• ५ मंसिर २०८२, शुक्रबार

निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्नुपर्छ : जसपा सचिव साह

blog

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, मङ्सिर ५ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हालै भएको युवा पुस्ताको विद्रोह र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाउनु भएको छ । युवा विद्रोहको उपलब्धी सरकार परिवर्तन र २०८४ मा हुनुपर्ने निर्वाचनलाई २०८२ मा सारिएको बाहेक अन्य कुनै दीर्घकालीन राजनीतिक रूपान्तरण नदेखिएको उहाँले बताउनुभयो ।

शुक्रबार एक धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री साहले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, शासकीय स्वरूप पुनःसमीक्षा, समानुपातिक समावेशन र पहिचानजस्ता मूल राजनीतिक एजेन्डाहरू पछिल्ला घटनाक्रममा क्रमशः ओझेलमा परेको उल्लेख गर्नुभयो । “क्रान्तिकारी सिद्धान्त, सङ्गठन र दूरदर्शी नेतृत्वबिनाको आन्दोलनले दिगो परिवर्तन दिन सक्दैन,” उहाँले भन्नुभयो, “त्यही तथ्य फेरि पुष्टि भएको छ ।”

उहाँले वर्तमान सरकारकै कर्तव्य अब सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, मौलिक हक, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका आधारलाई मजबुत रूपमा बचाउनु हो, बताउनुभयो । साहले युवा पुस्ताको आकाङ्क्षा र भावनालाई ध्यानमा राख्दै देशमा फैलिएको अराजकता, बेरोजगारी, भ्रष्टाचार, गरिबी र कुशासनका सबै रूप अन्त्य गर्नु सरकारको अनिवार्य जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले आगामी २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय चुनाव सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले शान्ति–सुरक्षाको प्रत्याभूति, भयमुक्त वातावरण, स्वतन्त्र मतदान अधिकार, निष्पक्ष निर्वाचन आयोग, स्वतन्त्र प्रेस, पारदर्शी प्रक्रिया र राजनीतिक दलबीच समान प्रतियोगिताको आवश्यकता औँल्याउनुभयो ।

“लोकतन्त्रप्रति जनविश्वास जोगाउन सरकार र सबै राजनीतिक दलबीच निरन्तर संवाद, समन्वय र विश्वासको वातावरण निर्माण अत्यावश्यक छ,” पूर्वअर्थमन्त्री साहले बताउनुभयो ।