बोमलाल गिरी
नवलपुर, मङ्सिर ५ गते । सब डिभिजन वन कार्यालय दुम्कीबासले नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ स्थित दाउन्ने बजार र दुम्किबास बजार आसपासमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । कार्यालयले सूचना जारी गरी १५ दिनभित्र वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएका संरचना, व्यापारिक क्रियाकलाप तथा घर–टहरा हटाउन निर्देशन दिएको हो ।
सूचनामा नारायणघाट–बुटवल सडक खण्डको छेउछाउ निर्माण गरिएका संरचना, व्यापार गर्ने प्रयोजनका घर–टहरा तथा पसल, होटल आदि वन क्षेत्रभित्र परेको उल्लेख गरिएको छ । “१५ दिनभित्र स्वेच्छिक रूपमा घर–टहरा तथा व्यापारिक संरचना नहटाइएमा वन ऐन २०७६ बमोजिम आवश्यक बल प्रयोग गरी हटाइनेछ,” सूचनामा भनिएको छ । अतिक्रमण गर्ने व्यक्ति, घरधनी तथा व्यवसायीलाई कानुनी कारबाही हुने चेतावनी समेत सूचनामा उल्लेख छ ।
डिभिजन वन कार्यालयले सूचना टाँस गर्नका लागि विनयी त्रिवेणी गाउँपालिका २ को वडा कार्यालय तथा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पत्र पठाएको छ । वन अधिकृत मनोज बरालले पत्रमार्फत सम्बन्धित कार्यालयहरूलाई सूचना टाँस गरी आवश्यक जानकारी गराउन अनुरोध गर्नु भएको हो ।
वन कार्यालयका अनुसार दाउन्ने, दुम्कीवास बजार आसपास पछिल्ला वर्षहरूमा विभिन्न कारण देखाउँदै वनक्षेत्र अतिक्रमण गरी घर–टहरा, पसल तथा होटल वृद्धि हुँदै आएको थियो । निरीक्षण तथा नक्साङ्कनका आधारमा त्यहाँ रहेको संरचना वनक्षेत्र भित्र परेको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको बरालले बताउनुभयो ।