विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ५ गते । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बिहीबार राति प्रहरीले ९७८ किलो गाँजासहित सुनसरीको धरान नगरपालिका वडा १३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार राति १०ः३० बजेको समयमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोराभित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९७८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।