शंकर केसी,
शारदा (सल्यान), मङ्सिर ५ गते । द्रुत गतिमा फैलने मिचाहा वनस्पति व्यवस्थापन अभियान सल्यानमा फेरि सुरु भएको छ । केही हप्ता रोकिएको यो जिल्लास्तरीय अभियान शुक्रबार बिहान सदरमुकाम खलङ्गास्थित टुडिखेल क्षेत्रमा सरसफाइ र बनमारा व्यवस्थापन गरेर सुरु भएको हो ।
शारदा नगरपालिका वडा नं–२ को अगुवाइ, डिभिजन वन कार्यालय सल्यान र वनस्पति अनुसन्धान केन्द्र सल्यानको प्राविधिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा फेरि अभियानलाई निरन्तरता दिइएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले बताउनुभयो । उहाँका अनुसार शुक्रबार बिहान वडा कार्यालय परिसर र विशेषगरी टुडिखेल वरपर सरसफाई तथा वनमारा झार व्यवस्थापन गरिएको छ ।
मिचाहा वनस्पति वनमाराले सल्यानका धेरैजसो क्षेत्रमा पछिल्ला वर्षहरूमा ठुलो समस्या निम्त्याएको छ । यस्ता वनस्पतिले जैविक विविधता खलबल्याउने, कृषि उत्पादनमा कमी ल्याउने र जमिन बाँझो बनाउने भएकाले यसको नियन्त्रणमा स्थानीय स्तरबाटै निरन्तर प्रयास आवश्यक पर्ने वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपालमा रिपोर्ट गरिएका २९ प्रजातिका मिचाहा वनस्पतिहरूमध्ये सल्यानमा काँडे बनमारा, जङ्गली सूर्यमुखी, कालो बनमारा र कनिके झार (पार्थेनियम) सबैभन्दा धेरै हानिकारक मानिएका छन् । छिटो बढ्ने, बढी फैलने यी वनस्पतिहरुले खेतबारी, वनजङ्गल, चरनभूमि, सडकछेउ र बस्ती आसपासमा समस्या निम्त्याइरहेको देख्न सकिन्छ ।
समस्या गम्भीर बन्दै गएपछि र यसलाई नियन्त्रण नगरेमा मौलिक जैविक विविधता नष्ट हुने, कृषि उत्पादन घट्ने एवम् जनजीवन प्रभावित हुने स्थिति देखापरेपछि सल्यानमा सामूहिक अभियान थालिएको हो । गत साउन २२ गतेदेखि सदरमुकाम खलङ्गाबाट सुरु भएको वनमारा नियन्त्रण गरि उपयुक्त बिरुवा रोप्ने अभियान जिल्लाका अन्य स्थानमा पनि चलाइएको थियो भने विविध कारणले बिचमा रोकिएको अभियान फेरि खलङ्गाबाट नै सुरु गरिएको हो ।
आक्रामक प्रजातिका यी वनस्पतिलाई समयमै नियन्त्रण नगर्नेहो भने अवस्था विकराल हुन सक्ने विज्ञहरुले बताउनेगरेका छन् । मिचाहा वनस्पतिलाई उखेलेर फाल्ने वा नफुल्दै–नफल्दै काटेर सुकाएर जलाउनुपर्ने उनिहरुको सुझाव छ । यस अघिको अभियानअन्तर्गत मिचाहा वनस्पति हटाइएको स्थानमा तेजपात, मलागिरी तथा फलफुलका बिरुवा रोपिएको थियो ।
पशुवस्तुका लागि चाहिने घाँस तथा औषधिजन्य वनस्पति लोप हुने खतरा रहेको छ भने बनमाराका कारण कृषि उत्पादनमा गिरावट आइरहेको किसानहरु बताउँछन् । केही मिचाहा प्रजातिले छालामा एलर्जी, दम, श्वासप्रश्वासको समस्या निम्त्याउने भएकाले स्वास्थ्यका लागि समेत हानिकारक रहेको तथा यस्ता आक्रामक वनस्पतिले जमिनको उर्वराशक्ति घटाउने, वनक्षेत्रको प्राकृतिक संरचना बिगार्ने काम गरिरहेको विज्ञहरुको भनाइ छ ।
शुक्रबारको अभियानमा जिल्ला प्रशासन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, वडा कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ, योग अभ्यासको समूह, नगरप्रहरी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।