गा नगरपालिका–२, ३, ५ र ९ का मतदान केन्द्रलाई सम्बन्धित वडाको कार्यालयमा स्थानान्तरणका लागि पनि आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

हाल बाजुराका पाँच नगरपालिका र चार गाउँपालिकामा ७० मतदान स्थल र ११२ मतदान केन्द्र छन् । जिल्लाभर ८६ हजारभन्दा बढी मतदाता छन् ।

करिब २२ दिनको अवधि­­मा ८८ महिला र १३३ पुरुष गरी २ सय २१ नयाँ मतदाता थपिएको कार्यालयका निमित्त प्रमुख महतले जानकारी दिनुभयो । कात्तिक २ गते मात्र १० नयाँ मतदाता दर्ता भएका छन् । उहाँले मतदाता नामावली दर्ता गर्न अझै करिब २८ दिन बाँकी रहेको उल्लेख गर्दै समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरे ।

निर्वाचन आयोगले जेनजी लक्षित कार्यक्रमअन्तर्गत असोज १० गतेदेखि सुरू भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य कात्तिक मसान्तसम्म रहने बताएको थियो । तर उत्साह जनक सहभागिता देखिएका कारण आयोगले म्याद थप गर्दै मङ्सिर ५ गतेसम्मका लागि विस्तार गरेको जनाएको छ ।